राजनीति / समाज

संक्रमणकालका अवशेष अन्त्य गर्न सेना बाधक हुँदैन : प्रधानसेनापति थापा

73 पटक पढिएको

10th Sep 2019, Tuesday | २०७६ भाद्र २४, मंगलवार ०५:१५
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यकारण आगामी केही समय अनिश्चिताको अवस्थाले नै निरन्तरता पाउन सक्ने संकेत गरेको बताएका छन् । 
 
प्रधानसेनापतिमा पदबहालीको एक वर्ष पुुगेको अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा आयोजित कार्यक्रममा एक वर्षको सफलता र आगामी यात्राका विषयमा सकलदर्जालाई जानकारी गराउँदै भने, “तथापि, आन्तरिक राजनीतिक परिवेश, विकासका आवश्यकता र सम्भावनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रोे आगामी भविष्य हुनेमा विश्वस्त हुन सक्ने थुप्रै आधार रहेका छन् ।”
 
समृद्ध नेपाल र सुुखी नेपालीको परिकल्पना विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्थाविना सम्भव देखिन्न भन्दै प्रधानसेनापति थापाले बाह्य स्वार्थको प्रभावबाट हरेक तह र तप्का सतर्क र सुरक्षित रहँदै आफ्ना राष्ट्रिय हित तथा स्वार्थको संवद्र्धन गर्नु नै आगामी राष्ट्रिय चुनौती भएको बताए । 
 
प्रधानसेनापति थापाले भने, “यद्यपि, सङक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांका र अन्योलले सुरक्षा चुनौती थपिन सक्ने यथार्थलाई भने नकार्न सकिन्न । संक्रमणकालका केही अवशेष बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुँदैन, संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा सरकारको आदेशमा परिचालित राष्ट्रिय सेनाको हौसलामा ठेस पनि लाग्नु हुँदैन ।”
 
समस्याको प्रकृतिअनुसार आन्तरिक सुरक्षा चुनौतीका विषयलाई सम्बोधन गर्ने गरी सरकारले लिएको नीति सफल हुँदै जाने आधार स्थापित हुँदै गएको अनुभूत गर्न सकिन्छ भन्दै उनले भने, “समयमै समस्याको पहिचान र त्यसको यथोचित समाधान हाम्रो राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको मियो बन्न सक्यो भने आमनागरिकले अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गर्न सक्ने प्रशस्तै आधार छन् ।”
 
सेनाजस्तो संगठनको राष्ट्रिय दायित्वको दायरा सीमित हुनै नसक्ने बताउँदैै प्रधानसेनापति थापाले भन्, “सेना राज्यशक्तिको महत्वपूर्ण अङ्ग हो भन्ने जानेर वा नजानेरै पनि यसलाई कमजोर संस्था बनाउने वा देखाउने प्रयास हुनसक्छ, यसमा सच्चा नेपाली नागरिक सचेत छन् र हुनु पनि पर्दछ, संवैधानिक दायित्वका अतिरिक्त सरकारका पनि परिभाषित लक्ष्य हासिल गर्ने कार्यमा सेनाले सधैँ उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।”
 
उनले बजेटको पूर्ण सदुपयोग गर्ने व्यवस्था गर्न निर्देशन दिँदै त्यसको ठीक ढङ्गबाट कार्यान्वयन नभएमा आगामी दिनमा अझ कठोर नीति अवलम्बन गर्ने र सम्बन्धितको वृत्तिविकाससँग जोडेर हेरिने स्पष्ट गरे । 
 
उक्त कार्यक्रमअघि भएको प्रधानसेनापति चौथो त्रैमासिक रोलकलमा जङ्गीअड्डा मातहतका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखले सकल दर्जाले सङ्गठन सुुदृढीकरण, सेवासुविधा, पूर्वाधार, नीतिनियम, खर्चको पारदर्शिता, अनुशासन, रासन, तालीम, कल्याणकारी कोष र सेवा अवधिलगायतका विषयमा राखेको प्रश्नको जवाफ दिएका थिए ।