मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सामाजिक सद्भाव बिथोल्नेलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

सामाजिक सद्भाव बिथोल्नेलाई कारबाही हुन्छ : गृहमन्त्री थापा


चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउन सक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारबाही गर्नुपर्ने बताएका छन् । 
 
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७५औँ समूहको आइतबार दीक्षान्त समारोहमा उनले यस अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारबाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिएका छन् । 
 
दीक्षित भई जाने प्रहरीको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको बताउँदै उनले भने, “यो जिम्मेवारी वहनका क्रममा हुने सानो भूल वा लापरबाही सिङ्गो प्रहरी संगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ ।” 
 
प्रहरी कुनै पनि घटनाको पहिलो साक्षी अनुसन्धानकर्ता र न्यायाधीश भएको भन्दै थापाले प्रहरीले गरेका हरेक क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चितता हुने र कुनै लापरबाही गरेमा अभियुक्तले छूट पाउने अवस्था हुने बताए । 
देशको अबको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको भन्दै उनले व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई आफ्नो इमान्दारी, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर परास्त गर्न निर्देशन दिए । 
 
महिला, दलित एवं समाजका सीमान्तकृत समुदायप्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने गरेको भन्दै उनले यस्ता कार्यलाई समाजबाट निरुत्साहित गर्न र पीडकलाई दण्डित गर्न दीक्षित भई जाने प्रहरीको भूमिका महत्वपूर्ण रहने बताए । 
 
उनले भने, “यस्ता अमानवीय क्रियाकलापलाई समाजमा उन्मुक्ति नदिने प्रतिबद्धताका साथ परिचालन हुन निर्देशन गर्दछु ।”
 
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रभाव र प्रलोभनले व्यावसायिक जीवन धूमिल पार्ने हुँदा यसतर्फ सचेत रहन निर्देशन दिए । 
 
सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक पुष्कर कार्कीले बफादारीका साथ सङ्गठनको गरीमा बढाउन दीक्षित भई जानलागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । 
 
कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिए । 
 
हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन् । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थी एवं प्रशिक्षकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।