मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारलाई सांसद्हरुको प्रश्नैप्रश्न, सरकारका काम पारदर्शी नभएको टिप्पणी

सरकारलाई सांसद्हरुको प्रश्नैप्रश्न, सरकारका काम पारदर्शी नभएको टिप्पणी


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन ढिलाइ गरियो रु भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अप्ठ्यारो परेको बताए । 
 
उनले आयोग गठन गर्न किन हेलचेक्र्याइँ भयो भन्ने प्रश्न गर्दै संविधानको भावनाअनुरुप द्वन्द्वपीडितका समस्या सम्बोधन गर्न छिटो आयोग गठन गर्न माग गरे । सांसद शर्माले भने, “देश र जनताको मागअनुसार संघीयता आएको हो, यसलाई इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्छ ।” 
 
सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक राज्य तथा सुशासन समितिमा किन अड्कियो रु राष्ट्रिय परिचयपत्र वितरण कार्य कुन ऐनअनुसार भयो रु भन्ने प्रश्न गर्दै सार्वजनिक खरीद ऐनविपरीत परिचयपत्रको ठेक्कापट्टा भएको आरोप लगाए । उनले भने, “सरकारका काम कारबाही पारदर्शी भएन । यसले लोकतन्त्रको भावनामाथि अघात पर्छ ।”
 
सांसद केदार सिग्देलले भूकम्पले क्षति भएको सिंहदरबार र संसद् सचिवालय पुनःनिर्माण गर्न ढिलाइ भएकोमा आपत्ति जनाउँदै भवनभित्र रहेका अमूल्य सरसमानको अवस्था के कस्तो अवस्थामा रहेको छ भन्ने प्रश्न गरे । 
 
सांसद प्रमोद साहले भोजपुरी र मैथली भाषाबाट रेडियो नेपालबाट प्रसारण हुँदै आएको समाचार बन्द भएकोमा आपत्ति जनाउँदै यसले भोजपुरी र मैथली संस्कृति लोप हुने खतरा बढेको बताए । 
 
अर्का सांसद रामबाबुप्रसाद यादवले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा पनि कृषकले अझै पनि तराईमा सिजनको समय बीउबिजन र मलखाद पाउन नसकिरहेको गुनासो गर्दै कृषि प्रधान देशमा कृषि आधुनिकीकरण गर्न सरकारको ध्यान जान जरुरी छ भने ।
 
सांसद कृष्णगोपाल श्रेष्ठले नेकपाको धूम्रबाराहीस्थित पार्टी कार्यालयबारे प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै विषयवस्तु बुझेर जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरे । उनले गोरखा भूकम्पले बल्खुस्थित पार्टी कार्यालय क्षति पुगेकाले चार वर्षदेखि पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन लिजमा प्रयोग गर्दै आएको स्पष्ट पारे । 
 
सांसद डा डिला सङ्ग्रौलाले नेपाली कामदार रोजगारीका लागि मलेसिया जान बन्द भएको दुई वर्ष भइसक्यो, यसका बारेमा मौन किन रु भन्ने प्रश्न गरिन् । सांसद सरिता गिरी जङ्गल र बस्तीलाई व्यवस्थापन गरेर मात्र निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाउन सुझाव दिइन् । 
 
सांसद झपटबहादुर रावलले गैरकानूनी नागरिकता कति व्यक्तिले लिएका छन् र हालसम्म कति खारेज भयो सदनलाई जानकारी गराउन माग गरे । सांसद प्रकाश रसाइलीले जनताको जीउधनको सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेमप्रसाद तुलाचनले हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिउँद महिनामा भएको हिमपातका कारण धेरै सङ्ख्यामा भेडाच्याङ्ग्रा मरेको र त्यहाँका पीडित किसानले अझै क्षतिपूर्ति पाउन नसकेको गुनासो गरे । 
 
सांसद तेजुलाल चौधरीले मुलुकमा बढ्दो भ्रष्टाचार र अनियमिता रोक्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो । सांसद नवराज सिलवालले संसदीय अभ्यासको गरिमालाई ख्याल गर्दै संवेदनशील विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदको एक धारणा आउन जरुरी भएको उल्लेख गरे । 
 
सांसद प्रमिला राईले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालको नाराविपरीत मुलुकको विकासले गति लिन नसकेको र अनियमितताका घटना बढेकोमा सरकारको ध्यानाकर्षण गराए ।