मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार


बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
 
उनका अनुसार इलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका चार थुनुवामध्ये तीन जना शौचालयको भेन्टिलेसनको ग्रिल तोडेर भागेका हुन् । फरार भएकाहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ ।
 
“चार जनामध्ये कर्तव्य ज्यान मुद्दाका आरोपी त्यहीँ छन्”, प्रहरी उपरीक्षक वलीले भने, “घटनालगत्तै म आफैँ त्यहाँ पुगेर हेर्दा भेन्टिलेसनको ग्रिल भित्रपट्टि कपडाले छोपेर राखेको अवस्थामा भेटियो । राम्रोसँग जडान नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको पाइएको छ ।”
 
तेइस जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन ६ दिनको बिदा लिएर उपचारका लागि काठमाडाँै गएकै दिन शनिबार राति उनीहरु फरार भएका हुन् ।
 
प्रहरी निरीक्षक यादव बिदामा रहेपछि कार्यालयको जिम्मेवारी प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले सम्हालेका थिए । उनीहरु भागेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमबाट खोजी जारी राखे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।