मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गरिबीका कारण आत्महत्या : श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली

गरिबीका कारण आत्महत्या : श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली


दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उनको परिवार बिचल्लीमा परेको छ । चरम गरिबीका कारण छोराछोरीलाई पेटभरि खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली भएको हो । 
 
दुई वर्षअघि लोग्नेले यो संसार छाडेर गएपछि छिमेकीको घरमा बस्दै आएकी अमबहादुरकी श्रीमती डल्लीले पाँच छोराछोरीलाई बिहान–बेलुकी हातमुख जोड्न र विद्यालयमा पढाउन निकै समस्या भएको बताइन् ।
 
बिदा र फुर्सदको समयमा गाउँमा काम गरेर सङ्कलन गरेको पैसाले घरखर्च र शैक्षिक सामग्री खरीद गर्ने गरेको कैशाल माविको कक्षा १० मा अध्ययरत रामजालीकी छोरी कुशुमले बताइन् । “अर्काको घरमा बस्छौँ, चुल्होमा मिठो खानेकुरा पाक्दैन”, उनले भनिन् । उनले छिमेकी र आफन्तलाई मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको बताइन् ।
 
गरीबीको कारण जेठी छोरी कुमारी राम्जालीले एसइई उत्तीर्ण गरेपछि पढाइ छाडेर घरखर्च जुटाउन दैनिक छिमेकीको खेतमा काम गर्ने गरेकी छन् । कुमारीले भाइबहिनीको पढाइलाई निरन्तरता दिन ज्याला मजदूरी गर्नुपरेको वडा सदस्य मनकुमार गर्बुजाले जानकारी दिए ।
 
गाउँलेको खेतबारी तथा मेलापर्वमा काम गरेर कुमारीले खर्ज जुटाउने गर्नुभएको छ । उहाँका अनुसार कुमारी पढाइमा समेत अब्बल भए पनि गाउँबाट उच्च शिक्षाका लागि सदरमुकाम जान सक्ने अवस्था नभएकाले घरमै बसेर मेलापात गरी आमा र भाइ बहिनीको हेरचाह गर्नुभएको हो । कुमारीको ज्याला मजदूरीबाट कुसुमले कक्षा १०, कुमारले कक्षा आठ, करिना कक्षा चार र काजल कक्षा चारमा पढ्दै आएका छन्  । करिना र काजल जुम्ल्याहा हुन् ।
 
पढ्ने वातावरण भएमा राम्जालीका छोराछोरी पढाइमा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर गर्बुजाले बताए । उनले  विद्यालयबाट समेत आवश्यक सहयोग गर्ने गरेको बताए । “उनीहरूलाई सहयोगको आवश्यकता छ, आफ्नो खर्च आफँै जुटाउनुपर्ने अवस्थामा छन्”, गर्बुजाले भने ।