विचार / ब्लग

चिठ्ठाको तुजुक

603 पटक पढिएको

– रामचन्द्र भट्ट

हिमालयखबर | 27th May 2019, Monday | २०७६ जेष्ठ १३, सोमबार ०९:५०
आज पनि उ स्टोरमा आइ । चम्किला आँखा लगाएर उसले निकैबेरसम्म स्क्र्याचर चिठ्ठालाई बाहिरैबाट नियाली । हातमा १० डलरको नोट थियो । त्यो नोटलाई घरि दाहिने हात त घरि देब्रे हातमा साटफेर गर्दै उसले धेरैबेरसम्म स्क्र्याचर चिठ्ठालाई हेरिरही । शायद कुन किन्दा पर्ने संभावना हुन्छ भनेर सोचेकी होला । उसको आँखामा ठूलो आशा र अपेक्षा झुण्डिएको छ चिठ्ठाप्रति, जसरी अधिकांश अमेरिकनहरुमा देखिन्छ ।
 
‘टु बोनस क्विक सेभेन, वान डाइमण्ड माइन एण्ड वान पकेट चेन्ज’ हँसिलो अनुहार लगाउँदै उसले स्क्र्याचर मागी । जम्मा चार वटा स्क्र्याचर चिठ्ठा किनी उसले १० डलरको । अघिदेखि हातमा साटफेर भैरहेको त्यही १० डलरको नोटलाई मेरो हातमा थमाई उसले ।
 
‘गुड–लक’ मैले उसलाई भनेँ । उसलाई मात्र होइन, स्क्रयाचर, मेगा मिलियन, पावरबल लगायतका चिठ्ठा किन्ने जो कोहीलाई मैले भन्ने रेडिमेड आशिष हो यो । मेरो आशिषले कसैलाई चिठ्ठा परेको जानकारी त छैन । तरपनि मैले त्यसो भनिदिँदा किन्नेको मुहारमा खुशीयाली छाउँथ्यो । मैले ग्याँस स्टेशनमा काम गर्ने क्रममा सिकेको ‘कस्टमर सर्भिस’ को बेसिक शुत्र यो पनि थियो ।
 
उ हातमा चारवटा स्क्र्यातर चिठ्ठा बोकेर बाहिरिइ । बाहिर पार्किङमा राखेको कारको ढोका खोली र भित्र पसेर स्क्र्याचरका नम्बर र संकेतहरुलाई खुर्किन थाली । स्टोरमा अरु ग्राहकहरु आउन थाले । म ग्राहकले ल्याएको सामानहरु रजिस्टरमा रिङ (बिलिङ) गर्न थालेँ । 
 
केही बेरपछि एउटा स्क्र्याचरलाई बुढी औँला र चोर हौलाले च्यापेर हल्लाउँदै उ स्टोरभित्र पसी । अलिकति मुस्कुराहट थियो अनुहारमा । 
 
‘फ...ङ्ग ट्वेन्टी बक्स वन्ली’ थोरैमात्र जितेकोमा उ चिठ्ठालाई सराप्छे । उसको लालशा छ ५० हजार डलर जित्ने । यो रकम डाइमण्ड माइनको सबैभन्दा ठूलो धनराशी हो । उसले १० डलर जित्दा १० डलर त नाफै भएको छ । तर यो रकम उसका लागि केही होइन । दिनमै उसले कहिले २०/२५ डलरदेखि लिएर ५० डलरसम्म चिठ्ठामा खर्च गर्दै आएकी छ । जीवनको एक दिन पनि कुनै चेन्ज ल्याउन नसक्ने रकम उसका लागि केही होइन । 
 
‘कमसेकम एक रात भएपनि ब्वाईफ्रेण्डसँग बारमा गएर टन्न पिउने र नाच्न पुग्नेगरि चिठ्ठा जितियो भने त्यसले अर्थ राख्छ,’ उसले एक दिन मसँग भनेकी थिइ । जितेको २० डलरमध्य पाँचवटा पावरबल र बाँकी १० डलरको फेरि स्क्र्याचर किनी । 
 
मैले फेरि पनि भने–‘गुड–लक ।’
‘मलाई पावरबल पर्यो भने तिमीलाई एक मिलियन दिन्छु’ उसले हाँसेर भनि । 
 
मैले सोधे–‘साँच्चै ?’ 
‘हो, मलाई यो दुईसय ४६ मिलियनको पावरबल पर्यो भने तिम्लाई एक मिलियन पक्का’ उसले दोहोर्याएर भनी । उसले त्यतिमात्र के भनिदिएकी थिइ मलाई यसैयसै लोभ जाग्यो । आज बुधबार राति खोलिने पावरबलको रकम बढ्दै गएर दुईसय ४६ मिलियन डलर पुगेको छ । यो रकम भनेको २४ करोड ६० लाख डलर अर्थात नेपाली मुद्रामा हिसाब गर्दा २६ अर्ब रुपैयाँ हुन्छ । मनमनै म सोच्छु–यो रकम मलाई पर्यो भने त बौलाहा पो हुन्छु होला । के गर्नु हो त्यत्तिका पैसा ? 
 
