मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज

नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज


महिलाहरूको महान् चाड हरितालिका तिजलाई विशेष चाडको रुपमा मानिन्छ ।तिजलाई विशेष गरि मिठो मसिनो खान-पान गर्ने र मनोरन्जन गर्ने पर्वको रुपमा पनि लिईन्छ मनोरञ्जन मानव जीवनमा आवश्यकता हो । स्वस्थ जीवनका लागि मनोरञ्जन चाहिन्छ । तिजले महिलाको यही अधिकारलाई प्रतिबिम्ब गरेको छ ।
 
तिज शुरु हुन एक महिना अघि देखी नै महिलाहरूमा एक प्रकारको छुट्टै आनन्द र हर्षोल्लास देख्न सकिन्छ । तिजको वेलामा आफन्तलाई बोलाई घरमा अनेक थरीका मिठा–मिठा खाने कुराहरू खुवाउने र माया साटासाट गर्ने चलन छ । हरेक दुःख र पीडा बिर्सँदै दिदीबहिनीहरूले मिठा खाने कुरा खाने, नाच्ने र गाउने गर्छन् ।
 
तर, पछिल्लो समय तिजको मौलिकता हराउँदै गएको छ । तिजको मौकामा साथी र आफन्तसँग बसेर दर खाने नाममा महिला दिदीबहिनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देख्न सकिन्छ । खाली गरगहनाको प्रदर्शन र कुनै काम नगरी नाचगानको शुरुवात हुन थाल्यो भन्ने पुरुष दाजुभाइहरूको कटाक्ष पनि सुन्ने गरिन्छ ।
 
अहिले पनि तिजको बारेमा सामाजिक सञ्जालहरूमा कतिले तिजका लागि गरिएका भड्किला तयारीहरू फेसबुकका वालभरि देखिन्छन् । साथीसंगीको अनुरोधमा सानो कुरामा पनि पार्टी खाने र खुवाउने प्रचलन बढेको पाइन्छ । 
 
विशेषगरी स्वदेशमा भन्दा प्रवासमा तिजको महिना सुरु हुने दिनदेखि दिनहु दर खाने र नाचगान गर्ने परिपाटीको विकास हाम्रो संस्कृतिमा भित्रिँदै गएको छ ।
 
दिनदिनै फरक पहिरनमा गरगहना प्रदर्शन गर्ने , एकपटक लगाएको सारी अर्कोपटक नलगाउने जस्ता गतिविधिले तिजलाई भड्किलो बनाईरहेको पनि देखिन्छ ।
 
विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहिताहरूले योग्य पतिको माग गर्दै तिजको दिन निराहार व्रत बस्ने उद्देश्यले अघिल्लो दिन मिठामिठा खानेकुरा खाने गर्दछन् । घरघरमा खासगरी दुग्धजन्य परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासुबाहेक चोखो चिज खाएर भोलिपल्ट निराहार व्रत बस्ने गर्दछन् ।
 
त्यस्तै, आधुनिकतासँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ। माइतीघर वा आफन्त कहाँ तथा आफ्नै घरमा खिर, हलुवा, अचार, घिउ, दही, दूध, मिठाई, फलफूललगायतका मिठा परिकारलाई दरको रूपमा खाने गर्दछन् ।
  
विभिन्न काम व्यवसाय विशेषले बाहिरिएका नेपालीहरूले विदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गर्छन् । यो क्रम विगतका वर्षमा भन्दा बाक्लिदै पनि गएको छ । महिनौँ अघिदेखि दर खुवाउने बहानामा देखावटी बढेको छ भने विभिन्न पाटी प्यालेसमा हुने नाचगान र दर खुवाउने बहानामा तिज खर्चालुसमेत बन्ने गरेको छ ।
 
तर, अब हामीले यस्तो विकृतिलाई न्युनिकरण गराएर  सुन्दर प्रदर्शन भन्दा पनि आम महिलाहरुमा आत्मविश्वास बढाउदै सक्षम बन्नसक्ने तथा क्षमता प्रदर्शन गर्ने पर्वका रूपमा मनाउन प्रयास गरियो भने सकारात्मक ढंगले संस्कृतिको विकास र हाम्रा संस्कारहरू पछिल्लो पुस्तासम्मलाई जोगाई राख्न सकिनेछ । 
 
हामीले नै सकेनौँ भने फेरि विकृति पनि हामीले नै भित्र्याएको ठहरिन्छ त्यसैले यति धेरै महत्व बोकेको तिजलाई भड्किलोभन्दा सन्देशमूलक तिज मनाऔँ । 
 
नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज -२०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुको सुस्वास्थ्य, दिर्घायु एंव सकारात्मक सोचको विकास र  समृद्धिका लागि बाहक बन्न सकौं-हामी सबैलाई तिजको शुभकामना !!