मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर के भयो वा भइरहेछ ? विपदबारे जानकारी एकै ठाउँबाट

देशभर के भयो वा भइरहेछ ? विपदबारे जानकारी एकै ठाउँबाट


काठमाडौँ । तपाईंले कुनै पनि बेला हुने विपद्का घटनाको जानकारी पाउन सकस झेल्दै आउनुभएको छ ? अथवा भएका घटनामा जानकारी पाउन सक्नु भएको छैन ? या वर्तमानमा कहाँ के भइरहेको छ भनेर जानकारी लिन 
मुस्किल परिरहेको छ ?
 
त्यतिमात्रै होइन, भएका घटनाबारे अहिले के भैरहेको छ, राहत पाएको छ कि छैन, कुन निकायले राहत उपलब्ध गराउँदैछ, कुनै ठाउँमा राहत दोहोरिएको पो छ कि ! यस्तैयस्तै समस्या छन् भने अब त्यसबाट छुटकारा मिल्ने भएको छ । 
 
यसका लागि एउटै वेभसाइट खोले पुग्छ । गृहमन्त्रालयले अहिले परीक्षण गरिरहेको ‘एकीकृत सूचना प्रणाली’ अन्तर्गतको http://www.bipad.gov.np/ लग इन गरे पुग्छ । यसबाट सूचना मात्रै आउने नभई आधिकारिक निकायबाट प्रतिकार्यमा तत्कालै जुट्नसमेत मद्दत गर्नेछ । 
 
“विपद्का सूचनाहरू एकै ठाउँबाट सबैले जानकारी पाउन सकुन्, हरेक घटनाको व्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी काम प्रभावकारी होस् भन्ने उद्देश्यले उक्त सूचना प्रणालीको विकास गरिएको हो, यसबाट अहिले तीन तहको सरकारबीच समन्वयमा समेत सहयोग पुग्नेछ ।” गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने । उनका अनुसार स्रोत, साधन, जनशक्ति, समय र बुद्धीको दुरूपयोग नहोस्  भन्ने उद्देश्यले एकीकृत सूचना प्रणालीको हो । 
 
गएको असार अन्तिम साताको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भयो । यसको विवरण प्राप्त गर्न सञ्चारकर्मीलाई होस् या विपद् व्यवस्थापनमा लागेका सरकारी अधिकारीलाई धौधौ प¥यो ।
 
कतिपय सरकारी कार्यालयका विवरणसमेत फरक फरक आए । अहिलेसम्म पनि क्षतिको यकिन विवरण आउन सकेको छैन । यसरी फरकफरक विवरण नआओस् र समयमै यकिन विवरण आओस् भन्ने उद्देश्यले गृह मन्त्रालयले उक्त वेब साइट सञ्चालनमा ल्याएको हो । 
 
एकीकृत सूचना प्रणाली अहिले परीक्षण कै क्रममा छ । नेपाल प्रहरी र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले विवरण हालेर प्रयोग गरिरहेको छ । छिटै प्रदेश, स्थानीय तह, जिल्ला र विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थालाई समेत युजर आईडी र पासवर्ड उपलब्ध गराएर हरेक क्षेत्रका घटना र भएका उपलब्धिहरू उनीहरूले नै अपलोड गर्न सक्ने गरी वेभसाइटको विकास गरिएको छ । 
 
घटनाहरूको विवरण तत्कालै स्थानीय क्षेत्रबाटै हाल्न सक्ने र राहत वितरण भए नभएको समेत जानकारी दिन सकिन्छ । “कहाँ कति सामान छ, के के आवश्यक छ भनेर वेबबाटै जानकारी दिन र लिन सकिने गरी उक्त सूचना प्रणालीलाई व्यवस्थापन गरिएको छ, जसले विपद् व्यवस्थापनसँगै क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ”, खनालले थपे । उनले सबै निकायसँगको समन्वय गर्ने कडी नै वेभ हुने बताए । 
 
