मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माउन्टेन टिभीका पत्रकारको झुन्डिएको अवस्थामा शंकास्पद मृत्यु

माउन्टेन टिभीका पत्रकारको झुन्डिएको अवस्थामा शंकास्पद मृत्यु


नारायणगढ । चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा माउन्टेन टिभीका पत्रकार २७ वर्षीय शालिकराम पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका छन् । 
 
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ३ स्थायी निवासी पुडासैनी लामो समय पत्रकार रवि लामिछानेको दाहिने हात भई न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रमको समूहमा रहेर काम गर्दै आएका थिए ।
 
डेढ महिनाअघिमात्र सो समूहबाट बिदा भई माउन्टेन टिभीमा ‘मिसन न्यूज’ सञ्चालन गर्दै आएका थिए । उनी निडर र जोखिम मोलेर खोजी पत्रकारिता गर्न रुचाउने पत्रकार थिए । पारिवारिक स्रोतअनुसार उनी तराईमा बाढी र डुबानको रिपोर्टिङ गर्न काठमाडौँबाट चितवन गएका थिए । 
 
सोमबार दिउँसो साढे ३ बजेको समयमा उनी आफैँले कंगारु होटलको कोठा नं २०२ बुक गरी बसेका थिए । बेलुकी खाना खान होटलका कर्मचारीले खबर गर्न जानेक्रममा उनको शव झुन्डिएको अवस्थामा फेला परेपछि सञ्चालकले राति १० बजे प्रहरीलाई खबर गरेका थिए ।    
 
उनी झुन्डिएको अवस्थामा फेला परे पनि घटनाको प्रकृति आत्महत्याजस्तो देखिँदैन । खुट्टा भुइँमा र खाटमा टेकेको अवस्थामा आत्महत्या हुनै नसक्ने भन्दै मृतकका आफन्तले हत्या भएको हुनसक्ने आशंका गरेका छन् । मृतकका भाइ तथा आफन्तले मंगलबार दिउँसो घटनास्थलको अवलोकनपश्चात् घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 
 
मृतकका आफन्तहरुका भनाइअनुसार बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्ने निर्भिक पत्रकार शालिकरामलाई विभिन्न समूहको धम्की आउने गरेको थियो । सधैँ उत्साही र अरुलाई समेत उतप्रेरणा दिने स्वभावका शालिकरामले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै उनीहरुले घटना सुनियोजित हुनसक्ने आशंका व्यक्त गरेका छन् । 
 
आफन्तले हत्या भएको आशंका गरे पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले भने पोष्टमार्टमको रिपोर्ट नआई मृत्युको कारणबारे थाहा नहुने बताएका छन् । उनी भन्छन्, ‘शवको पोष्टमार्टमका लागि मृतकका आफन्त सहमत भएका छन् । उहाँहरुसँग त्रिवि शिक्षण अस्पताल काठमाडौँमा लगेर पोष्टमार्टम गर्ने सहमति भएको छ । सबै कुरा पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुन्छ ।’ 
 
चितवन प्रहरीले घटना रहस्यमय रहेकाले थप प्रमाण जुटाउन लागिपरेको बताएको छ । होटलमा सिसी क्यामेरा नरहेकाले अनुसन्धान गर्न केही कठिनाइ परेको एसपी मल्लको भनाइ छ । 
 
यसैबीच, चितवन प्रहरीका सूचना अधिकारी एवम् प्रवक्ता एकनारायण कोइरालाका अनुसार मृतकका आफन्तले कंगारु होटलका सञ्चालक यज्ञबहादुर कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । जाहेरीका आधारमा होटल सञ्चालकलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनको भनाइ छ ।