उसलाई पर्यो भने दिन्छु भनेको एक मिलियन पनि व्यबस्थापन गर्ने हैसियत छैन मसँग । मनमनै योजना बनाउछु म । उसलाई चिठ्ठा परेर एक मिलियन दिइ भने भोलीपल्टै यो नेब्रास्का छाडेर टेक्सस जान्छु । तीनलाख डलरमा राम्रो घर किन्छु र बाँकी रकम चाँही बिजनेसमा लगाउँछु । ४०/५० हजार चाँही नेपालमा पठाइदिन्छु बा–आमालाई । मुद्धती खातामा त्यति रकम राखियो भने त बा–आमालाई जीवनभर व्याजैबाट खर्चबर्च पुग्छ । 
 
म ‘दी फेबल अफ इसप’ मा बर्णित पिठेजोगीको कथा जस्तैगरि उसले दिने भनेको एक मिलियनको योजना बनाउँदै थिएँ । स्टोरको ढोकाबाट ग्राहक बजेको संकेत दिने घण्टी बजेपछि झल्यास्स भएँ । 
 
स्टोरमा थरिथरिका ग्राहकहरु आउँछन् । मैले काम गर्ने यो स्टोरमा ग्याँस र डिजेलका १२ वटा पम्पहरु छन् । गुजराती हो यो स्टोर । तर उ महिनामा मुस्किलले दुई पटक आउँछ । मेनेजर चाँही झापातिरका दाइ छन् । उनै दाइका कारण म नेपालीको नाक मुख देख्नै नपाउने यो नेब्रास्काको बिज्रपोर्ट सिटीमा आइपुगेको छु ।
 
दिउँसोको सिफ्टमा काम गर्छु म । कहिले १२ बजे त कहिले दुई बजे काममा पुग्छु र राति १२ बजेसम्म व्यस्त हुन्छु । 
 
मैले स्टोरमा काम गर्दा धेरै कुरा बुझेँ । अमेरिकाको गरीबहरुको अवस्थालाई नजिकबाट नियाल्ने मौका पनि मिल्यो । मैले जीवनमा सोचेको पनि थिइन कि अमेरिकामा पनि गरीबहरु हुन्छन् भनेर । नेपालको जस्तो खान, लगाउनै नपाउने गरिब त होइनन् । सरकारले त्यस्तालाई मासिक रुपमा रकम दिएको हुन्छ । तरपनि घर नहुने, नियमित कमाई नहुनेलाई गरिब भनिदो रहेछ अमेरिकामा ।
 
मैले अमेरिकामा देखेको अर्को चिज भनेको चिठ्ठा प्रतिको क्रेज पनि हो । अमेरिकीहरु काम पनि गर्छन् र थेरथोर भाग्यमा विश्वास पनि गर्दा रहेछन् भन्ने कुरा मैले चिठ्ठा किन्नेहरको ताँती देखेर पनि महसुस गरेँ । स्टोरमा काम गर्दाको अर्को राम्रो पक्ष भनेको निर्धक्कसँग अंग्रेजी बोल्न र बुभ्mन सक्ने बनायो मलाई । 
 
स्क्र्याचर किनिरहने ती महिला दिनमा दुईपटकसम्म स्टोरमा आउँछिन् । उनी कहिलेकाँही सोडा, बियर, केही चिप्सहरु किन्थिन् । उनी नियमित आउने चाँही चिठ्ठाकै लागि थियो । 
 
‘यो मेरो नयाँ ब्वाइफ्रेण्ड’ एक दिन उनले एउटा पुरुषलाई चिनाई । उमेर उस्तैउस्तै हुँदो हो । हुनतः अमेरिकीहरुको उमेर अनुमान गर्न हामीलाई कठिननै हुन्छ । मेरो अनुमानमा त्यस्तै ३५ वर्षको हुँदो हो उसको ब्वाईफ्रेण्ड ।
‘नाम त अहिलेसम्म भनेकी छैनौ तिमीले ?’ मैले साधेँ।
 
