मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुडासैनी मृत्यु प्रकरण : रविसहित तीन जनालाई पाँच दिनको म्याद थप

पुडासैनी मृत्यु प्रकरण : रविसहित तीन जनालाई पाँच दिनको म्याद थप


चितवन । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित पत्रकारद्वय रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की ‘रुकु’लाई चितवन जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ । 
 
पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका तीनै जनामाथि किटानी जाहेरी नपरे पनि पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा आफू मर्नुको कारण खुलाएपछि उनीहरुलाई काठमाडौँबाट पक्राउ गरी चितवन ल्याई अनुसन्धान थालिएको हो । 
 
पुडासैनीका आफन्तले मृत्युको निष्पक्ष छानबिन गरी हत्या वा आत्महत्याबारे तथ्य सार्वजनिक गर्न प्रहरीसमक्ष निवेदन दिएका थिए । सोही आधारमा अनुसन्धान अघि बढेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनका अनुसार पक्राउ गरिएका तीनैजनाविरुद्ध आत्महत्या दुरुत्साहनअन्तर्गत अनुसन्धान थालिएको छ । 
 
म्याद थप गरिएपछि हिरासतमा राखी अनुसन्धान गर्ने वा तारिखमा भन्ने विषयमा शुक्रबार सरकारी वकिल र लामिछाने पक्षका वकिलबीच बहस भएको थियो । अदालतले हिरासतमै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ । लामिछाने पक्षबाट काठमाडौँका सुनिल पोखरेल र सरकारी वकिल पक्षबाट चितवनका चूडामणि सापकोटाले बहस गरेका छन् । 
 
अहिलेसम्म पोष्टमार्टम र डिजिटल फोरेन्सिक ल्याब रिपोर्ट आएको छैन । रिपोर्ट आएपछि र पुडासैनीका परिवारले शनिबार १३ औँ दिनको किरिया सकेपछि परिवारका सदस्यले गर्ने निर्णयका आधारमा मुद्दा अघि बढ्ने प्रहरीको भनाइ छ । 
 
यसैबीच, बिहानदेखि बेलुकीसम्म रवि लामिछानेका सयौँ समर्थकहरुले जिल्ला प्रहरी कार्यालय र अदालत परिसरअगाडि धर्ना दिँदै नाराबाजी गरेका थिए । उनीहरुले रविलाई फसाउने षडयन्त्र भएको भन्दै निष्पक्ष छानबिन गरी पक्राउ परेकाहरुलाई रिहाइ गर्न माग गरेका थिए । 
 
लामिछानेका समर्थक र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न दस सेल अश्रुग्यास प्रहार गरेको थियो । रविका समर्थकले ढुंगामुढा गरेपछि अश्रुग्यास हान्न बाध्य भएको प्रहरीको भनाइ छ । सो क्रममा रविका समर्थक र पाँच प्रहरी सामान्य घाइते भएका छन् । 
 
रविसहित तीनजनालाई पक्राउ गरिएको विरोधमा बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल रविमय बनेको छ । रविका समर्थक, अभियन्ता, पत्रकार, सञ्चारकर्मी, समाजसेवीलगायतले रविमाथि षडयन्त्र हुनसक्ने आशंका व्यक्त गरेका छन् । 
 
यही साउन २० गते चितवनको होटल कंगारुमा झुन्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो । मर्नुअघि पुडासैनीले लामिछाने, कँडेल र कार्कीले मर्न विवश बनाएको भिडियोमार्फत उल्लेख गरेका थिए । 
 
आत्महत्या गर्न दुरुत्साहन आरोप प्रमाणित भए ५ वर्ष जेल र ५० हजारसम्मको जरिवाना हुने चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले म्याद थपसम्बन्धी विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा जनाएका छन् ।
 
गत भदौ १ गतेदेखि लागू फौजदारी संहितामा आत्महत्या दुरुत्साहन प्रमाणित भए दफा १८५ अन्तर्गत उल्लेखित सजाय हुने प्रावधान छ ।