मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालका पशुपतिलगायत शक्तिपीठहरुमा भक्तजनको भीड

नेपालका पशुपतिलगायत शक्तिपीठहरुमा भक्तजनको भीड


काठमाडौँ । साउन महिनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
 
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ । साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा तीजको जस्तै भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।
 
पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको थियो । बिहान ११ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको उनले सुनाए । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार स्थानबाट प्रवेश गर्ने व्यवस्था गरिएको थियो ।
 
गुह्येश्वरीबाट उमाकुण्ड रुद्रगाडेश्वर हुँदै, मित्रपार्कबाट दक्षिणामूर्ति शङ्कराचार्य मठ पश्चिम मूल ढोका हुँदै, जयवागेश्वरीबाट भुवनेश्वरी दक्षिण मूल ढोका हुँदै र पिङ्गलास्थानबाट चार शिवालय हुँदै दक्षिण मूल ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको हो । अरू दिनमा भन्दा जुत्ताचप्पल कक्ष पनि बढाइएको छ ।
 
साउनको सोमबार विशेषगरी महिला भक्तजनको भीड बढी देखिन्छ । हरियो र रातो पहिरजनमा सजिएका महिलाको भीडले पशुपतिमा तीजको झल्को दिन्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । कति भक्तजन भने भजनकीर्तनसहित नाचगान गरेर रमाइलो गरिरहेका छन् ।
 
पशुपतिनाथ मन्दिरमा मेला व्यवस्थापनलगायत विषयमा आजै दिउँसो सङ्घीय संसद्का दुई समितिले अनुगमन गरेको थियो ।
 
यसैगरी मन्त्रालयको कार्यभार सम्हाल्नुभएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि आजै बेलुकी पशुपति क्षेत्रको अवलोकन, अनुगमन एवं दर्शन गरेका थिए ।
 
विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत गर्ने भनिए पनि पुरुषले समेत व्रत गर्नुपर्ने शास्त्रीय भनाई रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।
 
साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ । भोलेनाथ काँवरिया संघको आयोजनामा भएको आजको बोलबममा हजारौँ भक्तजन सहभागी भएका थिए । बोलबम मेला भर्न आइतबार साँझ नै भक्तजन सुन्दरीजल पुगेका थिए । आइतबार साँझ सुन्दरीजल पुगेका भक्तजन रातभर भक्ति सङ्गीत एवं भजनकीर्तन गरी बसेका थिए । राति १२ बजेपछि स्नान एवं जल सङ्कल्प गरी खाली गोडा करिब ११ किमी पैदल यात्रा गरेर पशुपतिनाथ मन्दिरसम्म आएका थिए ।
 
पैदल यात्रा गर्ने भक्तजनले ठूलो स्वरमा बोलबम भन्दै नारा लगाएका थिए । रातिदेखि नै ठूलो ‘साउन्ड सिस्टम’ मा सङ्गीत बजाउँदा बच्चा एवं वृद्धलगायत सडक छेउमा घर भएका स्थानीयवासीलाई प्रभाव परेको स्थानीयवासी सुशील सिम्खडाले गुनासो गरिन् ।
 
यसैगरी उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, सन्तानेश्वर, डोलेश्वरलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड छ । साउनको सोमबारको व्रत आज सकिए पनि श्रावण मासमा गरिने भगवान् शिवको पूजा–आराधना भने चन्द्र एवं सौरमासअनुसार यो महीनाभर हुनेछ ।
 
साउन महिनाभर सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाउने भक्तजनको भीड लाग्छ । सोमबार र शनिबार बढी भीड हुने गरेको छ । पहिले तराईवासी मात्र सहभागी हुने गरेको बोलबम यात्रामा हाल पहाड एवं हिमालवासीको सहभागिता बढ्न थालेको छ ।