मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा पहिलो नेपाली स्वाद पस्किने रेस्टुँरा

ह्युस्टनमा पहिलो नेपाली स्वाद पस्किने रेस्टुँरा


ह्युस्टन (टेक्सस) । टेक्ससको सबैभन्दा ठूलो सहर ह्युस्टनमा पहिलोचोटि नेपाली परिकारहरु पस्किने रेस्टुँरा संचालन भएको छ । सो रेस्टुँराको नाम नै काठमाण्डौ करी एण्ड बार हुनाले नेपाली स्वादका पारखीहरुलाई उद्घाटनको पहिलो दिनमै यसले आकर्षण गर्यो । 
 
देसी समुदायको उल्लेख्य व्यापार व्यवसाय रहेको ह्युस्टनको मुटु मानिने हिलक्रफ्टमा खुलेको काठमाण्डौ करी एण्ड बारमा सेकुवा, छोयला, मम, भुटन, आलुको अचार, साँधेको भटमास जस्ता स्न्याक्स उपलब्ध छ । त्यसैगरी काठमाण्डौ थालीमा दालभात मनपराउनेलाई बासमती चामलको भात, कालो दाल, तरकारी, मूलाको अचार, रायो साग र खसी वा कुखुराको मासु पाइन्छ । यसबाहेक भारतीय र पाकिस्तानी स्वादका परिकार पनि राखिएको छ । 
 
शनिवार साँझ यो पंक्तिकार त्यहाँ पुग्दा ८/ १० नेपाली परिवार खानाको स्वाद लिराखेका थिए । रेस्टुँरामा सुमधुर मंगल धून बजिरहेको थियो । काठमाण्डौ र नेपाल चिनाउने सजावटले ग्राहकलाई स्वागत गर्दै थियो । 
 
"ह्युस्टनमा आज पहिलोचोटि रेस्टुँरामा आफ्नो स्वादको खाना खाइयो । हामी सन्तुष्ट छौं, खुशी छौं ।" – परिवारसहित खाना खान रेस्टुँरामा आएका हेम कार्कीले हिमालयखबरलाई बताए । 
 
जनक थापाको प्रतिक्रिया पनि उत्साहप्रद थियो । सपरिवार त्यहाँ देखिएका उनले भने – अब ह्युस्टनमा बेलाबेलामा हामी जम्मा हुने र नेपाली स्वादको खाना खाने एउटा राम्रो ठाउँ भेटियो । 
 
ह्युस्टनका चारजना सक्रिय समाजसेवी दिनकर अमात्य, रामकॣष्ण सापकोटा, डा. विष्णु नेपाल र बाबुराम ज्ञवाली मिलेर काठमाण्डौ  करी एण्ड बार खोलेका हुन् । 
 
रेस्टुँरा व्यवसायमा लामो अनुभव बोकेका रामकॢष्ण यसअघि विभिन्न भारतीय रेस्टुँरामा काम गरेर आफ्नो दक्षता देखाइसकेका व्यवसायी हुन् । ६/ ७ वर्षदेखि उनीभित्र नेपाली रेस्टुँरा खोल्ने उग्र चाहना थियो । अहिले आएर अरु तीनजना सहयात्रीको सहयोगमा आफ्नो सपना पूरा भएकोमा सापकोटा खुशी देखिन्छन् । 
 
त्यसैगरी बाबुराम ज्ञवाली पनि  ह्युस्टनमा यो व्यवसायमा चिनिएका नेपाली हुन् । दिनकर अमात्य र डा. नेपाल यहाँको सामजिक क्षेत्रमा प्रतिष्ठित अभियन्ता मानिन्छन् । यी चारजनाको अटुट सक्रिय सहयात्रामा काठमाण्डौ करी एण्ड बारको सफलता उभिएको छ ।