मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

म नामर्द

म नामर्द


‘साँझ ६ बजे बानेश्वरको एलिनाज बेकरीमा आइस्योस् है । म कुरेर बस्छु’ मुनाले मेसेज गरि । हरेक साताको शुक्रबार जसो उसले यसैगरि मलाई निम्तो दिइरहन्छे । रेस्टुरेन्ट उसैको च्वाइसमा हुन्छ । कहिले टेकु त कहिले महाराजगञ्ज, कहिले भक्तपुर त कहिले दरबारमार्गका रेस्टुरेन्टमा हामी पुग्छौँ । चार भञ्ज्याङ भित्र स्तरीय भनेर नाम कहलिएका कुनै रेस्टुरेन्टहरु शायद बाँकी छैनन, जहाँ हामी नपुगेका छौँ । रेस्टुरेन्ट चाहार्दै कहिले नगरकोट त कहिले बनेपासम्म पनि हामी पुगेका छौँ ।
 
शुक्रबारका साँझ यसैगरि भेटेर सँगै डिनर लिन्छौँ । त्यतिखेर हामी हप्ताभरिका घटना, सन्दर्भहरुलाई केलाउछौँ । देशको राजनीति, आर्थिक, सामाजीक विषयमा पनि हाम्रो गफगाफ केन्द्रीत हुने गर्छ ।
 
मुना कुनै बेलाको मेरी सहकर्मी हुन् । हामी एउटै बैंकमा काम गथ्र्यौ । मैले त्यो बैंक छाड्नुभन्दा ६ महिना जति पहिले उ त्यहाँ ज्वाइन भएकी थिइ । मैले जति समय त्यहाँ काम गरेँ उसलाई कामका बारेमा धेरै कुराहरु सिकाइदिएँ । त्यो शाखाबाट हुने कामका बारेमा विस्तृतमा उसलाई बताएर दुई महिनामै मैले पोख्त तुल्याइदिएको थिएँ ।
 
मुनामा पनि कुनै पनि कुरालाई चटक्क दिमागले समाउने खुबी थियो । उसलाई एकपटक सिकाएपछि त्यो कामलाई तुरुन्तै दिमागले टिप्ने क्षमता थियो । केटीहरु काममा उसैपनि सिन्सिएर हुन्छन् । भरखरै एमबीए गरेर आएकी हुँदा उसमा केही गरौं, क्षमता देखाउँ भन्ने हुटहुटी पनि थियो । जोश, जाँगर, उत्साह सबै थियो मुनामा । 
 
मैले त्यो अफिस छाडेपनि उसले किन हो कुन्नि मसँग सरसल्लाह लिँदै आएकी छ । कुनै समस्या परिहाल्यो भने फोन गरेर सोध्छे उ । मैले पनि जानेसम्म, बुझेसम्म सबै कुराहरु बताउने गरेको छु । यो स्वार्थी संसारमा निस्वार्थ रुपमा आफूले जानेको, थाहा भएको कुरा अरुलाई सिकाइदिने मानिसहरु ज्यादै थोरै हुन्छन् । मुनाले मलाई बारम्बार यस्तै कुरा भन्दै आएकी छ ।
 
शायद यही सम्बन्धले गर्दा पनि होला उसले सुरुवात ताका हरेक हप्ता सिभिल मलको जाभा क्याफेमा बोलाएर सुखदुःख पनि साट्ने गरेकी थिइ । त्यतिखेर कहिले दुई हप्तामा त कहिले महिना दिनमा हाम्रो भेटघाट हुन्थ्यो । क्याफेहरुबाट सुरुवात भएको हाम्रो भेटघाट अहिले रेस्टुरेन्टसम्म आइपुगेको छ । सम्बन्ध बाक्लिँदो छ । अहिले हप्तामा एक पटक शुक्रबार साँझको त मैले अरु प्रोग्राम बनाउनै छाडीसकेँ ।
 
एउटा पूर्ब सहकर्मीभन्दा बाहेक मुनासँग मेरो कुनै सम्बन्ध होइन । उ मसँग असाध्यैनै झुम्मिएको महसुस हुन्छ । मसँग कुरा गर्दा उसका पोक्चे गालामा उसको सुन्दरता अझै निखारिएको हुन्छ । उ निर्धक्क कुरा गर्छे । कुरैकुरामा म पनि बेलाबखतमा जिस्काउन छाड्दिन । तर मनमा रतिरागको चाहना पटक्कै राख्दिन । किनकी मेरो मनमा अर्कीले अड्डा जमाइसकेकी छिन् । लगभग बिहेको टुंगो परिवार मार्फत पनि  लागिसकेको छ । जया सिभिल इन्जिनियर छिन् । अहिले दुई वर्षे कोर्सका लागि चेन्नइमा छिन् ।
 
काठमाडौंमा एक्लै छु । सानेपा हाइटमा दुई कोठा भाडामा लिएर बस्दै आएको छु । एउटै कोठा भएपनि पुग्ने हो मेरा लागि । तर कहिलेकाँही घरबाट, कहिले साथीभाईहरु ओइरो लागिरहन्छ मेरो कोठामा । पाहुनाकै लागि भनेर एउटा कोठा राखेको छु । मेरी गर्लफ्रेण्ड जया पनि पहिले बेलाबखतमा आउँथिन् । उनी आउँदा प्रायः शनिबार दिउँसो साथीका साथ लागेर आउँथिन् र साँझ नपर्दै उनीहरु आफ्नो घरमा फर्किने गरेकी थिइन् । उनको घर जडीबुटीमा छ ।
 
