विचार / ब्लग

ठूलो हुन खोजेको सानु मान्छे

540 पटक पढिएको

– नम्रता गुरागाईं

26th Jun 2019, Wednesday | २०७६ आषाढ ११, बुधवार १०:०९
म पनि “इचुल जाने, नाइको इचुल जाने । नाइको साथीसँग खेल्ने, मलाइ इचुल पुर्याइदिनु, म यो घरमा बत्तिन?” आदि इत्यादी भन्दै छोराले लडिबडी गरेर रोएको हिजै त हो । उ दुइ वर्ष पुगेर तीन लागेको थियो दिदीलाइ प्रिस्कूल पठाउँदा । छोरीलाइ पहिलोपल्ट काखबाट पर सारेर फर्केपछि आमाका आँखापनि कहाँ ओभाना थिए र ! आफुभन्दा सानो काखमा भएपछि जिम्मेवार त हुनै पर्यो । फकाएर बल्लबल्ल छोरालाइ सुताएँ । तर आफु सुत्न सकिन । मायाँको एउटा डोरो बाहिर छ, भित्र कहाँ आँखा जोडिनु र ?
 
छोरीको पर्खाइका तीन घण्टाहरु मलाइ तीन महिनाभन्दा कम भएनन । सधैँ बुकुर्सी मारेर कुदने मेरो समय आज किन मसँगै टाँसिएर बसेको होला ? घरीघरी आफैलाइ प्रश्न गर्थे । भित्तामा झुन्डिएको घडी हेर्दा हेर्दा टटाइसकेका आँखामा अब कुनै उत्साह बाँकी थिएन । तैपनि मन घडीभन्दा छिटोछिटो हिडिरहेको थियो ।
 
छोरो निदाइरहेकोले बार्दलीबाट छोरीको स्कूल हेरिरहें । बच्चाहरु भित्रबाट निस्किन थालेपछि मपनि छोरालाइ उठाएर लिएर गएँ । तीन घन्टापछि छोरीलाइ देख्न पाउनु मेरो लागि सानो कुरा थिएन । कत्रो उत्साह बोकेर स्कूल के पुगेकि मात्र थिएँ मलाइ देख्ने वित्तिकै उसले भनि–“किन लिन आउनुभएको ? म त स्कूलमै बस्छु । सायद उस्तै उमेरका साथी र धेरै खेल्ने कुरा देखेर उसले त्यो भनेकी होला । फकाएर घर लिएर आएँ । त्यो दिनदेखि मैले भाइलाइ केही सिकाउन परेन । दिदीले स्कूलमा जे सिकी, घरमा आएर भटटट गरिहाल्ने भएकीले भाइले दिदीले जानेको सबैजसो कुरा सिक्यो घरै बसीबसी ।
 
बित्ने समय त बितिरहन्छ । एकदिन, दुइदिन भन्दाभन्दै उ पनि प्रिस्कूल जाने दिन आयो । पहिलो जाँदाकोजस्तो पीर नभएपनि माँया कहाँ कम हुने रहेछ र ! दिनभरीको एक मात्र बोल्ने साथी छोरो, उ पनि नहुँदा झन समय कटाउन सजिलो भएन । जति समयलाइ भएपनि काख रित्तो पारेर आफनो सन्तान अरुलाइ दिनु साँच्चै कठिन हुँदोरहेछ आमालाइ । आँखा उतै स्कुलतिरै तानिरहे । उ घर नआउन्जेल केही गर्ने मन लागेन । घरमा हामीले नेपालीमात्र बोल्ने हुनाले अंग्रेजीका केही कुरा कार्टुन हेरेर र केही दिदीबाट सिकेको थियो । तर पुरा जानेको थिएन उसले ।
 
उसकी शिक्षिकाले केही सोधे के भन्यो होला? सुसु, आची आए के भन्यो होला? लुगैमा पो बितायो कि ? आमा मन पिरोलिरहयो । छुटटी हुनु अगाडि नै पुगेँ । हास्दै हास्दै बाहिर आयो । भेटने वित्तिकै उसलाइ सबैतिर छामे धन्न केही विग्रेको रहेन छ । “कति गाडी, ट्रक मामु ! त्यो बब द विल्डरको गाडी मलाइपनि किनिदिनु ल ! “नबिसाइ भन्यो । ल तर गाडी किनेपछि मामुलाइ छोडेर नजाउ है के भनेकी मात्र थिए, “स्कूल गएर थुरो मान्छे हुनुपर्छ नि त !” जवाफ फर्कायो । आफैले सिकाएको कुरा ठिक समयमा फिर्ता दिएर मलाइ नाजबाफ बनायो छोराले । हो त हगी कस्तो बुददु मपनि, आफैले भनेको कुरालाइ सुधारें ।
 
