मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ विमोचन

गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ विमोचन


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताएका छन् । 
 
कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को शनिबार आयोजित समारोहमा लोकार्पण गर्दै उनले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित गर्ने सकारात्मक सन्देश प्रवाह गर्ने विषयवस्तु समेटिएको भनी लेखकको प्रशंसा गरे । 
 
सभापति देउवाले भने, ‘मान्छेका कथाहरु’ मा निकै घतलाग्दा विषयवस्तु समेटिएको छ, तपार्इं साहित्यमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि निकै भरोसा गरिएको योग्य व्यक्ति हुनुहुन्छ, राजनीतिक र साहित्यलाई सँगसँगै बढाउनुस् शुभकामना छ ।’
 
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरा राजनीतिमा मात्र नभएर विचार, सोच र साहित्यमा समेत दख्खल हासिल गरेका प्रतिभाका रुपमा उदाएका घिमिरेलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतामा जोड दिए । 
 
उनले भने, ‘कृतिमा समाजको यथार्थलाई चित्रण गरिएको छ, कतिपय पात्र विशेषलाई क्रान्तिकारी र विद्रोही चित्रण गरिए पनि सकारात्मक दृष्टिकोणबाट अन्त्य गरिएको छ, यस्ता कृतिबाट तत्कालीन समाजको मनोवृत्ति र कस्ता पात्र थिए भन्ने कुरा थाहा पाउन सकिन्छ । अहिले पार्टीभित्र र देशभित्र सकारात्मक चिन्तनको खाँचो छ ।’
 
महामन्त्री शशांक कोइरालाले राजनीति र साहित्यिक क्षेत्रका परिचित व्यक्तित्व बीपीले हरेक मान्छेलाई ठूलो होइन, असल बन्नु भनेर प्रेरित गरेको प्रसंग उल्लेख गर्दै यसपटक घिमिरेलाई राजनीति पाटोबाट पार्टीले न्याय गर्न नसकेको बताए ।  
 
नेकपाका नेता एवं साहित्यकार दीनानाथ शर्माले समाजका सबै पक्षको भावना, समस्या र समाधानको एउटै उपाय समेटिएकोे ‘मान्छेका कथाहरु’ को भाषा सरल र प्रस्तुति निकै मिठास रहेको बताए । 
 
नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले साहित्य समाजको प्रेरणा भएको हुँदा पूर्वी पहाड, तराई मधेसदेखि युरोपसम्मका विषयवस्तु समेटिएका ‘मान्छेका कथाहरु’ले समाजका प्रत्येक मान्छेलाई असल बन्न प्रेरित गरेको बताए । 
 
शमी साहित्य प्रतिष्ठानका संरक्षक एवं पूर्वशिक्षामन्त्री प्रदीप नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु गोपालमान श्रेष्ठ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक क्षेत्रका उज्ज्वल नक्षेत्रका रुपमा रहेका घिमिरेलाई राजनीतिक र साहित्यलाई एकैसाथ अघि बढाउन प्रेरित गरे । 
 
प्रकाशन संस्था शमी साहित्य प्रतिष्ठानका अध्यक्ष डोलेन्द्र शर्मा र प्राध्यापक लक्ष्मणले साहित्यले चेतना, चिन्तन र सोचाइमा परिवर्तन ल्याउन योगदान दिने हुनाले समाजमा भएका परिघटनाको माध्यमबाट मानिसलाई असल बनाउन प्रेरित गर्ने सन्देश ‘मान्छेका कथाहरु’ मा रहेको जानकारी दिए । 
 
कथाकार घिमिरेको पाँचौँ कृतिका रुपमा रहेको ‘मान्छेका कथाहरु’ मा १४ खण्ड विभाजन गरिएको छ ।