विचार / ब्लग

अमेरिकामा ‘राम’ गायब !

502 पटक पढिएको

– बाबुराम दाहाल | 7th Aug 2019, Wednesday | २०७६ श्रावण २२, बुधवार २०:२२
२०७३ साल जेठ ७ गते, तदनुसार मे २०, २०१६ । परिवारको साथमा नेपालबाट अमेरिका प्रस्थान । करिब ३० घन्टाको अन्तरालमा टेक्ससको ड्यालस एयरपोर्टमा अवतरण । तर, यहाँ आएर समय हेर्दा १८ घन्टा मात्र फरक । सोझो हिसाबमा चानचुन १२ घन्टा समय नै गायब । विमानबाट निस्केर करिब १० मिनेट पैदल यात्रापछि इमिग्रेसन अफिसमा पुगियो । व्यक्तिगत विवरण भर्ने लाइनमा बस्यौं । पालो आएपछि एउटा क्याबिनमा बोलाइयो । त्यहाँ नाम सोधियो र पासपोर्ट मागियो । मैले पासपोर्ट दिँदै आफ्नो पारामा नाम भने, ‘बाबुराम दाहाल ।’ फेरि सोधियो, ‘फस्र्ट नेम, प्लिज ।’ ‘बाबुराम ।’ यस पटक पनि नाम मिलेन छ, ती अधिकारीले भने, ‘अकोर्डिङ टु दिस डकुमेन्ट योर फस्र्ट नेम इज अन्ली ‘बाबु’ ।’ ‘इट्स् ओके’ भन्नुको विकल्प थिएन, मसँग । 
 
अमेरिकी भुइँमा टेकेको करिब २५ मिनेटपछि मेरो ‘राम’ मबाट बाहिरियो । जन्मेको ११औं दिनका दिन हिन्दु संस्कारअनुसार पण्डितले थाल ठटाएर राखेको अनि ३० वर्षभन्दा बढी मेरो पहिचान बोकेको ‘राम’लाई एकजना अमेरिकी कर्मचारीले विनाहिचकिचाहट एक मिनेटमै गायब बनाइदिए । अर्थात्, ती कर्मचारीले मेरो दोस्रो न्वारान गरिदिए । त्यसपछि मेरो अमेरिकी नाम ‘बाबु दाहाल’ भयो । नेपालमा भएको भए यस विषयमा दुई-चारजना साथीभाइ लिएर इमिग्रेसनको अफिसनजिक आन्दोलन गरिन्थ्यो होला । 
 
अब सुरु भयो, अमेरिकाको दिनचर्या । नियमानुसार परिचय–पत्र बनाइयो । त्यहाँ पनि ‘राम’ हरायो । अपार्टमेन्ट, बिजुली, फोन, इन्टरनेट, रोजगारदाता कम्पनी आदि जताततै ‘राम’ गायब । सुरु–सुरुमा त नयाँ अनुहारसँग परिचय गर्दा ‘राम’ सहित नै चिनाउने कोसिस गरियो । तर, त्यो अनौपचारिक रूपमा मात्र हुन थाल्यो । यसले झन् साथीभाइमा भ्रम सिर्जना हुन थाल्यो । इ–मेलमा, मेलबक्समा, फोनमा, काममा, यता, उता, जताततै ‘राम’ गायब । हुँदाहुँदै आजभोलि मेरो नाम ‘बाबु’ पनि होइन ‘ब्याबु’ भएको छ । अब बिस्तारै ‘बब्’ हुन्छ होला, होस् । यसो हुनुमा कसैको रहर र करले भने होइन, केबल अमेरिकाको वैयक्तिक विवरण ढाँचा अनि यहाँको ध्वनि उच्चारण नै मुख्य कारण रहेछ । पहिले अलि अनौठो लागे पनि अहिले बिस्तारै यसैमा चित्त बुझ्न थालेको छ । 
 
अमेरिकामा मजस्तै दोस्रो नाम हराउने धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ । उहाँहरूसँग पनि यस्तै अनुभव पक्कै छ, दोस्रो नाम बेवारिसे अवस्थामा पुगेको अनि पहिलो नामको उच्चारण पनि फरक बनेको । हाम्रो देशमा जातको समेत प्रनिधित्व गर्ने दोस्रो नाम जस्तैः कुमार, कुमारी, बहादुर, प्रसाद रहेका छन् । यस्तै, कमल, कृष्ण, चन्द्र, देवी, नाथ, निधि, भक्त, मान, माया, राम, राज, लक्ष्मी, लाल, सिंहलगायत धेरै दोस्रो नामको रूपमा लेखिन्छ । 
 
नेपाली भाषाअनुसार दोस्रो नाम पहिलोसँग जोडेर लेखिने हुँदा फरक पदैन । तर, अंग्रेजी भाषामा दोस्रो नाम छुट्टै लेखिने हुँदा यसले हाम्रो नाममा भने फरक पर्दोरहेछ । अमेरिकामा भने वैयक्तिक विवरण राख्ने क्रममा विशेषगरी पहिलो र अन्तिम नामलाई मात्र प्राथमिकता दिइएको हुने रहेछ । त्यसैले अमेरिकामा रहेका नेपाली दाजुभाइ तथा दिदी–बहिनीलाई आफूखुसी नाम घटाएको वा फेरेको भनेर नेपालमा फरक रूपमा व्याख्या गर्नु गलत रहेछ ।
  
