मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसले बीपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल

कांग्रेसले बीपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल


दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बीपीको मर्म बुझ्न नसकेको बताएका छन् । 
 
राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बीपीको मर्मलाई आत्मसात् गर्न नसकेको बताए ।
 
“बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बीपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,” वरिष्ठ नेता पौडेलले भने, “बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।” 
 
उनले बीपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।
 
बीपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए । 
 
सो अवसरमा उनले बीपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बीपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अंकित बोर्डको अनावरण गरेका थिए । 
 
तनहुँ आएर पहिलोपटक राखेको उद्गारलाई चिरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले जानकारी दिए । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।