मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बुबाले छोड्नु भएको अविस्मरणीय शब्द गुञ्जिरहेको छ

बुबाले छोड्नु भएको अविस्मरणीय शब्द गुञ्जिरहेको छ


नेपाली संस्कारमा हरेक यस्ता दिनहरुले बिशेष महत्व बोकेको हुन्छ । कुशे औंसी (बाबुको मुख हेर्ने)दिन विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी , पीपल र शालिग्राम लाई  भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरुबाट परम्परा अनुसार आ-आफ्ना बाबुलाई  मनपर्ने मिठाई तथा भोजन  खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । 
 
बाबु हुनेले प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्ने, दु:ख सु:ख साट्ने, माया एंव सदभाव बाड्ने र बाबुको याद गर्ने दिन जसलाई कुशे औंसी भनिन्छ ।
 
यस सन्दर्भमा १ हप्तादेखी बाबाको सम्झनामा आँखामा झ-झल्को आईरहने र मनमा उकुसमुकुस भैरहने र मनमा छटपटी भईरहेको महसूस गरिरहेकी छु । अनि मेरो कानमा भने बुबाले संसार छोड्नुको दुई दिन अघि भन्नुभएको अविस्मरणिय शब्द गुञ्जिरहेको छ "छोरी तिमी हाम्रो एक्ली सन्तान मात्र हैन, यो हाम्रो समाजको प्रतिनिधिमुलक पात्र बन्न सक्नुपर्ने छ, म सधै त्यो देख्न चाहन्छु, जीवनमा सचेत हुनु, शत्रुलाई माया गर्नु, शत्रु भनेका ऊर्जा दिने तत्व हुन् । शत्रु लागेपछि मान्छे जागरुक र होसियार भै काम गर्छ । 
 
अनि आफुलाई एक्लै छोरी भए बापत कमजोर महसुस कहिल्यै नगर्नु भन्ने अटल साहस एंव उदारवादी र दुरदर्शि उहाँको सल्लाहलाई सदैव सम्मानका साथ सम्झना गर्दै जिवनको मार्गदर्शन ठान्नेछु ।
 
मनभित्र जिवनका धेरै  योजनाहरुलाई पुरा गर्ने सपना बोकेर अठोटका साथ बढिरहेको छु र जीवनमा आईपर्ने चुनौतीहरुलाई अगाल्दै आफ्नो लक्ष्य पुर्तीको लागि नै मातृभूमि भन्दा टाढा छु ।भौतिक रुपमा देख्न, कुराकानी गर्न नपाएपनि दुख र सुखको क्षणमा सम्झिने गरेकी छु ।
 
बाबा हजुर सँग बितेका तितामिठा पलहरुको सम्झना राख्न चाहन्छु, भौतिक शरिर नरहेपनि बिशुध्द अन्तरआत्मा देखी शब्दको गुच्छाले पुज्न चाहन्छु र परदेशमा दुखको महसूस हुँदा तथा कहिलेकाही मनमा घाउ लाग्दा  जीवन सघर्षको हरेक क्रममा याद गर्न चाहन्छु साथै त्यो दयालु आत्मा र म प्रतिको न्यानोपनलाई सलाम गर्दै निर्दोष माया गर्दछु ।
 
अन्त्यमा जीवनमा जुन चिज आफ्नो साथमा हुन्छ त्यसबेला महत्व हुदैन, जब अभाव हुन्छ त्यतिखेर त्यसको अत्यन्तै महत्व हुन्छ यो मेरो भोगाई हो । कुशे औशीको अवसरमा सम्पुर्ण  नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई हार्दिक शुभकामना ..!!