मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सप्तरीका बाढीपीडित भन्छन्– सरकारको राहत पाइएन

सप्तरीका बाढीपीडित भन्छन्– सरकारको राहत पाइएन


सप्तरी । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र र श्रीमती श्यामादेवी बाढीले पुरिएका भाँडाकुँडा र खाद्यान्न बचेको छ कि भन्ने आशले मझेरी खोतल्दै थिए । भुजाको भरमा जीवन धानेका उनीहरुले बचेखुचेको अन्न पकाएर बुधबारदेखि पेट भर्न थालेका छन् । 
 
मिश्र परिवारमा यो समस्या पहिलो होइन । उनीभन्छन्, “मेरो समस्या २०औँ वर्षदेखि चल्दै आएको छ । राजाको पालादेखि अहिलेसम्म समस्यैसमस्या छ, अब हामी कसरी बच्ने ?” 
 
गहभरि आँखु पार्दै उनी भन्छन्, “म बर्बात् छु बरबात्, सबै सम्पत्ति हेर्नुस्, धानचामल छैन, भोलि के खाने, अहिलेसम्म सरकारको राहत पाएको छैन ।” 
 
विडम्बना हरेक वर्ष उनी बाढी र डुबानको समस्याबाट पीडित बन्दै आएका छन् । राहत टाठाबाठाले मात्रै कुम्याउँछन् । कमजोर र गरिब परिवारले राहत पाउनै मुस्किल छ । “अरु साल पनि राहत आउँथ्यो, उनीहरुकै मान्छे राख्छन्, बाँडीचुँडी खान्छन्, हामीले केही भेट्दैनौँ”, विगतको वेदना मिसाउँदै उनी पीडा पोख्छन् । 
 
यस बस्तीमा बस्ने हरेकको पीडा त्रिभुवनको भन्दा फरक छैन । खाने र बस्नेको ठाउँ ठेगान छैन, कतिबेला बाढी आउने भन्ने चिन्ताले सताएको छ । 
 
गाउँ भएर खाँडो खोला बग्छ । अविरल वर्षाका कारण केहीमाथि कटान गरेर खाँडो खोला बस्तीतर्फ सोझिएर क्षणभरमै बस्तीमा हावाकावा बनायो । खेतीयोग्य जमिन बाडीले पुरेको छ । धानको बीउ सखाप पारेको छ ।
 
सप्तरीमा मानवीय क्षति नभए पनि बस्ती र खेतीबालीमा ठूलो क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार सो गाउँमा चार हजार ५०० घरपरिवार प्रभावित भएको छ । उनले राहत वितरणको काम जारी रहेको बताउँदै छुटेका भए खोजेर वितरण गर्ने बताए । 
 
बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत जम्बो टोलीले हेलिकप्टरबाट अवलोकन गरी फकिए । तर, पीडितले राहत पाएनन् । 
 
सप्तरीको यो प्रतिनिधि समस्यामात्रै हो । तराईमा बाढी र डुबान पीडितको यथार्थ चित्रण हो । रौतहट, धनुुषा, सिराहालगायत जिल्लामा योभन्दा बढी पीडा छ । बाढी र डुबानको पीडा कम भए पनि घरवारविहीन भएका र खाने अन्न नभएका सर्वसाधारणको अवस्था भने अझै चुनौतीपूर्ण छ । उनीहरु राहतको पर्खाइमा छन् । कतिपय स्थानमा राहत वितरणको काम तीव्र छ भने कतिपय ठाउँमा पुुग्न सकेको छैन । 
 
स्थानीय गाउँपालिकाको सक्रियतामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय समुदाय खाँडो खोलाले भत्काएको स्थानमा अस्थायी ड्याम बनाउनमा व्यस्त छन् । यहाँका नदी, खोलानालाले धेरै ठाउँमा भत्काएकाले स्थानीयका प्रयास सम्भव हुने देखिँदैन । लामो दूरीका सडक सञ्जाल विच्छेद भएकाले त्यसको पुनःनिर्माण टड्कारो आवश्यकता छ । 
 
प्रदेश नं २ का आठ जिल्लामा ३२ जनाको मृत्यु भएको छ । रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । प्रदेश नं २ मा एक लाख १८ हजार घरका सात लाख व्यक्ति प्रभावित छन् । तीन हजार ६५० घरमा पूर्ण क्षति पुगेको छ । लालबकैया, कमला र वाग्मतीलगायत साना खहरे खोलाले ठूलो क्षति पु¥याएको छ । 
 
मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको हरेक जिल्लामा तत्कालका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको र मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले राहत दिने निर्णय गरेको जानकारी दिए । राहत वितरणको संयन्त्र नहुँदा वास्तविक पीडितले राहत नपाएको गुनासो छ । 
 
गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको छ, २९ हराइरहेका छन् भने ४१ घाइते भएका छन् । विपत्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।