मुनालाई कहिल्यैपनि काम वाशनायुक्त नजरले हेरिन । गहुँगोरो वर्ण, पुष्ट वक्षस्थल, बारुले कम्मर उसका विशेषता हुन् । धनुषबाण जस्ता उसका आँखीभुई, चम्किला आँखा उसका आकर्षण हुन् । नाक चाँही अलिकति चुच्चो परेको र ठूलै हो । तैपनी सुहाउँदो नै छ । हिडाईमा हाँसको चाल छ । हाँस्दा दुबै गालामा पर्ने डिम्पलले उसलाई अझै सुहाउँदो तुल्याएको छ । पुरुषलाई आकर्षित गर्नका लागि एउटी युवतीमा हुनुपर्ने भन्दा ज्यादा तत्वहरु छन् । लाग्छ–भगवानले निकै मेहनत गरेर बनाएका छन् उसलाई ।
 
मुनाको पहाड घर पूर्बतिर हो । तर काठमाडौंमै हुर्किए बढेकी । बाउ देशको प्रमुख प्रकाशनिक केन्द्र सिंहदरबार भित्रको सरकारी कार्यालयमा अधिकृत छन् । आमा सरकारी शिक्षिका । एउटैमात्र भाई इन्जिनियरिङ पढ्दै छ । भक्तपुरको बालकोटमा धेरै पहिलेनै उनका पिताले घर बनाएका छन् ।
 
उनी एकजना साथीको सिफारिसमा मैले काम गर्ने अफिसमा आएकी थिइन् । निजी क्षेत्रको बैंक भएपनि राम्रो कर्पोरेट कल्चरमा चलेको हुँदा सबै प्रकारका सुविधाहरु छन् । तर मैले यो भन्दा माथिल्लो पदका लागि अर्को बैंकमा एप्लाई गरेको थिएँ । त्यसमा छनौट परेको हुँदा छाड्दै थिएँ ।
 
‘कतिन्जेल काम गर्लिस् र मुना तँ यहाँ ?’ लञ्च ब्रेककै क्रममा एक पटक मुनाकी साथीले भनेकी थिइ ।
 
‘किन र अर्को जागिर कतै मिलिसक्यो कि के हो ?’ मैले जिज्ञासा राखेँ । बैंकमा सामान्यतया तल्लो तहका कर्मचारीहरुमा आउने र जाने क्रम चलिरहन्छ । दुई हजार बढी तलबको अफर कुनै बैंक वा फाइनान्सबाट आयो भने छाडेर जानु सामान्य नै हो । त्यसमाथि मैले काम गरेको यो बैंकले राम्रा र पुराना कर्मचारीई टिकाएर राख्ने, पारिश्रमिक बढाइदिने भन्दा पनि ‘गए जाउन्, काला गए गोरा आउँछन्’ भने जस्तो व्यबहार देखाउदै आएको छ । त्यही भएर पुराना कर्मचारी टिक्दैनन् ।
 
‘मुनाको ब्वाईफ्रेण्ड अमेरिकामा छ । ल तपाईलाई थाहा छैन ? मुना पनि अमेरिका जाने बाटोमा छे नि त’ उसकी साथीले बताई ।
 
मलाई लाग्यो–मुना पनि दुई दिनको पाहुना जस्ती मात्र रहिछ यो बैंकको लागि । उनीहरुले पेपर म्यारिज पनि गरिसकेका थिए । एउटै कलेज पढेका थिए उनीहरु । तीन महिना अघि नेपाल आउँदा ब्वाइफ्रेण्ड र मुनाबीच पेपर म्यारिज भएर ग्रीनकार्डको प्रोसेस सुरु भएको थियो । मुनाले कानुनमा एलएलबी पनि गर्दैथिइ । केही महिनामात्र बाँकी थियो ।
 
मैले त्यो बैंक छाडेको झण्डै ६ महिना पछि उसले पनि बैंक छाडी । उसले पुग–नपुग एकवर्ष जति त्यो बैंकमा काम गरि । उसका लागि जागीर भन्दा पनि समय बिताउने साधन चाहिएको थियो । बैंकको डेबिट र क्रेडिटको चक्र, व्यालेन्स शीटमा उसले त्यति इन्जोइ गर्न सकिन जस्तो लाग्यो । नाफा गर्दा अर्बको हाराहारीमा गर्ने बैंकहरु कर्मचारीलाई सुविधा दिने मामिला असाध्यै कञ्जुस हुन्छन् । दिनमा लाख र करोडको हिसाब गर्यो, करोडौँका नोटका बिटा गन्यो, महिना मरेपछि आउने तलब भनेको इन्ट्री लेबलमा उही १५ देखि १८ हजारको हाराहारीमा न हो । त्यो तलबबाट डेरा गरेर बस्नेले चार जनाको परिवार पाल्नै सक्दैन । तर मुनाले किन छाडी भित्री कारण मलाई भनिन । उसले यतिमात्र भनि–‘मेरो लक्ष्यको बाटो अर्कै छ ।’
 
