मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा

चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा


चितवन । चितवन जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । रत्ननगरमा बुधबार आयोजित विशेष कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेका हुन् । 
 
प्रमुख अतिथि लामाले चितवनको भेटेरिनरी अस्पतालका पशुसेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गर्दै दूधमा आत्मनिर्भर जिल्लाको औपचारिक घोषणा गरेका हुन् । 
 
मन्त्री लामाले चितवनमा वार्षिक १ लाख ५ हजार ६०९ मेट्रिक टन दूध उत्पादनको परिमाणलाई आधार मान्दै विधिवतरुपमा दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरेका हुन् । चितवनमा वार्षिक प्रतिव्यक्ति आवश्यकताभन्दा ७८ लिटर दूध बढी हुन गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले गरेको तीन महिनाको अध्ययनले चितवन पूर्णरुपमा दूधमा आत्मनिर्भर बन्न सफल देखिएको हो । 
 
स्मरण रहोस्, यसअघि काभ्रेलाई आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । केन्द्रका विज्ञ डा श्रेष्ठका अनुसार विश्व खाद्य संगठनले एक व्यक्ति स्वस्थ रहन दैनिक २५० एमएल दूध प्रयोग गर्नुपर्ने जनाएअनुसार एक व्यक्तिले वर्षमा औसत ९१ लिटर दूध प्रयोग गर्नुपर्ने हुन्छ । चितवनमा ६ लाख २५ हजार जनसंख्यालाई दैनिक सरदर १ लाख ५६ हजार लिटर दूध चाहिन्छ । तर, जिल्लाको उत्पादन २ लाख ९० हजार लिटर हुन्छ । जिल्लामा खपत भई बढी भएको १ लाख ३४ हजार दूध काठमाडौँ, पोखरालगायतका सहरमा निर्यात हुन्छ । 
 
चितवनमा सबैभन्दा बढी गाईको दूध उत्पादन हुन्छ । यहाँ दूध दिने गाईमात्र ४९ हजारको संख्यामा छन्, जसमध्ये उन्नत जातका बढी दूध दिने गाई ३९ हजारको हाराहारीमा छन् । यस्तै १९ हजार भैंसीमा नौ हजार उन्नत जातका छन् । 
 
चितवन चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले बताएअनुसार चितवनमा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ संस्था क्रियाशील छन् । पशुपालनमा सरकारको सहयोग रहने हो भने पाँच वर्षभित्रै ५० प्रतिशत दूधको उत्पादन गर्न सकिन्छ । 
 
घोषणासभामा चितवन जिल्लाका दुग्ध सहकारी संस्थाहरुमार्फत् किसानलाई अनुदानसमेत वितरण गरिएको थियो । प्रदेश नं ३ को सरकारले चितवनका ७४ वटा दुग्ध सहकारी संस्थाहरुलाई प्रतिलिटर ५१ पैसाका दरले ९० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको हो ।
 
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल, प्रदेश सांसद्हरु कृष्ण भूर्तेल, रामलाल महतो, कञ्चन खनाल, प्रदेश ३ का सहकारी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेललगायतले मन्तव्य राख्दै चितवनले दूधमा आत्मनिर्भर भई प्रदेशकै गरिमा राखेको उल्लेख गरे ।