मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१५ लाख घूससहित तीन इन्जिनियर पक्राउ

१५ लाख घूससहित तीन इन्जिनियर पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियरलाई पक्राउ गरेको छ । 
 
बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरूलाई घूससहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । उनका अनुसार इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो । 
 
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइन्जिनियर उमा श्रेष्ठलाई रु ५० हजार घुससहित पक्राउ गरेको छ । शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ । आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो । 
 
यस्तै आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारीसहित तीन जनालाई पक्राउ गरेको छ ।
 
आयोगका प्रवक्ता कोइरालाका अनुसार सिनियर डिभिजनल इन्जिनियर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घूस मागी बा१झ ५२८० नंको सरकारी गाडीमा यही साउन २ गते काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो । 
 
आयोगका अनुसार निजको साथमा रु १३ लाख ३८ हजार ५०० नगद र सोही गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साहको साथबाट रु एक लाख २९ हजार १०५ शङ्कास्पद नगद फेला पारेको छ । आयोगले अधिकारी, साह र सवारी चालक खड्कालाई गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।