मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओली पत्रकार सम्मेलनमा उग्र, पत्रकारदेखि प्रतिपक्षविरुद्ध तीव्र आक्रोश

प्रधानमन्त्री ओली पत्रकार सम्मेलनमा उग्र, पत्रकारदेखि प्रतिपक्षविरुद्ध तीव्र आक्रोश


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालप्रति आक्रामक बनेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध आक्रोश पोखे । 
 
सामाजिक सञ्जालमा सरकारविरुद्ध व्यापक विरोध र आलोचना चुलिएपछि सरकारले मिडिया विधेयक ल्याएर तह लगाउने रणनीतिमा छ । सोही बमोजिम सूचना प्रविधिसम्बन्धी कानुन बनाएर नियमन गर्ने तयारीमा जुटेको छ । 
 
सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालको स्ट्याटसमा कसैलाई होच्याउने, झुक्याउने, अपमानित गर्ने आसय प्रकट भएमा पाँच वर्षको कैद सजाय र १५ लाखसम्म जरिवाना तिर्नुपर्ने कडा कानुन ल्याउन लागेको छ ।
 
यसैको विरुद्धमा प्रेसजगत, प्रतिपक्ष तथा नागरिक समाजले चरणवद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् । पत्रकार सम्मेलनमा ओलीले सामाजिक सञ्जाललाई गुरु थापेर कस्तो समाज निर्माण गर्न खोजिँदैछ भनेर आक्रोश पोखेका छन् । 
 
सोमबार प्रतिनिधिसभामा कांग्रेसको अवरोधका कारण बोल्न नपाएका उनले प्रतिपक्षदेखि पत्रकारसम्मको चर्को आलोचना गरे । उनले प्रतिक्रियावादीसँग मिलेर लोकतन्त्र नै मास्न खोजेकोजस्ता टिप्पणी पनि गरे । 
 
संसद्मा कांग्रेसले वेल घेराउ गरी बोल्न नदिएको प्रसंगमा उनले प्रधानमन्त्रीभन्दा पहिले बोल्न पाउनुपर्छ भन्नु कांग्रेसको बालहठको संज्ञा दिए । उनले भने, ‘यस्तो बालहठ लोकतन्त्रमा कहीँ हुँदैन ।’
 
संसद्मा बोल्न नपाएको झोंकमा पत्रकार सम्मलेन गरी आक्रोश पोखे पनि उनले यसको बचावट गरे । उनको आक्रोश यतिसम्म थियो कि उनले पत्रकारहरुले नेपाली भाषा नै बिगारेको भन्न भ्याए । 
 
सरकारी मिडियामा तपाईं, बताउनुभयो, उहाँलेजस्ता आदरार्थी शब्द प्रयोग हुने गर्छ । अन्य मिडियाले सबैलाई तिमी शैली प्रयोग गर्छ । उनले पत्रकारलाई तपाईं भन्न आउँदैन ? भनेर टिप्पणी गरे ।
 
उनले थपे, ‘हाम्रा टेलिभिजनले कसैलाई तपाईं भन्नै जान्दैन । तपाईं भन्ने नेपाली शब्दको भाषै हराइसक्यो । बाउलाई तिमी, हजुरबालाई तिमी, हजुरआमालाई पनि तिमी । यो त नेपाली संस्कृतिभित्र पर्दैन ।’ स्थापित सञ्चारमाध्यमले समेत सामाजिक सञ्जाललाई पछ्याइरहेको उनको भनाइ थियो ।
 
उनले आफू पत्रकार सम्मेलन गरिरहँदा गुठी विधेयक फिर्ता भएकोबारे सञ्चारमाध्यमबाट थाहा पाएको भनेर व्यंग्य कसे । गुठी विधेयकबारे हिजो उनले उपत्यकाका जनप्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए । पार्टी र क्याबिनेटमा छलफल गरेर निर्णय लिने बताएका थिए ।
 
गुठी विधेयकविरुद्ध सत्तापक्षकै सांसद् विरोधमा उत्रिएपछि सरकार बाध्य भएर पछि हटेको हो । तर, उनले सरकारको बचावट गर्दै लोकतान्त्रिक विरोधी शक्तिले लोकतन्त्रको जरा काट्न कैंची चलाउन थालेको देखेर विधेयक फिर्ता लिइएको बताए । 
 
उनले नेपालका केही बुद्धिजीवी देख्दा शरम लाग्ने गरेको भन्दै मर्यादित भएर बोल्न सुझाव दिए ।