मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

साधारण सभाले पत्रकारहरुबीच सम्पर्क बढाउन मौका मिल्ने छ : विकासराज न्यौपाने, वरिष्ठ उपाध्यक्ष नेजा

साधारण सभाले पत्रकारहरुबीच सम्पर्क बढाउन मौका मिल्ने छ : विकासराज न्यौपाने, वरिष्ठ उपाध्यक्ष नेजा


यही आउँदो मे ४ र ५ तारिक टेक्ससको ड्यालसमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं साधारण सभाको तयारी लगभग पूरा भएको छ । नेजाको साधारण सभा विशेष एवं भव्यरुपमा गर्नेका लागि स्थानीय आयोजक दिनरात लागिपरेको छ । टेक्ससमा रहेका नेपाली पत्रकार एवं टेक्ससमा रहेका व्यवसायी एवं समाजसेवीहरुको सहयोगले नै ऐतिहासिक अविस्मरणीय बनाउन अहोरात्र खटिएका नेजाका वरिष्ठ उपाध्यक्ष एवं तयारी समितिका संयोजक विकासराज न्यौपानेसँग विष्णु पौडेलसँगको  गरेको विशेष कुराकानी-
 
१) नेजाको १३ औ साधारण सभाको तयारी कस्तो छ ?   
 
तयारी सबै पूरा भएको छ । बस्ने, खाने, कार्यक्रमस्थल सबै तय भइसकेको छ । कार्यक्रम तालिका पनि तयार गरेर सदस्यहरूलाई इमेल गरिसकेका छौँ । शुक्रवारदेखि नै केही केही कार्यक्रम सुरु हुन्छन् । शुक्रबार ३ बजे डालस आइपुग्नु हुने साथीहरुलाई ओक्लाहोमा ट्रिप राखिएको छ । शनिबार पनि विभिन्न कार्यक्रम छन् । यो हाम्रो नियमित साधारण सभा हो । तर, यसभन्दा बढी हामीहरुबीच भेटघाट गर्ने, अनुभव सुन्ने, सुनाउने अवसर पनि हो ।
 
२) तयारीका लागि टेक्ससका नेपाली सघंसंस्थाको कत्तिको सहयोग पाउनु भएको छ ?
 
टेक्ससका संघसंस्था र सामाजिक अभियन्ताहरुको सहयोग नभएको भए यो कार्यक्रम गर्नु सम्भव नै थिएन । धेरैले व्यक्तिगत र संस्थागतरुपमा यस कार्यक्रमलाई सहयोग दिनुभएको छ । त्यसैले नै कार्यक्रम आयोजना गर्न सकिएको हो ।
 
३) विगतका साधारण सभाभन्दा यो साधारण सभा कुन अर्थमा फरक रहेको छ ?
 
साधारण सभा नियमित कार्यक्रम नै हो । तर, यसभन्दा बढी भेटघाट चिनजान र अनुभव आदानप्रदान नै मुख्य हो । यसपटक कार्यक्रममा विगतमा भन्दा बढीको सहभागिता हुने आशा गरिएको छ । पत्रकारितामा धेरै वर्ष बिताउनुभएका साथीहरुले सहभागिता जनाउँदै हुनुहुन्छ । वरिष्ठ पत्रकार किशोर नेपालले आफ्नो अनुभव सुनाउनु हुनेछ । यसबाहेक डलास आफैँमा नेपाली समुदाय सक्रिय रहेको सहर हो । यहाँ नेपालीहरुले आक्रमक शैलीवाट व्यापार व्यवसाय विस्तार गरिरहनुभएको छ ।
 
पत्रकार साथीहरुले यहाँ रहँदा यसलाई महसुस गर्नु हुनेछ । यो सम्पर्क बढाउने अवसर पनि हो । अर्कोतर्फ एनआरएनए अमेरिकाको चुनावी माहौल छ । हामीले साधारण सभालगत्तै एनआरएनए अमेरिकाका नेतृत्वमा जान उम्मेदवार दिनेहरुसँग कार्यक्रम पनि राखेका छौं । यो पनि यस पटकको विशेष आकर्षण हो ।
 
४) कति पत्रकारहरुको सहभागिता रहने छ ?
 
अहिले यत्ति नै भन्ने यकिन छैन । साथीहरूले खबर गरिरहनु भएको छ । तर, राम्रै सहभागिता हुने आशा गरिएको छ ।
 
५) साधारण सभालाई चाहिने आर्थिक पाटोलाई कसरी व्यवस्था गर्नु भएको छ ?
 
आर्थिक सहयोगका लागि हामीले डालसकै सामाजिक अभियन्ता, व्यवसायीहरुलाई अनुरोध गरेका थियौँ । हाम्रो अनुरोधलाई स्वीकारेर धेरैले सहयोग गर्नुभएको छ । 
 
६)  साधारण सभाको आर्कषण के के हुन ?
 
आकर्षण भनेको आपसी भेटघाट नै हो । हामीले पत्रकारिता गरिरहँदा रहँदा आ–आफ्नो ठाउँमा विभिन्न खालका अनुभव पाएका छौँ । यो साधारण सभा भने यस्ता आफ्ना अनुभव सुन्ने र सुनाउने नै हो । साधारण सभा औपचारिक कार्यक्रम हो । तर, यसले पत्रकार साथीहरुलाई भेट्ने अनुभव सुनाउने सुन्ने, रमाइलो गर्ने अवसर प्रदान गर्छ । हाम्रो अवस्था के छ हामी कहाँ छौँ भनेर मूल्यांकन गर्ने अवसर पनि हो । संस्थामार्फत् अमेरिकामा रहेका नेपाली पत्रकारको हितका लागि केही अझ राम्रो गर्न सकिन्छ कि यो छलफल गर्ने अवसर पनि हो ।
 
नेजाको विधानअनुसार हरेकवर्ष हुने साधारण सभा हो यो । खासै आकर्षण केही छैन । तर पनि हामीले अमेरिकामा रहनुभएका पत्रकारहरूलाई आफ्नो कार्यथलोबाट समय निकालेर एकआपसमा भेटघाट, रमाइलो गर्ने अवसरका रूपमा यसलार्इ बनाइरहेका छौँ । अर्को मैले माथिनै भने जस्तो स्थानीय समुदायसँग भेटघाट पनि हो । हामी यहाँ बस्नेले यो समुदाय चिनेका छौँ तर, वाहिरवाट आउने पत्रकार साथीहरुले पनि चिन्ने र सम्पर्क बढाउने मौका पनि हो ।
 
७) अतिथिको रुपमा को को आउँदै हुनुहुन्छ ?
 
वरिष्ठ पत्रकार किशोर नेपाल आउँदै हुनुहुन्छ । अमेरिकामा रहनुभएका अरू धेरै वरिष्ठ पत्रकारहरू पनि सहभागी हुनुहुनेछ । यसबाहेक एनआरएनए अमेरिकाका पदाधिकारीहरु, स्थानीय समाजिक अभियन्ता पनि कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।