मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदालतले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
 
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै दायर गरेका तीन निवेदनको पहिलो सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । 
 
आदेशमा भनिएको छ, ‘फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको विषय खुल्ने कुनै कागजात भए सोसमेत लिई छलफलका लागि यही असार ३० मा उपस्थिति हुनु र छलफलको टुङ्गो नलागेसम्म मन्त्रिपरिषद्को यही असार १८ को निर्णय कार्यान्वयन नगर्नू ।’ 
 
अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध मङ्गलबार तीन रिट निवेदन दायर गरिएका थिए । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । 
 
रिटमा मन्त्रिपरिषद्को सो निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएकाले त्यस्तो आदेश दिनु नपर्ने आधार र कारण भए महान्यायाधीवक्ताको कार्यालयमार्फत् १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश गरिएको छ । 
 
०७६ असार २ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको राजपत्रमा प्रकाशित सूचनाविपरीत मन्त्रिपरिषद्को निर्णय आएको भन्दै आदेशमा दुवै पक्षसँग छलफल गर्नुपर्ने भन्दै असार ३० गते बोलाइएको छ , छलफलबाट टुंगो नलागेसम्म विषादी परीक्षण नगर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ ।