मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेना र प्रहरीको श्रीमती संघ खारेज गर्न सांसद्को माग

सेना र प्रहरीको श्रीमती संघ खारेज गर्न सांसद्को माग


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् ।
 
आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी संस्थाहरु कायमै रहनु दुखद भएको बताइन् ।
 
‘श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्था अन्त्य गरेर आएको भन्दै उनले हामीले अन्त्य गरेका हौं । राष्ट्रप्रमुख शासन प्रमुखसँग सम्बन्ध गाँसेवापत महारानी हुने, उनका छोराछोरी युवराज युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका हौं’ सांसद भुसालले भनिन् ‘अहिले पनि यो देशमा महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान छ ।’
 
अहिले पनि सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने उनले बताइन् । 
 
‘हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थामा बनेका संस्थाहरु राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको छ, जनताले निर्वाचित भएका प्रतिनिधि शासकमा बदलिएका छन् । राष्ट्रप्रमुख सरकार प्रमुख बनिरहेका छन् । राज्यका महत्वपूर्ण निकायहरु सेना प्रहरी र निजामती प्रशासनमा अहिले पनि त्यसको धङधङी बाँकी छ’ भुसालले भनिन् ।
 
त्यस्ता श्रीमती संघहरु राज्यकै बजेटबाट सञ्चालन भइरहेको भन्दै उनले यस्तो प्रचलन गणतन्त्रसँग मेल नखाने बताइन् । उनले भनिन्, ‘गणतन्त्रसँग मेल नखाने, राज्यको स्रोत साधनबाट परिचालन हुने यी सामन्ती पितृसत्तावादी संस्थाको यथासिघ्र खारेज गरियोस् ।’