‘ओहो, अहिलेसम्म मेरो नाम तिमीलाई थाहा छैन ? म जस्मिन’ उसले भनि । 
‘राम्रो नाम रहेछ तिम्रो । म चाँही आलोक ।’
‘ए आलोक । गुड नेम?’ उसले मेरो नामलाई एकै पटकमा सही उच्चारण गरि ।  उसले आलोकको अर्थ थाहा पाएर राम्रो नाम भनेकी हो कि त्यत्तिकै भनेकी हो भन्ने कुरामा मैले चासो पनि दिइन । अंग्रेजी राम्रोसँग नआउने भएर म प्रायः दोहोरो बातचित गर्दैनथेँ । 
उसको अनुहार हेर्दा स्पेनिस जस्ती थिई । स्पेनिसको अंग्रेजी उच्चारण पनि नेपालीको जस्तै हुने हुँदा मेरो नामको उच्चारण गर्न उसलाई त्यति अप्ठेरो परेन भन्ने मलाई लाग्यो । 
पहिले पहिले एक्लै आएर चिठ्ठा, स्क्र्याचर किन्ने जस्मिन ब्वाईफ्रेण्डका साथ आउन थाली । जस्मिन असाध्यै चञ्चल खालको थिइ । प्रायः हाफ–पाइन्टमा आउँथी उ । अनुहार गोरो र कपाल कालो थियो । आँखा भने अलिअलि खैरा थिए । 
ब्वाइफ्रेण्ड सोझो र भलादमी जस्तो थियो । चिठ्ठामा धेरै रकम खर्चिएको ब्वाइफ्रेण्डले कताकता नरुचाएको जस्तो देखिन्थ्यो । ‘भयो क्या, तिमीले कहिल्यै जित्ने होइन चिठ्ठा धेरै नकिन । बरु टन्न बियर पिउँ’ उसले प्रायः भन्थ्यो । तर दिनको २०/२५ डलर खर्च नगरि उसको चित्तै बुझ्दैन ।
उसले काम चाँही के गर्थी मलाई सोध्ने आँट आएन । सामान्यतया अमेरिकामा काम कहाँ गर्छस् भनेर कसैले सोधिहाल्यो भने त्यसलाई त्यति निको मानिदैन । त्यसरी सोध्नु सभ्यता भित्र पर्दैन । ‘काम गर्छु’ भनेपछि पुग्छ । के, कहाँ, कति पारिश्रमिक आउँछ भनेर कसैले सोध्यो भने त्यसले न्यूनतम अमेरिकी सभ्यता सिकेको रहेनछ भनेर ठान्दा हुन्छ । 
धेरै चिठ्ठा किनेको देखेर ब्वाईफ्रेण्ड मसँग खुसुक्क भन्थ्यो–‘क्रेजी छे मेरो नयाँ गर्लफ्रेण्ड ।’ म हाँस्थे मात्र । किनकी जस्मिनको यो स्वभाव मैले यो स्टोरमा काम गर्न थाल्नुभन्दा पहिलेदेखिकै हो । स्टोरमा पहिलेदेखि काम गर्नेले भन्थ्यो–‘अहिलेसम्म यसले ३०/३५ हजार जति त यहिँ खर्च गरिसकी होला चिठ्ठाको लागि ।’ 
उसले चिठ्ठा जितेर पनि पैसा लगेको मलाई कहिल्यै जानकारी भएन । धेरै रकम जितेको भनेको उसले एकपटक दुइसय डलर जितेकी थिइ । त्यस दिन उसले एकसय डलरको चिठ्ठा किनी । एकसय डलरको चाँही खानेकुरा, बियर र गाडीका फुल ट्यांक ग्याँस हालेकी थिइ । 
उसको खर्च गराई र चिठ्ठामा देखिएको पागलपनले देख्दा मलाई लाग्थ्यो उ राम्रै कमाउँछे । उसको कामको फिक्स कुनै समय थिएन । कहिले दिउँसो ३ बजेतिर आउँथी र भन्थी–‘भरखर काम छुटेर आएको ।’ कहिले राति ८ बजेतिर आउँथी र भन्थी–‘दिनभरि घरैबाट कम्प्युटरमा बसेर काम गरेँ आज ।’ कहिले चाँही राति काममा जानुछ भन्थी । के काम हो मैले कहिल्यै सोधिन ।
केही महिनापछि जस्मिन रिसाउँदै रातोरातो अनुहार पार्दै स्टोरमा प्रवेश गरि । उसको पछिपछि ब्वाईफ्रेण्ड पनि थियो । उ सम्झाउने प्रयास गर्दैथियो । ‘मेरो डलर हो, तिमीलाई के चासो ?’ भन्दै उसले अपशव्द पनि बोली । ब्वाइफ्रेण्ड संयमित हुन्थ्यो । उसले आज चिठ्ठा नकिनेर अरुनै काममा खर्च गर्न भन्दैथियो । तर जस्मिन मानिन । उसले २० डलरको चिठ्ठा किनीछाडी । 
अघिल्लो दिन झगडा गरेका उनीहरु भोलीपल्ट फेरि मिलेर आए । ‘सरी है आलोक, हिजो म अलि तनावमा थिएँ यसैका कारणले’ जस्मिनले ब्वाइफ्रेण्डतिर देखाउँदै भनि । ब्वाइफ्रेण्ड हाँस्दै छ । 
‘यो चिठ्ठामा पागल आइमाइ हो,’ उसले यतिमात्र भन्यो–‘चिठ्ठामा खर्च गरेको जति रकम पनि यसले कहिल्यै जित्दिन ।’ उसको कुरा मलाई पनि सही लाग्यो । 