‘मैले अधिवक्ताको लाइसेन्स निकाले नि’ एक शुक्रबार साँझ मुनाले खुशी साटी । अब उ वकालत गर्ने मनसायमा रहिछ । उसले कुनै ल फर्ममा काम गर्न पाए हुने आशय जनाई । मसँग खासै ल फर्मवालासँग परिचय थिएन ।
 
बैंकको काम छाडेपनि मुनाले मसँगको निकटतालाई भने तोडेकी थिइन । हामी मिलेसम्म हप्ताको एक पटक, नमिलेमा दुई हप्तामा एक पटक भेटेर सँगै कफी पिउँथ्यौँ । मलाई पनि जयाको अनुपस्थितीमा समय बिताउने एकजना उ जस्तै साथीको आवश्यकता थियो । मेरी गर्लफ्रेण्ड जया नेपाल फर्किन अझै एक वर्ष बाँकी छ ।
 
मुना र म बीच ६ वर्षको उमेर अन्तर थियो । उसँगको सम्बन्धमा कहिल्यै यौन चाहना म भित्र प्रकट भएन । मेरा धेरै पुरुषसाथीहरु सुनाउँछन्–स्त्रीसँग सामान्य छुवाईमा पनि शरिरमा रतिरागको करेन्ट प्रवाह हुन्छ रे । तर मलाई त्यस्तो महसुस कहिल्यै भएन । शायद मुनाको ब्वाइफ्रेण्ड छ भन्ने जानकारी भएर पनि हुनसक्छ । अर्को तिर जयालाई धोका दिनुहुँदैन भन्ने भावना पनि म भित्र छ ।
 
सँगै बस्दा, एउटै स्कुटरमा यात्रा गर्दा अकस्मात हुने स्पर्शलाई पनि मेरो इन्द्रियले बेग्लै अनुभूति गर्न चाहेन या सकेन । भेटघाट हुँदा उ कहिले आफ्नो वक्षस्थललाई नियतवशः देखाउन खोज्थी । टीशर्ट लगाएर टेबुलमा बस्दा उ समय समयमा निहुरिन्थी । निहुरिँदा उसको दुई वदन मज्जाले देखिन्थ्यो । म नदेखे झैँ गरिदिन्थे । 
 
कहिलेकाँही म सोच्छु–आवश्यक भन्दा बढी सोझो छु म । फुर्सदमा हुँदा दिमागमा अनेक तर्कनाहरु पैदा हुन्छन् । त्यतिखेर आफुले आफ्नै मूल्याङ्कन गर्छु । म अरुलाई शोषण गर्नै सक्दिन । तर शोषण नगरि सप्रिएको मेरो नजरमा अहिलेसम्म कोही छैनन् । त्यही भएर मेरो धारणानै फरक छ अस्वभाविक र छिट्टै प्रगति हाँसिल गर्नेहरु प्रति । कसैको शोषण नगरि, कसैलाई नरुवाई द्रुतगतिमा अघि बढेकाहरु भोली भेटिएछन् भने मेरो धारणा फेरिन पनि सक्छ । तर अहिले मेरो धारणा शीलामा लेखिएको अक्षर जस्तो भएर गढेको छ । हुनतः सिधा औलाले घिउ आउँदैन भन्ने उखानै छ ।
 
साथीहरु मेरो मूल्यांङ्कन गर्दै बेलाबखतमा भन्छन्–‘तँ आँट गर्नै सक्दैनस् । जोखिम मोल्न नसक्नेहरुका लागि यो संसार होइन । जोखिम मोल, इन्जोइ गर ।’ तर म नैतिकतालाई ढलमा मिसाएर माथि उक्लिने स्वभावको पनि परिन । जे छ त्यसैमा सन्तुष्ट हुने बानी परिसकेको छ मलाई ।
 
‘आऽ हजुर त कस्तो नामर्द । अलिकति लोग्नेमान्छेको स्वभाव त देखाइस्योस न’ एकपटक मुनाले एउटा केही प्रसङ्गमा भनेकी थिइ । मेरो अति सोझोपन देखेर भनेकी हो जस्तो लागेको थियो त्यतिखेर । अहिले आएर वास्तविकता बुझ्दै छु । म साँच्चै सोझो मात्र होइन, परिस्थिती र समयको माग नबुझ्नैनै रहेछु । साथीहरुको भावनालाई केलाउन नसक्नेनै रहेछु । म हुतिहारा हो कि जस्तो लाग्न थाल्यो । जसलाई भाग्यले दिएको छ, समयले दिएको छ । तर इमान्दारिताको पर्खालले गर्दा सधैँ पछि पारेको छ ।
 
जे भएपनि म आफ्नो नैतिकतालाई आफैँले ‘श्रद्धाञ्जली’ दिन सक्ने अवस्थामा छैन । आफ्नो इमान्दारितालाई टुकुचाको ढलमा बगाउन दुस्साहस गर्ने पनि मेरो स्वभाव रहेन । जबजब संगीन निर्णयहरु लिने अवस्था आउँछ हजुरबालाई सम्झिने गरेको छु । मैले बाटो बिराउन लाग्दा पनि हजुरबालाई सम्झिएपछि कसोकसो म सही ट्याकमा आइपुग्थेँ ।
 
