मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अविरल वर्षाले सयौँ घर डुबानमा

अविरल वर्षाले सयौँ घर डुबानमा


नेपालगन्ज । शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।
 
दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । 
 
सयभन्दा बढी घर डुबेका र झण्डै एक दर्जन घर भत्किएका अध्यक्ष शाहले जानकारी दिए । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको उनले बताए । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । 
 
घरहरुमा पानी पसेपछि गाउँपालिकाका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
 
नेपालगञ्जमा १०० दशमलव दुई मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिए । अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरवारीटोल, गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्र डुबानमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताए ।
 
उनका अनुसार डुबान भएका स्थानमा पानीको बहाब खोल्न महानगरका कर्मचारी स्काभेटरसहित तैनाथ छन् । नेपालगञ्जलाई डुबानमुक्त बनाउन यो वर्ष अधिकांश सडक र नाली निर्माण गरिए पनि समस्या भने कायमै रहेको छ । गतवर्षको तुलनामा यो वर्ष कम डुबान हुने प्रवक्ता रिजालको दाबी छ ।
 
सतर्कता अपनाउन अपिल
 
लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले आज एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । चुरेबाट सुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको छ । राष्ट्रिय आपत्कालीन उद्धार केन्द्रले उपमहानगरका होचा स्थानहरुमा पनि डुबान हुनसक्नेतर्फ सचेत बनाएको छ ।