अमेरिकामा चिठ्ठामोह बडो अजीवको छ । छोपिएका अंक, अक्षर र संकेतहरुलाई खुर्किएर त्यसको आधारमा तत्काल पाइने ‘इन्स्ट्यान्ट लोटरी’ स्क्र्याचरदेखि लिएर हरेक हप्ता दुई दिन खुल्ने र मिलियन डलरबाट सुरु हुने पावरबल, मेगामिलियन प्रति मानिसहरुको त्यत्तिकै आशा अनि लोभ देखिन्छ । अमेरिकाका ६ राज्यहरु अलाबामा, अलास्का, हवाई, मिसिसिपी, नेभडा र युटा राज्य बाहेक बाँकी ४४ राज्यहरुमा दैनिक करोडौँ डलरको चिठ्ठा कारोवार हुन्छ । सरकारलेनै यसको सञ्चालन र व्यबस्थापन गर्छ । अहिलेसम्म चिठ्ठामा बदमासी सरकार, कर्मचारीले गरेको, आफ्नो मानिसलाई पारेको भन्ने कुरा सुनिएको छैन । कहिलेकाँही सोच्छु, नेपालमा पनि यस्तो इमान्दारिता भैदिए ?
जब पावरबल र मेगामिलियनको चिठ्ठा रकम माथि चढ्दै जान्छ, अमेरिकामा अरुबेला खासै चासो नदिने र नकिन्नेहरु पनि लाइन लाग्छन् । सबैले योजना बुन्छन् । यो रकम मलाई पर्यो भने त यसो गर्थे, उसो गर्थे भन्नेहरु हुन्छन् । 
जस्मिनसँग एक खालको मित्रता प्रगाढ हुँदै गएको छ मेरो । उसँग ग्राहकको सम्बन्धबाट माथि उठेर साथी जस्तो भएकी छ । म अमेरिका आएको दुई वर्षमात्र भएको छ । मलाई यो समाजको बारेमा धेरै सिक्नु र जान्नु छ । अमेरिकी समाजका बारेमा उसले मलाई कहिलेकाँही जानकारी दिन्थी । अरु ग्राहक नभएको बेला पर्यो भने हामी कफी पिउँदै गफ पनि गथ्र्यौ । 
एक साँझ जस्मिन हुर्रिएर स्टोर पसी । उ त्यसरी रिसाएको मैले यसअघि कहिल्यै देखेको थिइन । उसको पछिपछि ब्वाईफ्रेण्ड पनि थियो । ब्वाईफ्रेण्ड सम्झाउँदै थियो । ‘नो मोर विथ यु । आलोक मलाई तिम्रो फोन एक मिनेटको लागि दिन्छौ ? म पुलिसलाई फोन गर्छु,’ उसले फोन मागी । 
ब्वाईफ्रेण्ड चाँही याचनाको भीख माग्दैथियो । ‘प्लिज फोन नदेउ है उसलाई । यो हाम्रो सामान्य विवाद मात्र हो’ ब्वाइफ्रेण्डले भन्यो । 
के गर्ने, के नगर्ने म द्विविधामा परेँ । फोन नदिउँ जस्मिन जस्तो लोयल ग्राहक गुमाउनुपर्ला भन्ने डर । दिउँ त लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन् । भोलीनै मिल्नसक्छन् ।
जस्मिनले अंग्रेजीमा छाडा र फोहोर शव्द बोल्दै ब्वाईफ्रेण्डलाई गाली गर्दैथिइ । उसले आफ्नो सेलफोन माग्दैथिइ । सेलफोन ब्वाईफ्रेण्डले लिएको रहेछ । झगडा परेर पुलिसलाई फोन गर्छु भनेपछि ब्वाइफ्रेण्डले फोन लिएको हुनुपर्छ । जस्मिनलाई जसोतसो उसले फकाएर लग्यो ब्वाइफ्रेण्डले । 
निकै दिनसम्म जस्मिन स्टोर आइन । मलाई लाग्यो ब्वाईफ्रेण्डसँग अवश्य केही लफडा पर्यो होला । तरपनि मैले के नै सहयोग गर्न सक्थेँ र ? अंग्रेजी भाषामा नत मेरो पोख्तनै छ, नत कानुनी, नत यहाँको कल्चरनै राम्रोसँग बुझेको छु मैले । त्यसैले यस्ता लफडा पर्दा सकभर टाढै रहनुपर्छ भनेर साथीभाईले दिएको सुझावलाई मैले ग्रहण गर्दै आएको छु ।
एकदिन उ हाँस्दै आइ स्टोरमा । ‘मैले त्यो पागल ब्वाईफ्रेण्डलाई छाडिदिएँ । त्यसलाई किक हाने मैले । मसँग अब कोही छैन । अपार्टमेन्टमा एक्लै छु’ उसले भनि । 
‘ए, त्यति सानो विवादमा किन छाडेको त ?’ मैले सोधेँ ।
‘त्यसलाई मैले चर्चबाट उद्धार गरेर ल्याएँ । मलाईनै दुव्र्यबहार गर्यो । त्यो सँग बस्नुभन्दा त एक्लै बस्नु मलाई ठीक छ ।’
‘अब एक्लै पो भयौ त्यसो भए ?’ मैले जिज्ञासा राखेँ ।