‘मेरो ब्वाईफ्रेण्ड उहाँ नै हो’ एक पटक मुनाले मोबाइलमा फोटो देखाई । केही महिना अघि नेपाल आउँदा नगरकोटमा खिचिएका बिभिन्न पोजका फोटाहरु थिए । आइफोन–एट बोक्थी मुना । त्यही फोनको फोटोग्यालरीमा ब्वाइफ्रेण्डका फोटाहरु टनाटन थिए ।
 
मलाई कताकता देखेजस्तो लाग्यो त्यो युवक । मैले नाम सोधे । उसले जवाफ दिइ–‘प्रकट हो उहाँको नाम ।’
 
मैले कन्फर्म गर्नमात्र खोजेको थिएँ । उसको पोजपोजका फोटा देख्दैमा अनुमान भने गरिसकेको थिएँ ।
 
झण्डै १० वर्ष अघि आइकम पढ्दा प्रकट र म क्याम्पसको एउटै विद्यार्थी संगठनको एउटै कमिटीमा रहेर काम गरेका थियौँ । बिबिएसको क्रममा मैले क्याम्पस चेन्ज गरेर मिनभवन सरेपछि भेट भएको थिएन । म पनि विद्यार्थी राजनीतिबाट विस्तारै पढाइमै केन्द्रित भएको थिएँ ।
 
‘म चिन्छु प्रकटलाई । हामीले एउटै कमिटीमा रहेर काम गरेका थियौ’ मैले मुनाको जानकारीका लागि भने ।
 
उ पनि चकित परि । ‘म कुरा गर्छु है त हजुरको बारेमा प्रकटसँग ?’ उसले सोधी । मैले सहमतिसूचकका रुपमा टाउको हल्लाएँ । ठकुरी संस्कारमा जन्मे हुर्केकी मुना मलाई पनि ‘हजुर’,‘आइस्योस्’, ‘गरिस्योस्’ जस्ता अति–आदरार्थी शव्द लगाउँथी । जुन शव्द उच्चारण गर्न समेत मलाई अप्ठेरो लाग्छ । तर पनि मैले केही भन्न सकेको छैन ।
 
नारीलाई सम्मान गर्नुपर्छ । परस्त्रीलाई आमा, दिदीबहिनी सरह मान्नुपर्छ भन्ने पण्डित संस्कारमा हुर्किएको म । आमा, गुरुआमालाई देवीका रुपमा पुज्नुपर्छ भन्ने शिक्षामा हुर्किएको म । मेरा हजुर बा जिल्लाभरि पुराणवाचनमा कहलिएको पण्डित हुनुहुन्थ्यो । वर्षैभरि उहाँलाई फुर्सद हुन्थेन । ब्रतबन्ध नगर्दासम्म हामी भान्छाको सबैभन्दा पुछारमा पिर्कामा बसेर भात खान बस्थ्र्यौ हामी । ब्रतबन्ध गरेपछि सेतो धोती फेरेर मात्र चुल्हासम्म पुग्ने अनुमति मिल्यो । बिहान बेलुकी सञ्जे (गायत्रीमन्त्र) नजपेसम्म मुखमा केही हाल्न पाइन्थेन ।
 
‘हेर शिशिर, अर्काकी छोरीचेलीलाई नराम्रो आँखाले कहिल्यै नहेरेस् । जिन्दगीमा दुई चिजलाई संयममा राख्नेले कहिल्यै दुःख व्यहोर्नुपर्दैन । मुखद्वार र मुत्रद्वारलाई सदा सदा संयमित राखेस्’ एसएलसी पास गरेपछि काठमाडांै हिँड्नै लाग्दा हजुरबाले भन्नुभएको यी वचन अहिलेसम्म पनि मेरा कानमा गुञ्जिरहेका छन् । उहाँले भन्नुभएको थियो–‘अर्काको धन, माल–सामानमा पनि आँखा नलगाएस् बाबु । अर्कासँग धेरै आशा पनि नगर्नु, धेरै आशा राख्नु भनेको मनमा दुःख, पीडा, अशान्तीलाई बास दिनु हो ।’
 
पाँच वर्ष अघि हजुर बा बित्नुभएपनि उहाँका जीवन उपयोगी र व्यबहारिक धेरै कुरालाई मैले पछ्याउन छाडेको छैन । हजुर बाको वचनलाई नाघेको एउटै मात्र क्षेत्र छ । त्यो हो कुखुराको मासु खान सिकेँ । खसीको मासु काठमाडौंमा छोइसाध्य भए पो । त्यसमाथि रातो मासु स्वास्थको लागि हितकर छैन भन्ने डाक्टरहरुको भनाई पढेपछि मैले खसी छाडेँर कुखुराको मासु खान थालेको छु ।
 
एक शुक्रबार बिहानै उसले मेसेज गरि । ‘आज चाँही मेरो विशेष च्वाइस छ । हजुरलाई लिन म डेरामै आइपुग्छु । बरु कति बजे आउँ ?’
 
