मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मनहरीमा फैलियो झाडाबान्ताको प्रकोप

मनहरीमा फैलियो झाडाबान्ताको प्रकोप


हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक हप्तादेखि झाडाबान्ता फैलिएको हो ।
 
वडा नम्बर ९ मा एक साताअघि केही व्यक्तिलाई सामान्य पखालाको समस्या देखिएको र त्यसको केही समयपछि ८ र ९ नम्बर वडामा क्रमिक रुपमा बिरामीको सङ्ख्या वृद्धि भएपछि प्रकोपको रुप लिएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीका बरिष्ठ स्वास्थ्य सहायक शिवराम बानियाँले बताए । 
 
हाल दैनिक रुपमा २५ जनाभन्दा बढी बिरामी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी आउने गरेको उनले जानकारी दिए । तीमध्ये दैनिक रुपमा सात जनाभन्दा बढी सिकिस्त बिरामी आउने गरेको र तिनीहरुलाई सूईबाट औषधि दिनुपरेको बानियाँले बताए ।
 
प्रकोपलाई नियन्त्रणमा लिन गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमूना सङ्कलन गरी खाद्य प्रयोगशाला हेटौँडामा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीले जनाएको छ । बिरामीको दिसाको नमूना सङ्कलन गरी रोगको पहिचान गरिने उनले बताए । 
 
सुख्खायामको समय भएकाले पानीको मुहान सुक्ने र जीवजन्तुहरु पानीको खोजीमा जाँदा जीवजन्तुबाट किटाणु सरी झाडावान्ता फैलिएको हुनसक्ने बानियाँको भनाइ छ । नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रले विभिन्न किसिम औषधि निःशुल्क रुपमा वितरण गरिरहेको जनाइएको छ ।