उ हाँसी । ‘जन्मिदा एक्लै आयौँ हामी । नाता सम्बन्ध, परिवार, साथीभाई क्रमशः जोडिँदै आएका हुन् । ब्वाईफ्रेण्ड भन्ने चिज रुप, जवानी देखेर समाहित हुने पात्र हुन् जस्तो मात्र मलाई लाग्छ । ब्वाईफ्रेण्ड भेट्दा नत खुशी हुनुनै पर्छ, नत तोडिँदा दुःखी हुनुनै पर्छ’ उसको भनाईमा यथार्थता लुकेको थियो । 
‘तिमी बन्छौ त मेरो ब्वाईफ्रेण्ड ?’ उसले मलाई जिस्काई । म अविवाहित भएको कुरा उसलाई पहिलेनै भनिसकेको थिएँ । उमेरले म भन्दा १२/१३ वर्ष जेठी जस्ती भएपनि उसले मलाई ब्वाइफ्रेण्ड बनाउने प्रस्तावले म लाजले भुतुक्क भएँ । 
‘यतिका दिनसम्म चिठ्ठा किनेकी छैनौ । आज कुन किन्ने त ?’ मैले उसको व्यक्तिगत प्रश्नबाट भाग्दै सोधेँ । ब्वाईफ्रेण्डले छाडेको बेला छ, फेरि लिसो टाँसिएजसरी टाँसिइ भने त जीवन वर्वादै हुन्छ । 
उसले हाँस्दै केही स्क्र्याचर, पावरबल, मेगामिलियनका टिकट किनी । आज उसले बाहिर कारमा बसेर स्क्र्याच गरिन । हतार भएको संकेत गर्दै उ स्टोरबाट निस्की । 
मैले दिनहुँ कम्तिमा दुईसय ग्राहकहरुसँग कुराकानी गर्छु । कतिपय ग्राहकहरु बोलक्कड हुन्छन्, कति चाँही बोल्न पनि पैसा पर्ला जस्तो व्यबहार गर्ने पनि हुन्छन् । सबैलाई खुशी पार्दै काम गर्नु कम्ति गाह्रो छैन । फेरि अमेरिकामा एउटा अर्को सिद्धान्त रहेछ–‘कस्टमर इज अलवेज राइट अर्थात ग्राहक सधैँ सही हुन्छन्’ भन्ने । कसैले ‘किप दी चेन्ज’ भन्दै डलरसम्म छाड्छन् भने कोही ‘सर्ट’ भन्दै थोरै दिन्छन् । यस्तैयस्तै बराबरीमा चलिरहेको हुन्छ स्टोरको कारोवार । शुक्रबार एकाध डलर समेत ‘तिमीनै राख’ भनेर जाने ग्राहक सोमबार पुग्दा नपुग्दै ‘हे म्यान डु यु ह्याभ अ क्वाटर । आइ ह्याभ सर्ट’ भन्दै आइपुग्छन् । यसरीनै चलेको छ अधिकांश ग्याँस स्टेशनको व्यापार । तर अधिकांश ग्राहकहरु इमान्दार हुन्छन् । लुट्ने छल्ने नियत भएकाहरु कमै हुन्छन् । 
जस्मिनको भुतपूर्ब ब्वाईफ्रेण्ड पनि नजिकै कतै बस्थ्यो । उ पनि स्टोरमा आउँथ्यो । तर उसले चिठ्ठा किनेको मेरो सम्झनामा छैन । बियर, चुरोट, चिप्स, सोडा किनेर जान्थ्यो उ । 
म उसलाई पनि जीवन कसरी चलिरहेको छ भनेर सोध्थेँ । उ खुशीनै छ । ‘पागल आइमाइसँग बस्नुभन्दा त एक्लै जीवन बिताउनु ठीक’ उसले एकदिन भन्यो । 
जे होस् दुबै जना म काम गर्ने स्टोरका राम्रा ग्राहक थिए । दुबै मसँग राम्रो व्यबहार गर्छन ।
‘हिजो राति हामी सँगै सुत्यौ नि’ एक दिन जस्मिनको भुतपूर्ब ब्वाइफ्रेण्डले सुनायो । मलाई अचम्म लाग्यो । 
‘फेरि तिमीहरु मिल्यौ ?’ मैले सोधेँ । 
‘मिलेको त होइन । हामीले सँगै रात बितायौँ’ उसले जवाफ दियो । बडो आश्चर्यजनक जवाफ थियो मेरा लागि । 
जे होस् उनीहरु दुबै मेरा लागि रमाईला साथी भएका छन् । 
कहिलेकाँही उनीहरु सँगै पनि आउँछन् स्टोरमा । ‘यसलाई चिठ्ठा देउ, यसले किन्ने भनेकै त्यही त हो’ उसको भुपु ब्वाइफ्रेण्डले जिस्काउँथ्यो । जस्मिन पनि जिस्किँदै लात्तिले उसको हिपमा हिर्काउँथी । 
एकदिनको घटना हो । म घरबाट काममा जाँदै गर्दा नेपालबाट फोन आयो । दाइले गर्नुभएको थियो फोन । मेरा लागि केटीको कुरा चलिरहेको रहेछ । उहाँले राम्रो परिवार र भरखरै नर्सिङको पढाई सकेको केटी भएको सुनाउनुभयो । 
उहाँले मिलेसम्म माघमा आएर बिहे गर्नुपर्छ भनेर दवाव दिनुभयो । म माघमा त होइन, बैशाखमा जाने सोचाईमा थिएँ । ट्यालेन्ट नर्स भए भने त अमेरिका आएपछि लामो समय खाली हात बस्नु नपर्ने मात्र होइन, राम्रै रोजगारी पनि मिल्छ । 