शुक्रबार प्रायः म ५ बजेनै डेरामा पुगिसकेको हुन्छु । मैले उसलाई साँढे ५ बजेको समय दिएँ । उ निर्धारित समयभन्दा ५ मिनेट पहिलेनै डेरामा आइपुगी ।
 
अघिपछि हातमा हेलमेट झुण्डाउँदै आउने मुना आज भने हातमा माइकल कोर्सको व्याग बोकेर मेरो डेरामा आइपुगी । मलाई लाग्यो–आज ट्याक्सीमा आइछ । माइकल कोर्सको व्याग शायद उसको ब्वाईफ्रेण्डले अमेरिकाबाट पठाइदिएको हुनुपर्छ । हरेक महिना मुनालाई केही न केही गिफ्ट अमेरिकाबाट आइरहेकै हुन्छ । अहिले अमेरिकामा नेपालीको संख्या बढेसँगै नेपाल आउने–जानेको दोहोरीलत्त चल्छ । त्यही भएर प्रकटले नेपाल आउनेको साथमा केही न केही गिफ्ट पठाइरहेकै हुन्छ ।
 
प्रकटले पठाएको राम्रो मध्यको एउटा कलम मलाई पनि दिएकी छ मुनाले । उपहार माथि उपहार अर्थात प्रकटले मुनालाई पठाएको उपहारलाई उसले फेरि उपहार बनाएर मलाई दिने गरेकी छ । आज पनि उसले एउटा परफ्युम गिफ्ट लिएर आएकी रहिछ ।
 
उसले जे जति उपहार दिएकी छ मैले त्यसको दाँजोमा खासै केही दिन सकेको छैन । अघिल्लो महिना रहेको उसको जन्मदिनमा मैले दरबारमार्गमा रहेको एडिडासको शोरुमबाट जुत्ता किनेर दिएको थिएँ । मैले अहिलेसम्म दिएको बढी मूल्यको उपहार त्यही नै थियो ।
 
‘मिठो चिया बनाइस्योस् त । कस्तो तलतल लाग्या छ चियाको । त्यसपछिमात्र निस्कौँला’ उसले मेरो हातबाट बनाएको चियाको अपेक्षा राखी ।
 
मलाई दुधको मात्रा मिलाएर कडा रंगको चिया मन पर्छ । चिया पिउने भनेकै रंग हो । रंग कडा नभएको चिया पिउनु मुखलाई बिगार्नुमात्र हो भन्ने मेरो ठम्याई छ । मैले बनाएको चियामा उसको जिब्रो गढेको छ ।
 
चिया पिउन्जेलसम्म उसले एउटा प्रतिष्ठित ल फर्ममा काम पाएको कुरा सुनाई । ‘हजुरले नाम पनि सुन्नु भएको होला । मैले काम गर्ने ल फर्म त बार एसोसिएसनको पहिलेको अध्यक्षको हो नि’ उसले सुनाई ।
 
अधिवक्ताको फिल्डमा उसको सफलताको कामना गरेँ । फिल्महरुमा देखिने वकिलको जस्तै वहश गर्न उसलाई मन छ । कृष्णप्रसाद भण्डारी, राधेश्याम अधिकारी, शम्भु थापा, विश्वकान्त मैनाली जस्ता वकिलहरुको जस्तै वहश गर्न उसलाई रहर छ । महिला वकिलहरुमा उसले सपना मल्ललाई आदर्श ठान्दै आएकी छ ।
 
मलाई भने उ नेपालमा दुई दिनको पाहुना जस्तो हो भन्ने मात्र लाग्दैछ । कुन बेला दुतावासमा सबै डकुमेन्ट आइपुगेर इन्टरभ्यूका लागि तयार हुनुपर्छ ठेगान छैन । अमेरिका पुगेपछि उ पनि अमेरिकी संसारमा हराउँछे ।
 
उ अघिपछिभन्दा आज निकै खुशी छ । चिया पाक्दा र पिउँदाको आधा घण्टाको बीचमा उसले एक हप्ताको वकालत पेशाका अनुभव सुनाई । ‘आज चाँही हामी अलि बेग्लै विदेशी स्वादको रेस्टुँरामा जाउँ है ?’ मुनाले प्रस्ताव राखी ।
 
मैले हुन्न भन्न सकिन । ‘कहाँ जाने त ?’ मेरो जिज्ञासा यतिमात्र रह्यो ।
 
‘लाजिम्पाटमा एउटा अमेरिकन रेस्टुरा छ । त्यही जाउँ । मलाई प्रकटले अघिल्लो पटक आउँदा देखाएको थियो’ उसले भनी ।
 
‘तिमीलाई अमेरिकन फुडमा बानी पार्नका लागि त होला ?’ मैले मजाक गरेँ । उ मुस्कुराई मात्र । ‘के थाहा उताको पिज्जा र बर्गर भन्दा यतैको दालभातले पो छाड्दैन कि । उता अमेरिका गएर पनि दुई छाकै दालभात खाने नेपालीहरु पनि प्रशस्त छन् रे’ उसले अरेका कुरा सुनाई ।
 
मेरो डेराबाट निस्कँदा ६ बजिसकेको थियो । डेराको कम्पाउण्ड बाहिर निस्किदा अगाढी रहेको गाडी चुईचुई करायो । सँगै लाइट पनि बल्यो ।
 
‘आज यसमा जाने’ उसले ड्राइभर पट्टिको ढोका खोल्दै भनि–‘अगाडी बसिस्योस् हजुर ।’
 
म जिल्ल परेँ । उसले गाडी पनि किनिसकिछ । मरुन कलरको थियो गाडी ।
 
‘अलिकति पैसा बाबाले दिइस्यो । बाँकी पैसा प्रकटले उतै दिनेगरि हिजोमात्र यो गाडी किनेको’ उसले सुनाई । हुण्डाईको आइटेन गाडी थियो । सेकेण्डह्याण्ड रहेछ गाडी ।
 
