काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । कांग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको सुरुमै बोल्न पाउनुपर्ने माग राखेकोमा सभामुखले समय उपलब्ध नगराएपछि कांग्रेसले विरोध गरेको हो ।
कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा सभामुख महराले प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहेकाले उनको वक्तव्यपछि बोल्न समय दिने बताएका थिए ।
सभामुखले प्रतिपक्ष दलका सांसदलाई उक्त आग्रह गरिरहँदा विपक्षी सांसदले संसदीय मर्यादा कायम गरियोस् र प्रतिपक्षलाई पहिले बोल्न दिइयोस् भनी रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए ।
सभामुखले विरोध जनाइरहेका सांसद्हरूलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरूलाई बोल्न समय दिन्छु भनी आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा पुगे पनि सम्बोधन नगरी त्यहीँ उभिरहेका थिए ।
प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरिएको घोषणा गरे ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूची रहेको थियो ।
प्रतिक्रिया