मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले ‘हिटलर’ शैलीमा ‘सत्ता कब्जा’ गर्न खोज्यो : सभापति देउवा

सरकारले ‘हिटलर’ शैलीमा ‘सत्ता कब्जा’ गर्न खोज्यो : सभापति देउवा


पोखरा । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकार ‘हिटलर’ शैलीमा सत्ता कब्जा गर्न केन्द्रित रहेको बताएका छन् । अनुचित प्रावधानसहितका विधेयकहरू ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सत्ता कब्जा’ गर्न खोजेको उनको आरोप छ । 
 
पोखरामा आयोजित एक कार्यक्रममा सभापति देउवाले भने, ‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए, संसदमा अनेकथरी विधेयक पास गर्न खोजेर ओली पनि त्यही बाटोमा छन् ।’ 
दुईतिहाइ बहुमतको दम्भमा सरकारले जथाभावी विधेयक ल्याएर सत्ता कब्जाको रणनीतिअनुसार काम गरेको उनको भनाइ छ ।
 
देउवाले गलत मनसायका साथ संसदमा ल्याइने विधेयकविरुद्ध कांग्रेसले कडा प्रतिवाद गर्ने चेतावनी दिए । मिडिया विधेयक, गुठी विधेयक, मानव अधिकार आयोगसम्बन्धी विधेयक संविधान, लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको आरोप लगाउँदै उनले कांग्रेसले संसदबाट त्यसको विरोध गरेको स्मरण गरे ।
 
‘हामी कुर्सी भाँच्दैनौं, मेच तोड्दैनौं, रेलिङ भत्काउँदैनौं,’ उनले भने, ‘हाम्रो विरोध शान्तिपूर्ण हुन्छ । जनताको साथ लिएर सदनबाट सडकसम्म जान्छौं ।’ शान्तिपूर्ण आन्दोलनबाटै लोकतान्त्रिक अधिकार रक्षाका लागि कांग्रेसले संघर्ष गर्ने उनले बताए ।
 
मानवअधिकार आयोगसम्बन्धी विधेयक ल्याएर सरकारले आयोगको स्वतन्त्र अधिकारलाई सीमित गर्न खोजेको आरोपसमेत देउवाले लगाए । प्रेस स्वतन्त्रतामा अंकुश लगाएर सरकार निरंकुशतातर्फ जान खोजेको उनको आरोप थियो । 
 
मानवअधिकार र स्वतन्त्र प्रेस नभएको मुलुकमा प्रजातन्त्र नरहने बताउँदै उनले कांग्रेस प्रजातन्त्रका लागि अनवरत संघर्ष गर्न तयार रहेको प्रष्ट पारे । ‘प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपूरक हुन्,’ उनले भने, ‘कांग्रेसले सदनबाटै प्रजातन्त्रका लागि संघर्ष गर्छ ।’