यसको सञ्चालनका लागि निर्देशक समितिको नेतृत्व गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेले गरेका छन् भने प्राविधिक समितिको नेतृत्व केन्द्रका प्रमुख खनालले गरेका छन् । अब आउने ठूलो विपद्मा साइटको प्रयोग गर्ने योजना रहेको र छिटै प्रदेश र स्थानीय तहमा छलफल चलाउने गृहमन्त्रालयले जनाएको छ । 
 
प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले समेत यसलाई पारित गरी अहिले कार्यान्वयनको चरणमा पुगेको हो । यसपालीको विपद्मा प्रचारप्रसार नभएको र स्थानीय तहसम्म नपुगेकाले प्रयोग गर्न भने नसकिएको जनाइएको छ । 
 
कसरी गर्छ काम ?
 
उक्त http://www.bipad.gov.np/ खोल्नेवित्तिकै ड्यासबोर्ड खुल्छ । दायाँतर्फ हेर्न प्रदेशको लोकेशन फिल्टर गर्न सकिनेछ । बायाँतर्फ साइटमा विपद् अप्सनमा गएर विवरणहरू लिन सकिन्छ । 
 
त्यसपछि विभिन्न अप्सनहरू आउँछन् । आवश्यकता अनुसारको अप्सनमा क्लिक गरे पनि विवरणहरू थाहा पाउन सकिन्छ । यसले सूचना चाँडो र एकीकृत रूपमा ल्याउन सहयोग गर्नेछ । मुख्यगरी साइटको सबैभन्दा दाहिनेपट्टी  छ वटा मुख्य अप्सनबाट धेरै कुराहरू थाहा पाउन सकिन्छ । यहाँ देश र प्रदेशको नक्सासहित जानकारी पाउन सकिन्छ । 
 
यहाँ इन्सिडेन्ट, ड्यामेज एण्ड लस, रियल टाइम, प्रोफाइल, रिस्क इन्फोलगायत अप्सन छ । इन्सिडेन्टमा क्लिक गरेपछि नेपालमा भएका घटना देख्न सकिन्छ । यसमा सयौँ वर्ष अघिदेखिका घटना फेला पार्न सकिन्छ ।  दिन, हप्ता, महिना, वर्षमा भएका विपद्का घटनाबारे जानकारी प्राप्त गर्न सकिने वेभसाइट निर्माण गर्ने संस्था युथ इनोभेशन ल्याब काठमाडौँका कार्यकारी निर्देशक प्रदीप खतिवडाले जानकारी दिए । 
 
आज अपराह्नको विवरणअनुसार गएको एक महिनामा नेपालमा ५०६ वटा विपद्का घटना भएका छन् । जसमा १०० जनाको मृत्यु भएको छ । पहिरोका १७७, बाढीका ११६, आगलागीका १०६, चट्याङका ४१ वटा घटना भएको अभिलेख छ ।
 
सोही अभिलेखमा सन् २०११ देखि अहिलेसम्म १८ हजार ४२० घटनामा १० हजार ६३० जनाको मृत्यु भएको खतिवडाले साइटको विवरणबारे बताए । “यसलाई कसरी सजिलो तरिकाबाट चलाउने भन्नेमा हामी लागेका छौँ, साइटको काम भने सबै सम्पन्न भैसक्यो”, खतिवडाले भने ।
 
यसलाई छ महिनाअघिदेखि बनाउन थालिएको हो । युथ इनोभेशन ल्याबले ३० जना इञ्जिनियरको सहयोगमा निर्माण गरेको उक्त साइट परीक्षण प्रयोगमा आइसकेको छ । अब प्रचारप्रसारसँगै प्रदेश र स्थानीय तहलाई कसरी सञ्चालन गर्ने भनेर प्रशिक्षण दिन बाँकी नै छ । सबै क्षेत्रमा जानकारी पुगेपछि भने प्रभावकारी हुने आशा राखिएको गृह मन्त्रालयले जनाएको छ । रासस