मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इटहरीका मेयर चौधरीले ‘बोली फिर्ता’ गर्दै जारी गरे विज्ञप्ति

इटहरीका मेयर चौधरीले ‘बोली फिर्ता’ गर्दै जारी गरे विज्ञप्ति


इटहरी । पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थिति र त्यसले आमसञ्चारमा तरंग ल्याइरहेका बेला इटहरी उपमहागरपालिकाका मेयर द्वारिकालाल चौधरीले आइतबार विज्ञप्ति जारी गरेका छन् । 
 
इटहरीका पत्रकारलाई धम्क्याएको र स्वतन्त्र प्रेसको सम्मान नगरेकोजस्ता आलोचना चुलिएपछि नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको थियो । इटहरीमा मेयर चौधरीविरुद्ध प्रदर्शन गर्दै उपमहागरपालिकाको कार्यक्रम बहिस्कार गर्नेसम्मको चेतावनी पत्रकारले दिएका थिए । 
 
आइतबार मेयर चौधरीले जारी गरेको विज्ञप्तिमा जेठ २१ गते इटहरीका एक पत्रकारको फेसबुक कमेन्टको विषयलाई लिएर आफूलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण आफ्नो भनाइले निज पत्रकार र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै आफ्ना भनाइ फिर्ता लिएका छन् । 
 
सञ्चारजगतप्रति चोट पुर्याउने आफ्नो कुनै मनसाय नरहेको र आगामी दिनमा पनि नरहने विश्वास दिलाउँदै इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रता र संवैधानिक हकप्रति प्रतिबद्ध रहेको बताएका छन् । 
 
उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी दुवै पक्ष परिष्कृत र परिमार्जित बन्दै इटहरीको समृद्धि र विकासमा अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । प्रेस जगतको भूमिकाविना नेपालका ठूलाठूला राजनीतिक परिवर्तनहरु सम्भव हुने थिएनन् । यति गौरवशाली महत्व बोकेको प्रेसजगतले पनि आन्तरिक शुद्धीकरण र सुदृढीकरण गर्न सके सञ्चारजगतको मर्यादामा अझै निखार आउने कुरामा दुईमत नहोला ।’  
 
उनले आफू २४ वर्षकै उमेरमा गाविस अध्यक्ष भएर दुई कार्यकाल परीक्षण भई इटहरी महानगरको नेतृत्व गर्ने जनअभिमतप्राप्त जनप्रतिनिधि भएकाले अनुशासित व्यक्ति रहेको प्रष्ट्याएका छन् । आफू भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियानमा रहेकाले यस अभियानमा सञ्चारजगतको पनि रचनात्मक भूमिका अपरिहार्य रहेको दर्शाएका छन् । इटहरीको विकासका लागि परिवर्तन र समृद्धिको यात्रामा सबैपक्षलाई सामेल भइदिन पनि उनले विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।