मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ७० हजार पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ७० हजार पुग्यो


काठमाडौँ । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ मा कारोबार भएको महासंघले जनाएको छ । पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्यमा रु पाँच हजार वृद्धि भएको हो । 
 
गत बिहीबार छापावाला सुन प्रतितोला ६५ हजार र चाँदी प्रतितोला रु ७७० मा कारोबार भएको थियो । छापावाल सुन शुक्रबार प्रतितोला रु ८०० ले बढेर रु ६५ हजार ८०० पुगेको थियो । आइतबार पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । आइतबार प्रतितोला रु ५०० ले बढेर रु ६६ हजार ३०० मा खरिदबिक्री भएको महासंघले जनाएको छ । 
 
एकाएक सोमबार सुनको मूल्य ह्वात्तै बढ्यो । सो दिन सुन प्रतितोला रु एक हजार ५०० बढेर रु ६७ हजार ८०० मा कारोबार भएको थियो । निरन्तर उकालो लाग्ने क्रम जारी रहे पनि मंगलबार भने सुनको मूल्य स्थिर रह्यो । मंगलबारको मूल्यमा प्रतितोला रु ७०० का दरले बढेर बुधबार सुनको मूल्य रु ६९ हजार ५०० पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ४९७.०५ डलर छ । 
 
विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासंघले जनाएको छ । 
लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ । 
 
सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ । अहिले दैनिक करिब १० किलो सुन खपत भएको महासंघले जनाएको छ । यसअघि दैनिक २० किलो सुन नेपालको आन्तरिक बजारमा खपत हुँदै आएको थियो । सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको संख्या बढेको महासंघले जनाएको छ ।