धेरै अगाडिदेखि सिडनी नेब्रास्का छोडने कुरा भइरहेको थियो । साँच्चै सर्नु पर्ने बेलामा त छोराले प्रिस्कूल सकेकै थिएन । धुमधामले छोरीको ग्रयाजुएसन मनाएको देखिराखेकी आमा छोराकोपनि त्यतिकै हेर्न चाहन्थी तर परिस्थितीको दाश हामीले त्यो ठाउँ छोडनै पर्ने भयो मनको एक कुनो थोरै ओसिलो पारेर ।
 
सर्ने दिन आयो, सर्यौ । बसिरहको ठाउँ छोडदा बाटाभरी केही छोडिएजस्तो, केही विर्सिएजस्तो र केही हराएजस्तो भइरहयो । समयमै डेनभर एयरपोर्ट पुग्यौ । नेब्रास्कालाइ मात्र नभएर डेनभरलाइसमेत हात हल्लाएर नयाँ ठाउँ नर्थ क्यारोलाइना लागि पखेटा हाल्यौं ।
 
मान्छे नयाँ, ठाउँ नयाँ, समाज नयाँ, सबै कुरासँग तुरुन्तै मिल्न सजिलो थिएन नर्थ क्यारोलाइनामा । छोरीको १ कक्षा नसकिसकेकोले उसलाइ भर्ना गर्ने स्कूल खोज्नु अघि नै बस्ने ठाउँको टुंगो लाग्नु पर्नेरहेछ । सोही अनुसार एपार्टमेन्ट खोजेर तीन महिनाको लागि छोरीलाइ स्कूल भर्ना गर्यौ । छोरालाइ नयाँ भर्नाको समय आइनसकेकोले फेरी आमा छोरा घरमा दिनभरी हुने भयौं । “म मेरो प्रीस्कूल जान्छु नी मामु ! तपाइ यहाँ बसिरहनु, म मेरा साथीसँग खेलेर आउछुँ ! मेरा मीसहरुलाइ भेटेर आउँछु नी !” छोरो एकोहोरो भनिरहन्थ्यो । म उसलाइ दिदीसँगै नयाँ स्कूलमा जाने सपना देखाउँथे । उ केही समय खुशी हुन्थ्यो, फेरी एकछिनमा उही कुरा दोहोरयाइरहन्थ्यो ।          
 
डेरामा बसेर वालुवामा पानी खन्याएजस्तो कति खन्याइरहनु बरु माटैमा पानी खन्याउँ भन्ने लाग्यो । घर हेर्दै जाँदा एलिमेन्ट्री स्कूल नजिकैको मन पर्यो । छोराछोरीलाइ पठाउने स्कूलपनि नजिकै र घरपनि आफनो बजेटभित्रै परेकोले त्यही घरलाइ टुंगो गरिदियौं । बासको टुंगो लागेपछि घरछेउको त्यही एलिमेन्ट्र्रीमा कुरा गर्न गयौं । छोराछोरीले भर्ना पाउने भए, खुशी लाग्यो । एक महिनापछि स्कूलको ओपन हाउसमा राइजिंग किन्डरग्राटेनका अबिभाबकलाइ बोलाए । छोराछोरी  दुबैलाइ लिएर गयौं । उस्तै उमेरका अरु केटाकेटी देखेपछि उनिहरु मख्ख परिहाले । दुबैलाइ भर्ना गरिदियौं ।
 
