मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार मृत्यु प्रकरणको भिडियो सार्वजनिक भएसँगै तीन आरोपित पक्राउ

पत्रकार मृत्यु प्रकरणको भिडियो सार्वजनिक भएसँगै तीन आरोपित पक्राउ


काठमाडौँ । माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको भिडियो सार्वजनिक भएसँगै आरोप लगाइएका तीनजना पक्राउ परेका छन् । 
 
पुडासैनीको शव परीक्षणको रिपोर्ट भने अझै आएको छैन । मर्नुअघि रेकर्ड गरिएको वा गराइएको भिडियो फुटेजको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट प्रहरीले सार्वजनिक नगर्दै केही अनलाइनले हतारमा भिडियो सार्वजनिक गरेका थिए । तथापि आरोप लगाइएका भनिएका न्यूज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछाने, सोही टिभीका युवराज कँडेल र ओखलढुंगा खिजीदेम्वा गाउँपालिका ७ घर भई काठमाडौँ बस्दै आएकी रुकु भनिने नर्स अस्मिता कार्कीलाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेको छ । 
 
लामिछाने र कँडेललाई न्यूज २४ को कार्यालयबाट र अस्मिता कार्कीलाई कलंकीबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरुलाई परिसरका प्रहरी र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  
 
चितवन प्रहरीका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भने हालसम्म कोही व्यक्तिविरुद्ध किटानी जाहेरी नपरेको जनाएका छन् । पुडासैनीका आफन्तले घटना हुनासाथ दिएको सामान्य निवेदन र पुडासैनीले मृत्यु हुनुअघि भिडियोमा नाम लिएका व्यक्तिहरुको आधारमा अनुसन्धान अघि बढाइएको एसपी मल्लले जनाएका छन् । 
 
मृत्युको कारणबारे यकिन जानकारी नभएकाले हत्या वा आत्महत्या यसै भन्न सकिने अवस्था छैन । यही साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलको १०२ नं कोठामा नुवाकोट बेटकोटगढी ३ घर भएका २७ वर्षीय पुडासैनीको खुट्टा टेकेर झुन्डिएको शंकास्पद अवस्थामा शव भेटिएको थियो । 
 
साउन २२ गते त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा मृतकको शव पोस्टमार्टमका लागि लगिएकोमा शुक्रबारमात्रै रिपोर्ट आउने प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीन जनालाई पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 
लामो समयसम्म न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रमको टिममा रहेर काम गरेका पत्रकार पुडासैनीले सो टिम छोडेर माउन्टेन टेलिभिजनमा गएपछि पनि रवि आफ्नो अभिभावक रहेको स्मरण गरेका थिए । भिडियो सार्वजनिक भएसँगै आफ्ना पूर्वसहकर्मीले आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएपछि पत्रकार लामिछानेले उक्त घटनाको छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदै आएका छन् । 
 
उनले आरोप लगाउने शालिकरामलाई भ्रम परेको बताउँदै आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने आफू जिउँदै रहेको र एउटै आरोप प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् । उनले फेसबुक लाइभमा पनि पुडासैनीसँग आफ्नो कुनै कुरा नभएको जनाएका छन् । प्रहरीले आवश्यक परेका बेला बोलावट भए आफू जुनसुकै बेला उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने उनले बताएका थिए ।