गाडीलाई पार्किङ गरेर म झरेँ । स्टोर बाहिरै बसेर दाजुसँग फोनमा कुराकानी गर्दैथिएँ म । जस्मिन पनि गाडीबाट झरेर मेरो नजिकै उभिएर केही चिठ्ठाहरु स्क्र्याच गर्न थाली । उ घरिघरी मेरो अनुहारतिर हेर्दै थिइ, घरिघरी मुस्काउँदै पनि छे । मलाई लाग्यो–‘उसले आज राम्रै रकम जितेको जस्तो छ । बडो खुशी देखिन्छे ।’ मेरो ड्युटी सुरु हुने समय भैसकेकोले दाजुसँगको गफ टुङग्याउँदै म भित्र पसेँ । 
मेरो ड्युटी सुरु भयो । मैले रजिस्टर सम्हाल्न नपाई जस्मिन भित्र आइ । उसले बडो उत्सुक आँखाका साथ सोधी–‘तिमी नेपाली हो ?’ 
जस्मिनसँग चिनजान भएको झण्डै दुईवर्षका बीचमा पहिलोपल्ट यो प्रश्नको सामना गरिरहेको थिए म । उसको प्रश्न गराईलेनै मलाई शंका लाग्यो कि कतै न कतै उ पनि नेपाल र नेपालीसँग जोडिएकी त छैन ?
‘हो म नेपाली हुँ । नेपालबाट आएको हुँ । किन एक्कासी यो प्रश्न गर्यौ तिमीले ?’ मैले सोधे ।
‘म पनि त नेपाली हो । मेरो आमा नेपाली हो’ उसले पहिलोपल्ट म सँग नेपालीमै यी दुई वाक्य बोली । तर उच्चारण अमेरिकनको थियो । अमेरिकामा जन्मिएका, यहीँ स्कुल सुरु गरेकाहरुको जस्तो थियो उसको नेपाली उच्चारण । 
झण्डै दुई वर्षको यो शहर बसाईको क्रममा मैले मेनेजर दाइसँग भन्दा बाहेक पहिलो कोही व्यक्ति मसँग नेपालीमा कुराकानी गर्दैथिएँ । यतिका समयसम्म यो ग्याप कसरी भयो भन्नेमा म अन्यौलमा परेँ । 
मेरो मुखबाट अचानक निस्कियो–‘ओ माइ गड । जस्मिन तिमी नेपाली ?’
‘हो आलोक म नागरिकको हिसाबले अमेरिकन हुँ । तर मेरो रगतमा नेपाल र नेपाली छ । गल्ती मेरै हो । मैले अहिलेसम्म तिमी कहाँबाट आएको भनेर सोध्न सकिन । यदी पहिलेनै सोधेको भए यति ठूलो ग्याप पनि हुनेथिएन’ जस्मिनले भनि । 
मलाई अब उसका बारेमा जान्ने व्यग्र रहर जाग्यो । अहिलेसम्म उ नेपाली हो भन्ने अलिकति पनि संकेत थिएन । तर उसको जवाफ पछि मैले उसका जीउडाल, हाउभाउ सबैमा नेपालीपन देख्न पो थालेँ ।
अमेरिकामा तीनलाख नेपाली छ भन्छन् । तर अधिकांश न्यूयोर्क, भर्जिनिया, टेक्सस, क्यालिफोर्निया, कोलोराडोमा केन्द्रित छन् । यो नेब्रास्कामा पनि नेपाली छन् भन्ने त सुनेको छु । तर कहाँ छन्, कुन ठाउँमा छन् केही पत्तो छैन ।
‘मेरो रगतमा आधा नेपाली छ, आधा अमेरिकन’ उसले भनि । म उसको जीवनी बुझ्न व्यग्र छु । उसको कथा सुन्न आतुर छु ।
‘ल भन जस्मिन, तिम्रो कहानी’ मैले अनुरोध गरेँ ।
‘लामो छ आलोक मेरो कहानी । तिमी काममा बिजी पनि छौ । भोली कतिखेर फुर्सद छ तिमीलाई ?’ उसले सोधी । 
भोलीपल्ट काममा आउनुभन्दा अघि उसँग स्टोर नजिकैको स्टारबक्समा भेट्ने गरि त्यसदिन हामी छुट्टीयौँ ।
राति सुत्दा पनि कतिखेर भोली दिउँसो ११ बज्छ र उसलाई भेटौँ, उसको रहस्य थाहा पाउँ भनेजस्तो भैरह्यो । 
म स्टारबक्समा पुग्दा १०ः४५ भएको थियो । हामीले तोकेभन्दा १५ मिनेट अघिनै म त्यहाँ पुगेको थिएँ । मैले अमेरिकानो एक्स्प्रेसो अर्डर गरेँ । जस्मिन आइपुग्न बाँकीनै थियो ।
उनी दिएको समयमै ठीक ११ बजे त्यहाँ आइपुगिन् । उसले आइस टी अर्डर गरि । 
‘तिमीले रातभरि सुत्न दिइनौ नि आज’ मैले कुराको सुरुवात गरेँ ।
उ हाँसीमात्र । अब उसले कुराको सुरुवात गरि । 
–०–
झण्डै चार दशक पहिले मेरो ड्याडी पिसकर्प्समा भोलेन्टिएर भएर नेपाल पुग्नुभएको थियो । जतिखेर म जन्मिएकै थिइन । 
 