बन्दै गरेको घर तयार भयो, सरियो । छोराछोरीको स्कूलपनि टुंगो लाग्यो । सबैकुरा समयमै भयो, खुशी लाग्यो । घर सरेको दुइ हप्तापछि स्कूल लाग्ने रहेछ । छोरो पाँच वर्ष पुगेकै थिएन । जन्मदिनभन्दा ४ दिन अगाडि छोरोको १३ वर्ष लामो औपचारिक बिद्यालयको शिक्षाको शुभारम्भ गर्नुपर्ने चाहिने सबैकुरा किनेर ल्याइदिएँ । एकदिन भन्दा दुइदिन भन्दा जानेदिन आयो । प्लास्टिकको ब्यागमा उसलाइ स्कूलमा चाहिने कापी, कलम अघिल्लै दिन तयार पारिसकेको थियो । सोमबार बिहान ब्रेकफास्ट खाएर सबैकुरा हालेको ब्यागप्याक बोकेर घर बाहिर निस्कियो छोरो । “कति ढिलो गरेको नानी !” दिदीलाइ कराइपनिरहेको थियो उ । दिदी बाहिर निस्किएपछि उसको हात समातेर अघि लाग्यो । त्यो देखेर आमा मन चिमोटिरहयो । बाटाभरी मलाइभन्दा धेरै दिदीलाइ सोध्छ, मलाइभन्दा धेरै दिदीलाइ खोज्छ, कस्तो अचम्म ! सायद उसैमाथि भरोसा धेरै भएर होला । दिदीपनि भाइलाइ कसरी हुन्छ खुशी बनाएरै स्कूल पुरयाउन चाहन्छे । म उनिहरुको पछिपछि सबै कुरा सुनिरहेकै छु । दिदीसगैं जाने भएकोले मलाइभन्दा धेरै दिदीलाइ बिस्वास गरेंझै लाग्छ ।
 
हिडेको पाँच मिनेटमा स्कूल आइहाल्यो । पहिलो दिन भएकाले दिदीले हामीलाइ भाइको कक्षाकोठासम्म पुरयाइ र हात हल्लाइ । म भाइको कक्षाकोठाभित्र छिरें । छिर्नासाथ उसको नाम भएको कार्ड देखाउदै शिक्षिका आइन । बोकेर ल्याएको सबै सामान शिक्षिकाले उसैलाइ राख्न लगाइन । मजस्ता अरुपनि आमाहरु आफनो बच्चाको पहिलो दिनको स्कूल बढो चाख मानेर हेरिरहेका थिए । विद्यार्थीहरुले बोकेरे ल्याएको सामान राखिसकेपछि आमाहरुतिर फर्केर शिक्षिकाले “नो वरी,  हि विल बि फाइन !” भनिन् । सबैजना बाहिरिए, मपनि खुशी मिसिएको आँशुले आँखाको डिल भर्दै बाहिरिएँ ।            
 
छोरालाइ समेत स्कूल हालिसकेपछि घर त काहिँ नभएको शुन्य भयो । आजैदेखि खाइराखेको जागिर छुटेजस्तो, चलिरहको फ्याक्ट्री बन्द भएजस्तो भयो । आफूलाइ साच्चैको बेकामे महसुस गरें । आजको ७ घण्टा कसरी एक्लै काटने होला ! कठिन लाग्यो । उनिहरु नआउन्जेलसम्म आँखा स्कूलतिर तानिइरहे । केही नलागेर समय कटाउनैका लागि भएपनि स्कूल छुटटी हुनु अघि नै लिन पुगें । मजस्ता अरुपनि आमाहरु अघि नै जम्मा भैसकेका रहेछन ।
 
छुटटी भएपछि शिक्षिकाहरु अघिअघि उनिहरु पछिपछि लागेर बाहिर आए । छोराले परैबाट मलाइ देखेछ, ँदौडदै आयो । एकछिन अंगालोमा बेरें । भोलीचाहिं मामुसँगै घरमा बस है के भनेकी मात्र थिएँ, “होइन आउनुपर्छ ! मेरो टिचर मिस मिगेहीले भोली हामीलाइ गेम खेलाउने अरे !” तुरुन्तै जबाफ दियो । एकछिनमा दिदीपनि आइ । बाटाभरी दिनभरी के के गरेको सबै सबै सुनाए । “आज एकछिन हामी सबै सुत्यौं नी मामु !” किन्डरग्राटेनको कुरा, “आज हामीले टेक्नोलोजीको प्रोजेक्ट गर्यौं नी मामु !” दुइ कक्षाको कुरा सुन्दै सुन्दै घर आएँ । १३ वर्ष लामो विद्यालयको शिक्षाका लागि शुरु भएको उनिहरुको यात्रालाइ साथ दिनकै लागि मैले मेरो तन खन्याएँ, मन खन्याएँ । करेसाका विरुवा गोडेजस्तो उनिहरुको दिमाग गोडदै गएं । अझै गोडिरहेकै छु ।
 
अमेरिका आएको ९ वर्षपछि फेरी एक्लै बस्न साच्चै गाह्रो लाग्यो । आफनो विगतलाइ फर्केर हेरें । अझै बाँकी केही छ कि भनेर आफना पढाइका दिनहरुको पाना पल्टाउँदै गएं । अहँ... १३ वर्ष अघि सम्झनाको हार्डडिक्सबाट पढाइका महत्वपुर्ण सबैकुरा डिलिट भएर गएछन, केही भेटिन ।
 
