मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प

क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प


काठमाडौं । दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन् । मानिसहरूमा भूकम्पका त्रास कायमै छ ।
 
उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो । अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन् ।
 
अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशकयताकै शक्तिशाली मानिएको छ । भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ ।
 
रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको स्थानीय भूगर्भविद प्राध्यापक जन रन्डलले बताए । धेरै जनघनत्व भएका क्षेत्रभन्दा निकै पर केन्द्रविन्दु हुनु भाग्यशाली भएको उनले बताए ।
 
उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन् ।
 
क्यालिफोर्नियाको गभर्नरको आपतकालीन कार्यालयका प्रवक्ता ब्र्याड एलेक्जाण्डरले रिजक्रेस्ट क्षेत्रमा खोज तथा उद्धारका टोली खटाइएको बताए । यो अन्त्य नहुन सक्छ । सो क्षेत्रमा थप भूकम्पहरू आउन सक्छ त्यसैले त्यहाँ भएका सबैले सजग रहनु जरूरी छ, उनले भने ।
 
नगरका मेय पेग्गी ब्रिडेनले सीएनएनसँग कुरा गर्दै त्यहाँ आपतकालीन स्थितिको घोषणा गरिएको बताइन् । हाम्रो निम्ति भूकम्प त नौलो होइन । तर, यति ठूलो भूकम्प बेहोर्न भने बानी छैन, उनले भनिन् ।
 
रिजक्रेस्ट निवासी स्टीभन साइक्स भूकम्पका बेला नुहाइरहेको बताउँछन् । पूरै घर बेस्सरी हल्लियो अनि हामी बाहिर सडकतिर भाग्यौँ । शायद पन्ध्र बीस सेकेन्डसम्म यस्तो भयो । निकै डर लाग्यो, उनले बीबीसीलाई बताए ।
 
अरू भूकम्प आउलान् कि भनेर हामी तयारी गर्दैछौँ । सामानहरू भूइँतलामा ओसार्दैछौँ अनि ग्यास लाइन बन्द गरेका छौँ । राति हामी बाहिरै सुत्छौँ होला, उनले भने ।
 
सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो।साना परकम्प आइरहेका छन्।
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन् । अमेरिकी भूगर्भ निकाय युएसजीएसका भूकम्पविद लुसी जोन्सले कैयौँ परकम्प आउन सक्ने बताइन् । तीमध्ये केही शक्तिशाली हुन सक्ने उनले बताइन् ।
 
करिब २८ हजार जनसङ्ख्या भएको रिजक्रेस्ट नगरका एकजनाले त्यहाँको एउटा किनमेल केन्द्रमा भूकम्पका कारण सबै सामान भूइँमा झरेको फोटो ट्वीट गरेका छन् । बीबीसी