मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाअघि नै सकिन्छ : पर्यटनमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाअघि नै सकिन्छ : पर्यटनमन्त्री


पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताएका छन् । 
 
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका क्रममा उनले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताए ।
 
विश्व समुदायलाई विश्वस्त पार्ने किसिमले आयोजना अघि बढ्ने उल्लेख गर्दै उनले निर्माणाधीन योजनालाई पारदर्शीरूपमा अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अघि सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले हवाई मार्गका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।
 
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटक प्रवद्र्धनसँगै उनीहरुको बसाई लम्ब्याउनेतर्पm प्रदेश र स्थानीय सरकारको ध्यान जानु पर्ने आवश्यकता औँल्याए ।
विकास निर्माणमा अन्तर सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले कुनै पनि आयोजना स्थानीय जनताको जीविकोपार्जनसँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।
 
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखरा विमानस्थल निर्माणसँगै अन्य आवश्यक भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए ।
 
प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका उनले मुलुकमा सङ्घीयता कार्यान्वयन भए पनि विकास निर्माणका काममा समन्वयको पाटो अहिले पनि सशक्त बन्न नसकेको जानकारी गराए ।
 
पोखरा विमानस्थल आयोजना प्रमुख दिनेश मुनाकर्मीले विकासस्थलको अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै आवश्यक सम्पूर्ण निर्माणकार्य तदारूकताका साथ भइरहेको कारण तोकिएको समयभन्दा छ महीना अगाडि नै सम्पन्न हुने जानकारी दिए ।
 
आजको मितिसम्म निर्माणका लागि लगभग रु सात अर्ब चिनियाँ कम्पनीलाई भुक्तानी गरिएको बताउँदै उनले नेपाल सरकारको रु तीन अर्बको अन्य काम भएको बताए । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा विमानस्थल निर्माणसँगै यस क्षेत्र मात्र नभई मुलुककै पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्यलगायत स्थानीय तहका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय बासिन्दा, निर्माण कम्पनी प्रतिनिधिको सहभागिता रहेको थियो ।
 
कूल रु २१ अर्बको लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिएमसीले पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।