उहाँ त्यतिखेर जुफाल भन्ने गाउँमा पुग्नुभएको थियो स्वयमसेवकका रुपमा । उहाँले स्थानीय स्कुलहरुमा अंगे्रजी पढाउनुहुन्थ्यो । 
 
मैले सम्झिए–डोल्पामा पर्ने जुफाल । जहाँ सानो एअरपोर्ट पनि छ । नेपालको सबैभन्दा ठूलो जिल्ला हो डोल्पा । 
 
जस्मिन भन्दै गइन्–‘त्यही मेरी ममीसँग ड्याडीको पहिलो भेट भएको रे । मेरी ममीले भरखरै एसएलसी पास गरेर त्यहीको इलेमेन्ट्री स्कुलमा शिक्षिका हुनुहुन्थ्यो ।’ नेपालमा प्राथमिक विद्यालयलाई अमेरिकामा इलेमेन्ट्री भनिन्छ । शायद त्यही भएर जस्मिनले पनि इलेमेन्ट्री भनेकी हुनुपर्छ । 
 
उहाँहरुले एक अर्कालाई मन पराउनु भएछ । त्यतिखेरको अवस्थामा महिलाले हाइस्कुल ग्राजुएट गर्नुलाई नेपालमा निकै ठूलो मानिन्थ्यो रे । हाइस्कुल ग्राजुएट गर्नुलाई एसएलसी कि के हो त्यस्तै भनिन्थ्यो रे नेपालमा त्यतिखेर ।
 
