मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

प्रनेशलाई फाँसी देऊ !

प्रनेशलाई फाँसी देऊ !


‘फ्रिडम अफ स्पीच विकसित मुलुकको मेरुदण्ड हो, हामीले यसलाई आत्मसात् गरेका छौँ’ प्रधानमन्त्री केपी शर्मा ओलीले यही अभिव्यक्तिका कारण बेलायतको अक्सफोर्ड युनियनमा ताली थाप्दै थिए । यता नेपालमा जे मन लाग्यो त्यही बोल्न पाउँछस् भन्दै युट्युबर प्रनेश गौतमलाई प्रहरीले नियन्त्रणमा लियो । 
 
२४ वर्षीय  नेपाली स्ट्यान्डअप कमेडियन प्रनेशलाई उनले सञ्चालन गर्ने मीम नेपालको  युट्युब च्यानलमा चलचित्र ‘वीर बिक्रम २’ को नकारात्मक समीक्षासहित भिडियो अपलोड गरेको आरोपमा ‘साइबर क्राइम याक्ट’ भन्दै प्रहरीले नियन्त्रणमा लिएपश्चात् विभिन्न बहसहरु सुरु भए । फिल्म निर्देशक मिलन चाम्सको उजुरीका आधारमा जेल परेका प्रनेश यदि दोषी ठहर भए भने नेपालको साइबर क्राइम याक्टअन्तर्गत पाँच वर्षको जेल सजाय र कम्तीमा ९० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । के प्रनेशले यति ठूलो गल्ती गरेकै हुन् ? 
 
हिजोआज प्रनेशभन्दा मिलन चाम्स हिट छन् । कसैले तह लगाउन नसकेको युट्युबरलाई मैले जेल हालें, बाह म ! विभिन्न अन्तर्वार्तामा उनको रवाफ हेर्दा लाग्छ कि उनले निर्माण गरेको चलचित्रले प्रनेशले भनेजस्तै ओस्कार अवार्ड जितेर आएको छ । मेरो केही भन्नु छैन । तर, मिलन दाइ, आलोचना र ठट्यौलीलाई पचाउन सक्ने क्षमता छैन भने सार्वजनिक जीवन त्याग्नूस् । अभिव्यक्ति स्वतन्त्रताका लड्नुपर्ने तपाइँजस्ता होनाहार युवा प्रनेशहरुलाई थुनाउन लाग्नु ठूलो विडम्बना हो । 
 
मलाईजस्तै केही युवा पंक्तिलाई मीम नेपालको फेसबुकमा पोष्ट हुने केही विषयहरु चित्त नबुझ्न सक्छ । चित्त नबुझ्दा म पोष्टहरु अनफ्लो गर्ने गर्छु । किनभने मलाई थाहा छ, मैले सोचेजसरी अरुले पनि सोच्नुपर्छ भन्ने छैन । मानिसको एउटै चिजलाई देखेर थुप्रै धारणाहरु बन्न सक्छन् । प्रनेशले जे देखे त्यसलाई व्यंग्यात्मक शैलीमा भिडियो बनाए । मिस नेपाल नितिका चण्डकलाई वर्णको आधारमा विभेद गरेको मलाई पनि मन परेन । त्यसमा प्रनेशले माफी मागून् । तर, आज ठट्यौली हिसाबमा कुनै सेलिब्रेटीको व्यंग्य गर्नु स्वाभाविक हो । हिजो मिस मिस वर्ल्डमा नितिका जाँदा नेपालकी चेली जिताउनुपर्छ भन्दै अहोरात्र खटिने पनि प्रनेश नै हुन् । नितिकालाई सबैले चिन्ने बनाउनुमा यिनै युट्युबरको हात छ । 
 
मिलन दाइ आज संसार हँसाउने कमेडियनहरु रोएका छन् । संभवत यति साधारण भिडियो अपलोड गरेको भरमा पहिलोपटक कोही कमेडियन जेलमा छ । तपाईंलाई देख्दा लाग्छ, तपाईं आत्तिनु भएको छ । यसले फिल्म डुबाइदेला भन्ने तरंग तपाईको मनमा छ । नजिर र पललाई अर्को पात्रसँग दाँजेर भिडियो बनाउने ? भिडियोमा चक्कु देखाउने ? हाम्रो फिल्म सीधै नराम्रो छ भन्ने ? हो मिलन दाइ, प्रनेशले ठूलो गल्ति गर्यो, यसलाई फाँसी दिऊँ । ताकि भोलि तपाईंको फिल्महरु सुपरहिट होऊन् !