‘प्रकटको चिनजानको मान्छे रहेछ । गाडीवालालाई पनि डिभी परेर अमेरिका जान लागेकोले मिलाएरै दियो । त्यही भएर किनेको नि’ उसले भनि ।
 
गाडी भएपछि वहश गर्न अदालत जाँदा, क्लाइन्टको जाँदा पनि छुट्टै शान हुने र अरुले हेर्दा पनि अलग्गै हुने उसको धारणा रहेछ । १२ लाख रुपैयाँमध्य प्रकटले गाडीवालालाई ७ हजार डलर उहीँ अमेरिकामै दिने सहमतिमा गाडी किनेकी रहिछ मुनाले । मलाई उसको भाग्य देखेर डाह लाग्यो ।
 
‘गाडी नहुने वकिललाई त अदालतका पिएनले पनि टेर्दैनन् रे । अब हेरिस्योस् न म वकालतको क्षेत्रमा देशै हल्लाउँछु’ उसले गाडी हाँक्दै सुनाई । मेरो मनमा भने कतिन्जेलको पाहुना हो नेपालको लागि, ठूलो सपना बोक्छे भन्ने पर्यो । तर केही भन्न सकिन मैले ।
 
उ निकै राम्रोसँग कार हाँक्ने भइसकिछ । हामी लाजिम्पाटको मुस्किलले गाडी छिर्ने भित्री सडकबाट त्यो अमेरिकन रेस्टुरा पुग्यौँ ।
 
मध्यम परिवारकी हो मुना । कुनै दुःख छैन । तर पनि म जस्तो डेरावालसँग किन नजिकीइ रहेकी छ यो चाँही मैले अहिलेसम्म बुझ्न सकेको छैन । जति घोरिएपनि उही त्यही पुरानै बैंकमा गरेको सहयोगमा मात्र पुग्छु म । ‘त्यस्तो सहयोग त अरु धेरैलाई गरेको थिएँ । तर कसैले पनि यति निकट ठान्दैनन् । बाटोमा देख्दा हेलो हाई भन्दा बाहेक केही हुँदैन त तिनीहरुसँग’ म कहिलेकाँही असाध्यै सोच्छु ।
 
गाडी किनेको खुशीयालीमा उसले एक बोतल हेनिकेन बियर पनि पिइ । अघिपछि एक गिलास रेड वाइनसम्म लिने गरेकी थिइ उसले । गाडी चलाउने मान्छे बियर पिएको देखेर डर पनि लाग्यो । ‘नडराइस्यो क्या, म घरमा दुई बोतलसम्म पिउँछु । म मात्दिन क्या बियरले’ उसले आश्वस्त बनाउन खोजी ।
 
हुनत हो । दुई पटक शाैचालय गयो भने बियरको नशा शरिरबाट उत्रिहाल्छ ।
 
गाडी किनेको अर्को साता मुनाको ब्वाईफ्रेण्ड प्रकट नेपाल आयो । एक महिनाको लागि भनेर नेपाल आएको प्रकट केही समस्या परेर एक हप्तामै अमेरिका फर्कियो । त्यसबीचमा उनीहरु नगरकोट, चिसापानीसम्म पुगे गाडी लिएर । दुईरात सँगै बिताए । रात सँगै बिताउनु नौलो पनि भएन । किनकी उनीहरुले कानुनी रुपमा विवाह गरिसकेका छन् । वैदिक विधी पुर्याउन मात्र बाँकी हो । लोकलाज ढाक्न मात्र बाँकी थियो ।
 
फर्किनुभन्दा अघि हाम्रो भेटघाट पनि भयो । पुराना अतितलाई हामीले सम्झियौँ । उसले अमेरिकामा एउटा बैंकको सूचना प्रविधि हेर्नेगरि राम्रो जागिर पाएछ । त्यही भएर तुरुन्तै फर्किनुपर्ने अवस्था आएको रहेछ । बढीमा एक वर्षभित्र मुनाको सबै प्रोसेस पुरा हुने क्रममा रहेको प्रकटले जानकारी दियो ।
 
प्रकट फर्किएको हप्ताको शुक्रबार मुना र मेरो भेटघाट भएन । म अफिसकै कामको सिलसिलामा काठमाडौं बाहिर शाखाको भ्रमणमा जानुपर्यो । एक सातासम्म ब्वाईफ्रेण्डलाई समय दिनुपर्दा, उसलाई बिभिन्न ठाउँमा आफैँले गाडी ड्राइभ गरेर लैजानुपर्दा मुना थाकेकी होलिन् भन्ने मलाई लागेको पनि थियो ।
 
सदाको शुक्रबार झैँ त्यसपछिको साता हाम्रो भेटघाट भयो । दिउँसो ४ बजेसम्म पनि उनले भेन्यू फिक्स गरेर मेसेज नगरेपछि पहिलो पटक मैलेनै मेसेज गरेर पुल्चोकको रोडहाउस पिजरियामा साँझ ७ बजेको लागि बोलाएँ ।
 
