मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाको शपथ कार्यक्रममा तोडफोड

नेकपाको शपथ कार्यक्रममा तोडफोड


महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो । 
 
अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ । 
 
असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको हो ।
 
प्रहरीले अध्यक्ष साहलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । प्रदेशका सचिव सुमनराज प्याकुरेल भने सभा भवनभित्रै बसेका थिए । बाहिर भइरहेको चर्को नाराबाजीलाई सचिव प्याकुरेलले अराजक भीडको संज्ञा दिए । 
 
पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताउँदै आएका छन् । 
 
मापदण्ड निर्धारण गरेरमात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आफूखुशी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी भटौलियाका विजय कर्णले बताए । 
 
असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् । मापदण्ड तय नगरी बनाइएको जिल्ला कमिटीको शपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।
 
यता प्रदेश सचिव प्याकुरेलले एकीकरणको क्रममा जिल्ला कमिटी समायोजन गरिँदा केही तलमाथि परेको भए त्यसलाई सच्याउन पार्टी तयार रहेको स्पष्ट पारे । तर, सभा भवनमा कुर्सी तोडेर वा जिम्मेवार नेतालाई गालीगलौज गरेर निकास आउँछ भन्ने ठान्नु गलत हुने उनको भनाइ छ ।
 
अब पार्टीको उपल्लो निकायको निर्देशनमा के गर्ने निर्णय गरिने सचिव प्याकुरेलले बताए । “दुवै अध्यक्ष र महासचिवसँग परामर्श गरेपछि जे निर्देशन हुन्छ, त्यहीँ हुन्छ”, उनले भने ।