मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

निर्माणाधीन क्रिकेट रंगशालाको डोजर प्रकरणका सबै आरोपित रिहा

निर्माणाधीन क्रिकेट रंगशालाको डोजर प्रकरणका सबै आरोपित रिहा


चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबारमा डोजर लगाएको आरोपमा पक्राउ परेका मुख्य नाइकेसहित चारजना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । 
 
बाटोको विवादमा जेठ १५ गते गणतन्त्र दिवसको एकाबिहानै स्थानीयले रंगशालाको बारमा डोजर लगाएर भत्काएका थिए । प्रहरीले डोजर लगाउने मुख्य नाइके प्रकाश कँडेलसहित भैरव बस्ताकोटी, ध्रुव चापागाईं र सुरेन्द्र विकलाई आइतबार राति रिहा गरेको हो । 
 
मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानअनुसार उनीहरुलाई रिहा गरिएको एसपी मल्लले जानकारी दिए । 
 
उनका अनुसार उनीहरुलाई नियमित हाजिर हुने र मुद्दा चल्दाको अवस्थामा कुनै गैरकानूनी काम नगर्ने गरी हिरासत मुक्त गरिएको हो । प्रहरीको हिरासतमा रहेका चार जनाले आइतबार राति नै एक विज्ञप्ति जारी गर्दै भावावेशमा उक्त घटना हुन गएको भन्दै क्षमा याचनासमेत गरेका छन् । 
 
उनीहरुले जारी गरेको चारबुँदे विज्ञप्तिमा तारबार भत्काएकोमा दुःख व्यक्त गर्दै भत्किएको तारबारलाई स्थानीयको सहभागितामा यथास्थानबाट पुनर्निमाण, रोकिएको निर्माण कार्यलाई सुचारु गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई आह्वान् गर्दै आगामी दिनमा सबै किसिमको साथ सहयोग र समन्वय गर्ने प्रतिबद्धता, रंगशालाको पश्चिमतर्फको शान्तिचोकदेखि रामपुर जोड्ने बाटो निर्माण तथा बिस्तारमा सम्बन्धित सरोकारवालासँग छलफल गरी समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । 
 
चार जनाले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उनीहरुले उक्त घटनाले देशविदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रंगशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिबद्धता गरेसँगै उनीहरुलाई प्रहरीले रिहा गरेको हो । 
 
उनीहरुलाई मुक्त गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा लामो छलफल चलेको थियो । उनीहरुलाई भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदीको रोहवरमा छाडिएको हो ।  
 
यसअघि सोही घटनामा संलग्न भई पक्राउ परेका १४ जनालाई जेठ २० गते नै हाजिरी जमानीमा छाडिएको थियो । चार आरोपितलाई पनि निसर्त रिहा गर्नुपर्ने मागसहित स्थानीयले वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयअघिको गेस्ट हाउस चौरमा धर्ना दिएका थिए । स्थानीयले रंगशाला बन्नुपर्छ, बाटो बन्नुपर्छ र आरोपितलाई रिहा गर्नुपर्छ भन्ने प्लेकार्डसहित आन्दोलित भएका थिए ।