उनी समयभन्दा १० मिनेट पहिलेनै पुगिसकेकी रहिछन् । म पुग्दा मेन्यू हेर्दै थिइन् । ‘कस्तो भयो त प्रकटसँगको घुमाई ?’ मैले कुराकानीको सुरुवात गर्दै सोधेँ ।
 
‘ज्यादै रमाइलो । समय असाध्यै कम भयो । फुर्सदसाथ अझै रमाइलो र अविस्मरणीय बनाउने योजना सफल भएन’ उसले भनि । एक हप्तामात्र समय मिलेकोमा उ असन्तुष्ट जस्तो देखिन्थी । उसको भाव त्यस्तै थियो । ‘जतिन्जेल सँगै बसियो असाध्यै इन्जोइ भयो’ उसले वर्णन गरि ।
 
प्रकटसँग महिलाहरुको भावना बुझ्नसक्ने, महिलाको मनोभाव अध्ययन गर्ने खुशी भएको, साथीको चाहनालाई सम्मान गर्ने सोच रहेको भन्दै झण्डै १५ मिनेट मुनाले प्रशंसा गरिरही । म उसको बखानलाई एकाग्र भएर सुनिरहेँ । मैले हो भनेर सही थाप्नुपर्ने र होइन भनेर विमती जनाउनुपर्ने कुनै ठाउँनै छैन ।
 
‘हजुरमा पनि म त्यस्तै गुणको चाहना मैले राखेँ भने कसरी लिनुहुन्छ ?’ उसले प्रश्न गरि । उसको प्रश्नलाई मैले जवाफ दिनु ? मैले उसको आशय सानोतिनो दिमागले बुझ्नै सकिन । के भन्न खोजेकी हो, म बाट कस्तो अपेक्षा राखेकी हो मुनाले मैले केही खुट्टाउनै सकिन । मैले त उसलाई एउटा शुद्ध साथीका रुपमा मात्र हेरिरहेको छु ।
 
‘मैले तिम्रो कुरा बुझिन मुना ?’
 
‘हजुर लोग्नेमान्छे हो कि महिला ?’ उसले एक्कासी सोधी । उसको स्वर आज अलि कडा लाग्यो । अघिपछि भन्दा अलि फरक गेटअपमा थिई उ । अस्तव्यस्त कपाल, पहिरन पनि नमिलेको अवस्था थियो यसको ।
 
म उसको प्रश्नले झनै असामञ्जस्यमा परेँ । के भन्ने, के सोध्नेमा पुगे ।
 
‘म के हो जस्तो लाग्छ तिमीलाई ? मैले वस्त्र फुकालेर देखाउनु पर्ने भयो तिमीलाई ?’ यस्तो जवाफ मुखसम्म आइसकेको थियो । तर म संयमित भएँ । चुप लाग्नुनै उचित ठानेँ मैले ।
 
‘हजुर जस्तो लाटो र सोझो लोग्ने मानिस आजसम्म मैले भेटेको पनि छैन र देखेको पनि छैन । केटी मान्छेको भावना, चाहना र आवश्यकता बुझ्ने ल्याकत रहेनछ हजुरमा । यदी यो दुई वर्षसम्म हजुरको ठाउँमा अरु कोही पुरुषलाई यसरी मैले नजिक बनाएको भए उनीहरुले गर्ने व्यबहार हजुरले मलाई गरे जस्तो सतहीमात्र हुन्थ्यो होला ?’ उसको प्रश्नले मेरो दिमागमा झिन्झिनाहट पैदा गर्यो ।
 
म मौन छु । उसको कुराले मलाई पानी पिउनुपर्ने बनायो ।
 
‘हजुर र मेरो अवस्था समान छन् । हामी दुबैका हुनेवाला पार्टनर सँगै छैनन् । मन मिल्छ, भावना मिल्छ । एक अर्काको भविष्यको बोझ उठाउनुपर्ने जोखिम र वाध्यता पनि छैन । हाम्रो यात्रा कुन बेला टुंगिन्छ कुनै पत्तो पनि छैन । यस्तो अवस्थामा तपाईको आदर्शताले केही नाप्दैन । मर्यादा पुरुषको सम्मान सत्य, त्रेता र द्वापर युगमा थियो । यो कलियुगमा हजुरजस्तोले डरपोक र नामर्दको उपाधी पाउनुहुन्छ ।’
 
‘म बाट तिमीले खोजेको यसखाले अपेक्षा पुरा हुँदैन मुना । तिमी होशमा त छौ ?’ मैले स्पष्टसँग भनिदिएँ ।
 
‘हजुरसँगको दुई वर्षे मेरो संगत र लगानी बालुवामा तेल हाले सरह भयो । अब पनि हजुर मेरो भावना बुझ्नुहुन्न भने आजको यो भेटनै अन्तिम हुनेछ’ उसले मलाई तर्साउन भनि या अन्तरमनबाटै भनेकी हो मैले खुट्टाउन सकिन ।
 
उ जुरुक्क उठी । टेबुलमा आइपुगेको कफीलाई दुई पटक सुरुप्प सुरुप्प तानी । बिजुलीको गतिमा उ त्यहाँबाट निस्किई । यो उन्माद हो या आक्रोश मैले केही बुझ्न सकिन ।
 
उसमा यो परिवर्तन एक्कासी कसरी जाग्यो मैले केही बुझ्न सकिन । सुनेको थिएँ युरोप, अमेरिकातिर यस्तो खालका उन्माद बढाउने क्याप्सुल वा अन्य केही टनिकहरु पाइन्छ । शायद अमेरिकाबाट आउँदा प्रकटले त्यस्तो केही लिएर आएर सेवन गराएको थियो कि ?
 