ओ हो.... म त समयबाट धेरै छोडिइसकेंछु । घरबाट बाहिर गएर केही गर्न सक्छु कि भनेको त, मेरी आमै ! ममा त छोराछोरी हुर्काउन बाहेक अरु केही सीप पो रहेनछ । हे फसाद....अब के गर्ने होला त !  केही थाहा छैन । जे कामका लागिपनि शुरु गर्नुअघि त्यसको थोरबहुत अनुभब चाहिने रहेछ, आफु परें लन्ठु । केही नभए केटाकेटी हेर्न त आउँछ नी मलाइ ! कि त्यही काम समाऔं त ? थोरै आशा पलायो । मनमा कुरा खेल्न थाले । अहँ ! हुँदै हुदैन । आफुले त कत्रो नाटक मंचन गर्नुपर्यो आफना त्यतिका बनाउन, फेरी त्यही नाटक दोहोरयाउने ? मनले मान्दै मानेन । नगरेर के गर्ने त ? त्योपनि थाहा छैन । तै बरु पढनै पो सकिन्छ कि ! झिनु आशा पलायो । पढने उपाय खोज्न थालें । कहाँ सजिलो हुनु र ! सबैकुरा अप्ठयारा नै छन । पढन जाने निधो गरेर अप्ठयारैभित्र सजिलो खोज्ने प्रयास गर्न थालें । पढेको कुरा नबुझेर कहिलेकाहिं आफनो कपाल आफै उखेलुजस्तो नभएको होइन तर प्रयास गर्न भने पटक्कै छोडिन ।
 
आमापनि पढछु भन्न थालेकाले फुर्सद निकाल्न साह्रै मुस्किल पर्न थाल्यो । यस्तैमा कहिलेकाहिँ छोराछोरीको स्कूलमा स्वयसेवक गरिदिन अनुरोधपनि आउन थाल्यो । छोराछोरीले के गर्छन, कसो गर्छन स्कूलमा गएर हेर्नकै लागिपनि सहयोग मागेको बेला जाने अबसर गुमाइन । सकेसम्म सबैमा जान थालें । सानाहरु एकपछि अर्को कक्षा चढदै गए । एकपल्ट छोराको एक कक्षाको एउटा कार्यक्रममा जानु पर्ने र आफनो कलेज जानुपर्ने एकैदिन परेछ । दुइटै कुरा मेरालागि उत्तिकै महत्वपुर्ण थिए । एउटामा जाँदा अर्को छुटने भयो । एसो गम खाएँ...छोराका कार्यक्रम त म अरु ११ वर्ष हेर्न पाउँछु तर मेरो आजको कक्षा छुटयो भने भोली मलाइ साह्रै गाह्रो हुन्छ होमवर्क बुझाउन ।
 
म आज कलेजनै जानुपर्छ भनेर समस्याको विट मारें । मजस्तै अर्की आमालाइ सम्भब भएमा भिडियो रेकर्ड गरिदिन अनुरोध गरें । धेरैजसो म नै स्कूल गइरहने भएकीले कार्यक्रम गर्ने स्टेजबाट मलाइ उसले सबैतिर खोजेछ । सबै साथीहरुका आमाबुवा आएका तर आफनो भन्ने कोही नदेख्दा उसले साह्रै चित्त दुखाएछ । छुटटी हुँदा त लिन पुगिसकेकी थिएँ । मलाइ भेट्नासाथ “अघि किन नआउनुभएको ? अब मेरो प्रोग्राम कहिले देख्न पाउनु हुन्छ ?” आँखाभरी आँशु पार्दै भन्यो । सानो मान्छेको छिपिएका कुराले मर्ममै पुग्नेगरी घोच्यो । हुने भए म अघि गएको समयलाइ फिर्ता गरेर ल्याउने थिएं, त्यति धेरै पछुतो लाग्यो । उसलाइ सम्झाएं । केही समयपछि उसले त विर्सिहाल्यो तर मलाइ त्यो दिन किन छुटाएछु, अहिलेसम्म पछुतो लागिरहन्छ ।   
 
