मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेरोजगारी अन्त्य गर्न स्थानीयस्तरमा उत्पादन वृद्धि गरौँ : नेता पौडेल

बेरोजगारी अन्त्य गर्न स्थानीयस्तरमा उत्पादन वृद्धि गरौँ : नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बेरोजगारी अन्त्यका लागि स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 
 
तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीयस्तरमा उत्पादन वृद्धि गर्नुपर्ने बताए ।
 
गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सकिए आम्दानी हुने र युवाहरु विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो । उनले भने, “युवाहरुलाई गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिए काम खोज्दै विदेश जानुपर्दैन, त्यसका लागि उत्पादन वृद्धिमा जोड दिनु अहिलेको प्रमुख आवश्यकता हो ।”
 
वरिष्ठ नेता पौडेलले कृषि, जलस्रोत र पर्यटनमार्फत् देशलाई समृद्ध बनाउन सकिने भएकाले तीन तहका सरकारले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले कृषि क्रान्तिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।
 
फरक प्रसङ्गमा बोल्दै उनले पार्टीहरुलाई सुधार्ने जिम्मेवारी जनताको पनि रहेको उल्लेख गरे । पार्टी सुधार गर्न नेतृत्व सुध्रनुपर्ने भन्दै उनले लोकतन्त्रमा व्यक्ति नभई जनता बलियो हुनुपर्ने धारणा व्यक्त गरे । 
 
दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताउँदै उनले सरकारको कार्यशैली सच्चिनुपर्ने बताए । 
 
कार्यक्रममा सांसद केदार सिग्देल, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले समृद्ध गाउँपालिका बनाउन सबै राजनीतिक पार्टीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । 
 
सो अवसरमा गाउँपालिकाका अध्यक्ष माया रानाले आर्थिक वर्ष ०७६/७७ का लागि पारित बजेट सार्वजनिक गरिन् । गाउँपालिकाले चालु आवका लागि रु ४८ करोड १३ लाख ७७ हजारको बजेट पारित गरेको छ । कूल बजेटमध्ये चालूतर्फ रु २५ करोड ९४ लाख ३४ हजार र पूँजीगततर्फ रु २२ करोड १९ लाख ४३ हजार विनियोजन गरिएको अध्यक्ष रानाले जानकारी दिइन् ।