अर्को मनले शंका लाग्यो–प्रकटसँगको बसाईले उसमा कतै वासनाको भोक जागेको त होइन ?
 
आखिर म उसका लागि गर्नसक्ने उपचार या भोक टार्नसक्ने नैतिकतामा छैन ।
 
अर्को हप्ता शुक्रबार उ आज त पक्कै संयमित हुनेछ र भेटघाट हुने स्थलको खबर आउला भनेर प्रतिक्षामा छु । तर उसले खबर गरिन । मैले पनि कल गर्ने र मेसेज गर्ने आँट गरिन । किनकी उसले मसँगको दुई वर्षे संगतलाई ‘बालुवामा तेल हालेको’ उपमा दिइसकेकी छ ।
 
दुईवटा शुक्रबार गए । तीनवटा, चारवटा, पाँचवटा, ६ वटा शुक्रबार हुँदै ६ महिना बिते । अब मैले मेरा शुक्रबार दुई वर्ष अघिको जस्तो डेरामा बसेर मुभी हेर्नेमा बित्न थाल्यो । म पनि जयाको आगमनका दिनहरु कुर्न थालेँ ।
 
लगभग दुई वर्ष पछि म पनि स्थायी बसोबासका लागि क्यानडा जाने तयारीको सिलसिलामा शैक्षिक प्रमाणपत्रहरु प्रमाणीकरणका लागि मोटरसाइकल चढेर सिंहदरबार भित्रको शिक्षा मन्त्रालय जाँदैथिएँ । मेरो पछि जया पनि थिइन् । सिंहदरबारको दक्षिणीगेटबाट भित्र छिरेर थोरै अघिल्तिर रहेको खानेपानी तथा शहरी विकास मन्त्रालयबाट अघि बढ्दै थिएँ । विपरित दिशाबाट आइरहेको गाडीबाट कसैले बोलाए जस्तो लाग्यो । मैले बाइक रोकेँ । गाडीबाट बोलाउने मुना रहिछन् ।
 
उनले नजिकैको क्यान्टिनमा गएर चिया पिउने प्रस्ताव राखिन् । मैले अस्विकार गर्न सकिन ।
 
‘तिमी त अझै अमेरिका गएकी रहिनछौ मुना ?’ मैले परिस्थितीलाई सहज बनाउन प्रयास गर्दै सोधेँ ।
 
‘अमेरिका नजाने भएँ शिशिर सर । मेरो र प्रकटका बीचमा जसरी कागजी बिहे भएको थियो त्यसैगरि कागजी रुपमै डिभोर्स भैसक्यो’ म चकित परेँ उसका भनाईले ।
 
‘म वकालत क्षेत्रमा निकै चर्चित भैसकेँ नि । त्यही भएर अमेरिका नजाने निधो गरेँ मैले’ उसले भनी–‘प्रकटसँग पनि मेरो सम्बन्ध सुमधुर नहुने भयो । उसले अविश्वास ग¥यो । अहिलेनै शंका गरेपछि भोली कसरी सम्बन्ध दिगो हुनसक्छ ?’
 
मनमनै मैले सोचेँ–म सँग हाकाहाकी त्यस्तो प्रस्ताव राख्नेले अरुसँग के गरेकी होला ? अनि कसरी सम्बन्ध सुमधुर होस् । तै पनि मैले त्यस विषयमा केही बोल्नु उचित ठानिन ।
 
‘उसो भए यतै बिहे भयो ?’
 
‘हो । दुई महिना अघि बिहे भयो । कानुन क्षेत्रकै अधिकृत हुनुन्छ उहाँ । दुई वर्षदेखि हाम्रो चिनजान र सम्बन्ध थियो । उहाँ पनि यहीँ कानुन मन्त्रालयमा काम गर्नुहुन्छ । हाम्रो क्षेत्र पनि मिल्यो, भावना पनि मिल्यो’ उसले भनी ।
 
म भने प्रकटले मुनामाथि गरेको विश्वास, लगानीलाई मनमनै सम्झिदैछु । प्रकटले सातहजार डलर दिएर किनिएको मरुन कलरको त्यही आइटेन अझै चढ्दैथिई मुना ।
 
‘अनि प्रकट ?’
 
‘मलाई उसका बारेमा अब जानकारी राख्नु र अपडेट हुन जरुरी छैन । हाम्रा बाटा अलग भैसके । उसले मेरो आवश्यकता र भावनालाई बुझेन । एक वर्षदेखि हामीले एक अर्कालाई सहमतिमै डिभोर्स गर्यैाँ ।’
 
उसको कस्तो भावनालाई बुझेन प्रकटले म बडो अचम्ममा परेँ । उसको हातमा हेरेँ प्रकटले पठाएको त्यही एप्पल वाच थियो । फोन उही आइफोन एट थियो । जसमा पहिलोपल्ट उसले प्रकटको फोटो देखाएकी थिइ ।
 
उसँग बसेर चियाको त्यो कप रित्याउन पनि मलाइ उकुसमुकुस भयो ।