घरमा स्कूल जाने केटाकेटी त्यसमाथि आमापनि ब्यस्त हुनु भनेको समय थाहै नपाइ जानुरहेछ । सानाहरु कहिले फिल्ड डे भन्छन, कहिले क्वीज भन्छन, कहिले प्रोजेक्ट भन्छन । दिदीले पढिसकेको कक्षामा भाइ जाने भएकाले स्कूलमा सिक्न बांकी कुरा दिदीबाट सिक्दै गयो । शनिवारको दिन मैले नेपाली पढाउन समेत लिएर जान छोडिन । हेर्दाहेर्दै दिदी एलिमेन्ट्री सकेर मिडिल स्कूल गइ । उ एलिमेल्ट्रीको चार कक्षामा  गयो । दिदीको स्कूल र जानेसमय फरक परेकोले पहिलोपल्ट उ स्कूल जानका लागि एक्लै भयो । पुरयाउने म नै भएपनि दिदीको अभाब खटकिरहयो केहीदिन उसलाइ । यस्तैमा मैले सानो जागिर भेटें । अमेरिकी बसाइमा कोशैा टाढा भएपनि पहिलो पल्ट बल्लबल्ल भेटेका जागिर खान्न भन्ने कुरै भएन । झन धेरै ब्यस्त भएँ ।      
 
आजभन्दा भोलीभन्दा छोरोपनि एलिमेन्ट्र्री अर्थात पाँच कक्षा सकेर मिडिल स्कूल जाने भएछ । ओहो.. एलिमेन्ट्रीबाट ग्रयाजुएट हुने छोरो पनि ! अचम्म लागेर आयो । उसको तोतेबोली गएको मात्र थियो, हेर्दाहेर्दै उ मिडिल स्कूल जान थाल्यो । मिडिल स्कूलमा एलिमेन्ट्र्रीमाजस्तो शिक्षक शिक्षिकाहरुसँग कहाँ नजिकको नाता हुँदोरहेछ र ! न सहयोगका लागि बोलाउछन, न त कार्यक्रमका लागि नै । सायद छोराछोरी ठुला भएको छनक यो नै हो की ! शिक्षक शिक्षिकाहरुको नाम भने लिइरहन्थे उनिहरु, कहिले रिस उठेर लिन्थे त कहिले खुशी भएर लिन्थे । त्यही भएर सबैको नामचाहिँ कन्ठ हुने तर मान्छे नभेटिने, नचिनिने । यस्तैमा हामीपनि बानी पर्दै गयौं । पढाइको अलाबा सकर(फुटबल) र भलिबल खेल्ने उनिहरुलाइ समयमा पुरयाउन र लिन पुग्नु अर्को गाह्रो थियो तर समय बग्दै गयो, हामीपनि हेलिदै गयौं ।
 
 वर्षहरु विते, कक्षाहरु नयाँनयाँ हुँदै गए । समय फेरियो । समयसँगै छोराको आनीबानी पनि फेरिदै गयो । आफुले भनेको नभए रोइहाल्ने बानी थाहै नपाइ हराएर तर्क अघि सार्न भएछ । हेर्दाहेर्दै आज उ छ देखी आठ कक्षासम्मका सबै खुटकिलाहरु उक्लीहोरी माथि उभिएर मिडिल स्कूल सकेको अर्थात आठ कक्षा सकेको खुशियाली मनाइरहेछ । मपनि उसैसँग पढेका अनौपचारिक शिक्षाका खुटकिलाहरु चढदै चढदै माथिनै पुगेंजस्तै भएकी छु । खै किन हो सानो खुशीले नै ठुलो सन्तुष्टी दिएको अनुभब हुदोरहेछ आमालाइ । थाहा छैन माध्यामिक शिक्षाले उसलाइ कति जिम्मेबारी बनाउने हो भोली तर केही नयां कुरा भने पक्कैपनि सिकाउला । अब चित्त दुख्दा भरिन खोजेका आँखाका डिलहरु भित्रभित्रै सुकाउनु सिक्नुपर्छ उसले । मन भक्कानिएर टाउको राख्ने ठाउँ नभेटदा दुखाइ भित्रभित्रै पचाउन सिक्नुपर्छ उसले । बाटो कहाँ सधै उस्तै सजिलो हुन्छ र ! अप्ठयाराभित्रै सजिलो खोज्न सिक्नुपर्छ उसले ।        
 
माध्यामिक शिक्षाको ढोकाको संघारमा उभिएको बेला तिमीलाइ धेरै धेरै शुभकामना छोरो ! ढोका खोलेर भित्र जाउ । सम्भाबनाका अरु धेरै ढोकाहरु खुल्नेछन । धेरै सहयोग त गर्न सक्दिन होला तर जति गर्छु मनको फेदैबाट गर्छु । शिक्षाको उज्यालोले आफनो भाग्य कोर्ने त तिमी आफैले हो, म रेखा तान्न भने पक्कै सिकाउँछु ।
 
(नर्थ क्यारोलाइना, अमेरिका)