अमेरिकाको दिनचर्यामा सुरु भएपछि ‘भाग्य दह्रो हुनुपर्छ, निधारमा लेखेको मात्र पाइन्छ’ जस्ता कुरामा पनि विश्वास लाग्न छाड्यो । यसै सिलसिलामा एउटा रमाइलो कुरा यहाँ राख्न मन लाग्यो– अमेरिका आएपछि त डलर कमाइन्छ होला भनेर एउटा बैंकमा खाता खोलियो । खाता खोलेपछि अहिलेसम्म नेपालको जस्तो १०/२० हजार पैसा भयो भने डराउँदै, बेला–बेलामा पैसा राखेको ठाउँ छाम्दै बैंक पुगेर जम्मा गरेको पनि छैन र झिकेको पनि छैन । सो बैंकले पैसा खर्च गर्नका लागि कार्ड (डेबिट/क्रेडिट) दिएको छ । किनेमेल गर्न बजार गयो, चाहिने सामान भारी हालेर काउन्टरमा पुगेपछि क्यासियरले यति भयो भनेर अंक देखाउँछन्, कार्डमार्फत त्यो देखाएको अंकलाई शून्य बनायो, हिँड्यो । 
 
त्यसबाहेक आफ्नो नाममा कोठा-घरको भाडा-किस्ता, पानी, बिजुली, इन्टरनेट, फोहोर, सवारी किस्ता-बिमा, स्वास्थ्य बिमालगायत विविध शीर्षकबापत खर्च खातामा अंक देखिन्छ, त्यसलाई पनि शूल्य बनाउनै प¥यो । यसरी खर्च खातालाई शून्य बनाउने सिलसिलामा बैंक खाताको अंक सकिने अवस्थामा पुग्दा चिन्तित बन्नुपरे पनि काम गरेको पारिश्रमिकबापत सामान्यतया दुई हप्तामा केही अंक सिधै बैंक खातामा थपिँदा भने एकछिनचाहिँ खुसी हुन पनि पाइन्छ । 
 
यदि खर्च खातामा प्रकट भएको अंक तोकिएको मितिभित्र शून्य बनाउन सकिएन भने एक-दुई पटकसम्म त जरिवानासहित तिर्न पाइन्छ । त्यसपछि पनि शून्य बनाउन सकिएन भने हाम्रो वैयक्तिक रेकर्ड नकारात्मक बन्छ । यसरी रेकर्ड बिग्रिएपछि यहाँ काम पाइँदैन अर्थात् कुनै पनि रोजगारदाताले काम दिँदैनन् । विनाकाम अमेरिकाको जीवन हामीले नेपालमा भन्ने गरेको नर्कसमान हुन्छ । 
 
कहिलेकाहिँ त यस्तो सम्झना आउँछ कि, नेपालमा समय मिलाएर तास प्रायः ‘म्यारिज’ खेल्दा खुजुरा पैसाको हिसाब नमिल्ने हुँदा मकै, चना, केराउलगायत गेडागुडीलाई पैसा मानिन्थ्यो र पछि खेल सकिएपछि हिसाब मिलाइन्थ्यो । 
 
अमेरिकामा भने डिजिटल अंकलाई डलर मान्ने गरिएको रहेछ । बैंक खातामा यही अंक बढाउन प्रायः सबैजसो परिवारका सदस्यले काम गर्नु अनिवार्य छ । किनकि, आफ्नो खर्च खातामा देखिने अंकलाई तोकिएको समयभित्र शून्य बनाउनै पर्छ । त्यसैले हामीजस्तो सामान्य काम गरेर गुजारा चलाउनुपर्ने प्रायः सबैलाई चिन्ताको मुख्य विषय भनेको नै खातामा देखिने अंकको हो । यसका साथै, हामी धेरैजसो नेपाली भने दुई/चार मिनेट फुर्सद निकालेर प्रायः अरूलाई गाली वा नकारात्मक भावयुक्त दुई लाइन लेखेर सामाजिक सञ्जालमार्फत प्रकाशन/प्रसारण गरेर भए पनि आफ्नो खानदानी संस्कारलाई पनि बचाइरहेका छौं ।
 
विकसित अनि सबैको सपनाको देश अमेरिका त्यत्तिकै भएको होइन रहेछ । यहाँ देशलाई समृद्ध बनाउँछौं भन्दै नेपालमा जस्तो काल्पनिक र विनाआधार नेता भनाउँदाबाट जनतालाई बेवकुफ बनाएर हिस्याउने र हसाउने कार्य नहुँदो रहेछ । 
 
त्यस्तै, यहाँको कानुन शासक वा सीमित व्यक्तिसँग मात्र नहुने रहेछ । कानुन सबैको साझा रहेछ अनि सबैलाई बराबर लागू रहेछ । यसर्थ, आमअमेरिकावासीले इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेका कारण अमेरिका विकसित र सबैको मुखमा बसेको रहेछ । अतः नेपाललाई साँच्चिकै समृद्ध बनाउने सपना कुनै शासक वा व्यक्तिले देखेको छ भने सबैभन्दा पहिला सीमित शासक र व्यक्तिमा निहित कानुनलाई सबैको समान बनाउनुपर्छ वा कानुनी शासन सुरु गर्नुपर्छ । त्यस दिनदेखि मात्र देश समृद्धिको दिशातर्फ अगाडि बढ्नेछ । अहिलेलाई यत्ति !