मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘रवि निर्दोष छन्, न्याय पाउनुपर्छ’ : कलाकार

‘रवि निर्दोष छन्, न्याय पाउनुपर्छ’ : कलाकार


काठमाडौँ । नेपालका चर्चित कलाकारहरुले चितवनको प्रहरी हिरासतमा रहेका न्यूज २४ टिभीमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन् । 
 
रिर्पोटर्स क्लबले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकारहरुले रवि लामिछानेको सकुशल रिहाइको मागसमेत गरेका छन् ।
 
कार्यक्रममा हाँस्य कलाकार, अभिनेता एवम् चलचित्र निर्माता दीपकराज गिरीले रवि लामिछाने आइतबार रिहाइ हुने कामना गरे । उनले भने, ‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले फेसबुक स्टाटसमा लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ ।’ 
 
उनले भने, ‘आत्महत्या गर्ने शालिकराम पुडासैनीप्रति मेरो श्रद्धाञ्जली । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाइ यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात् गरेँ । संसार नै एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानुनको ढोका ढक्ढकाउनुपर्छ ।’
 
यस्तै, कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने बताए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको जिकिर गरे । उप्रेतीले भने, ‘हामी सत्यको पक्षमा लडौँ ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु इमानदार हुनुपर्छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने प्रवृत्ति रहेको बताए । 
 
‘रविजी आफ्नो कामले नै पपुलर भए । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् । कानुनको व्याख्या नै गलत छन् भने कानुनले कसरी काम गर्छ ? नेपाली झण्डामुनि बसेर काम गरौँ । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्ररुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौँ ।’ उनले थपे । 
 
कलाकार रमेश उप्रेतीले पनि रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने बताए । उनले भने, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । छानबिन निष्पक्ष होस् । बिनाकुनै दबाब काम गर्न दिइयोस् । यो देशमा अदालत छ । श्रीमान् हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन ।’
 
उनले रवि लामिछाने स–सम्मान छुट्ने आशा व्यक्त गर्दै दोषी भए रविले पनि सजाय पाउनुपर्ने बताए । ‘उहाँ पनि कानुनभन्दा माथि हुनुहुन्न । तर, हिरासतभन्दा बाहिर राखेर पनि रविमाथि छानबिन गर्न सकिनेमा त्यसो गरिएन ।’
 
कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै आइतबार रिहाइ हुने विश्वास व्यक्त गरे । यसैगरी, कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । कलाकारहरुले एएटै स्वरमा भनेका छन्, ‘रविजी निर्दोष छन्, न्याय पाउनुपर्छ ।’