मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुहान सुकेपछि १७ हजार मानिसलाई खानेपानीको हाहाकार

मुहान सुकेपछि १७ हजार मानिसलाई खानेपानीको हाहाकार


बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । बडिमालिका नगरपालिकाले खानेपानी समयमै व्यवस्थापन गर्न नसक्दा सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएको हो । 
 
खानेपानीको हाहाकार भएपछि सदरमुकाम मार्तडीमा बसोबास गर्ने करिब १७ हजारभन्दा बढी जनसङ्ख्या शुद्ध खानेपानी पिउनबाट वञ्चित भएका छन् ।
 
बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन गर्नकै लागि करोडौँ खर्च गरिसकेको छ तर पनि शुद्ध खानेपानी भने सदरमुकामवासीले पर्याप्त मात्रामा उपभोग गर्न नपाएको स्थानीयवासी बुद्धि बोगटीले बताए । 
 
सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएपछि एक गाग्री पानी ल्याउन यहाँका स्थानीयवासीले घण्टौँसम्म समय बिताउनुपर्दा घरमा गर्नुपर्ने अन्य कामधन्दा गर्नका लागि निकै नै कठिनाइँ हुने र यसले खासगरी यहाँका महिला र बालबालिकाको कार्यबोझ बढाएको बोगटीको भनाइ छ ।
 
बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक सूर्यकिरण विकले सदरमुकाम मार्तडीको खानेपानी यही असार मसान्तभित्र व्यवस्थापन गरिने बताए । केही दिनयता खानेपानीको आंशिक अभाव देखिए पनि छिट्टै सदरमुकामवासीले पर्याप्त मात्रामा खानेपानी उपभोग गर्न पाउने विकको भनाइ छ ।
 
सदरमुकाम मार्तडी बडिमालिका नगरपालिकाको ८ र ९ नं वडा पर्दछ । बृहत् मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार खानेपानी उपभोग गर्नका लागि सदरमुकाम मार्तडीमा सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासी गरी झण्डै ४०० भन्दा बढी ग्राहक बनेका छन् ।
 
सदरमुकाम भएकै कारण मार्तडीको जनसङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ भने बडिमालिका नगरपालिकालाई सदरमुकाम मार्तडीमा खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउन कठिनाइ हुने देखिएको छ । पछिल्लो समयमा खडेरीका कारण खानेपानीका मुहानहरू दिनप्रतिदिन सुक्दै गएपछि जिल्लाका अधिकांश ठाउँमा खानेपानीको चरम अभाव हुँदै आएको छ । रासस