मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपहरणको धम्की दिनेलाई गोली हानेर नियन्त्रणमा

अपहरणको धम्की दिनेलाई गोली हानेर नियन्त्रणमा


काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकैको एक क्याफेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 
 
जनप्रतिनिधिलाई करोडौँ रकम माग गरी नदिए तीन वर्षको छोरीलाई अपहरण गर्ने धम्की दिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजी अभियानका क्रममा दुई जनालाई पक्राउ गरेको हो । घटना आज दिउँसो १२ बजेको समयमा भएको थियो ।
 
पक्राउ पर्नेमा रामेछापको मन्थलीका लोप्सान भन्ने मिलन तामाङ र अर्का अमृत तामाङ रहेका छन् । मिलनले भने नाम फेरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट र आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
 
प्रहरी आएको चाल पाएपछि प्रतिकार गर्दै भाग्ने क्रममा मिलनलाई घुँडामुनि गोली लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
 
उनीहरूले लिखु हाइड्रो पावरबाट रु २० लाख, विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको छ । उनीहरूले रामेछापको लिखु–तामाकोशी गाउँपालिका प्रमुख गोविन्द खड्गालाई रु दुई करोड नदिए तीन वर्षकी छोरीलाई अपहरण गर्ने धम्की दिएको प्रहरीले जनाएको छ । 
 
सोही घटनामा उनलाई पक्राउ गर्न महाशाखाको टोली खटिएको थियो । उनीहरू लुटपाटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।