एक अर्कालाई मन पराउन थाल्नुभएछ । पहिलो प्रस्ताव ड्याडीलेनै राख्नुभएछ । भरखरै युनिभर्सिटी ग्राजुएट भएर जानुभएका मेरो ड्याडी त्यतिखेर २८ वर्षको हुनुहुन्थ्यो । 
 
ड्याडीले दुई वर्ष बिताएर फर्किनुभयो अमेरिका । उहाँ युटाको साल्टलेक सिटीको बासिन्दा हुनुहुन्थ्यो । उहाँ फर्किदा आफूमात्र फर्किनुभयो । तर उहाँहरुबीच फस्टाएको प्रेमका कारण एक वर्षपछि सबै कागजपत्र मिलाएर ममीलाई लिन फेरि नेपाल जानुभएको रहेछ । उहाँहरु बीच प्रेम मात्र फस्टाएन विश्वास र समझदारी पनि त्यत्तिकै मौलाएको थियो । 
 
साल्टलेक सिटी फर्किएपछि ड्याडी स्कुलमा टिचर हुनुभयो । ममीले एउटा कम्पनीको ग्राहक सेवा शाखामा काम गर्न सुरुभयो । उहाँहरुबीच विवाह भएको पाँच वर्षपछि म जन्मिए । 
 
फरक संस्कारमा हुर्किनुभए पनि उहाँहरुबीच बडो राम्रो समझदारी थियो । एकले अर्कालाई सम्मानको परम्परा थियो । त्यसले गर्दा पनि उहाँहरुबीच कहिल्यै कुनै कुरामा विवाद भएको मैले महसुस गरिन । मेरो ड्याडी शाकाहारी । चुरोट, मदिरा कहिल्यै नपिउने । म जन्मिएको दुई वर्षपछि मेरो भाई जन्मियो । हाम्रो परिवार सुखी र खुशी थियो । साल्टलेक जस्तो सुन्दर सिटीमा हामी राम्रो जीवन बिताउदैथियौँ । हाम्रो तीन बेडरुमको सानो र चिटिक्कको दुई तल्ले घर थियो । 
 
सन् १९९२ को जुलाईमा ममी नेपाल जानुभयो । त्यतिखेर ममीलाई उहाँको भाईले एउटा चिठ्ठी पठाउनुभएको थियो । त्यो चिठ्ठीमा उहाँको ड्याडी बिरामी हुनुभएको उल्लेख थियो । त्यो चिठ्ठी पाएको दुई हप्तापछि ममी बैंकक हुँदै नेपाल जानुभयो । जुलाई ३१ मा थाई एअरबाट ममी काठमाडौं पुग्ने टिकट थियो । तर थाई एअर दुर्घटनामा पर्यो । 
 
जस्मिनको आँखामा आँशु थियो । उनका शव्द रोकिए । मैले त्यतिखेरको याद गरे । जतिखेर थाइ एअरको टिजी–३११ उडान नम्बरको विमान हराएको थियो । मकवानपुरको दुर्गम गाउँमा प्लेन खस्यो भनेर तीन दिनसम्म खोजीनीति भएको थियो । शायद त्यतिखेर अहिलेको जस्तो राडार पनि थिएन । तर चार दिनपछि त्यो प्लेन काठमाडौबाट उत्तर–पश्चिम तर्फको नुवाकोटमा पर्ने घ्याङफेदीमा दुर्घटना भएको अवस्थामा फेला परेको थियो । 
 
उनी एक मिनेटसम्म मौन भइन् । आँखा रसाएका थिए उनका । हातमा टिस्यु पेपर निकालेर आँशुलाई पुछिन् । उनी भन्दैगइन्–‘त्यसमा परेर उहाँ बित्नुभयो । त्यो घटनामा ९९ यात्रु र १४ चालकदलका सदस्यहरु समेत गरि एकसय १३ जनाको निधन भएको थियो ।’
 
ममी बित्नुभएपछि हाम्रो जीवन निकै कठिन हुन थाल्यो । नेपाली संस्कारमा हुर्किएका महिलाहरु घरको आन्तरिक व्यबस्थापन, बच्चाहरुको हेरचाहमा असाध्यै अब्बल हुने रहेछन् । ममी हुँदासम्म हामीले कुनै कुराको अभाव महसुस गर्नु परेको थिएन । तर उहाँ बित्नुभएपछि हामी दिदी भाईले धेरै कठिनाई भोग्नुपर्यो । ड्याडीको एक्लो आम्दानीले हामीलाई घरको मोर्गेज तिर्न कठिनाई भयो । घर बेचेर अपार्टमेन्टमा बस्न थाल्यौँ हामी । 
 
ड्याडीले अभाव महसुस हुन नदिन प्रयास नगर्नुभएको होइन । तर परिपक्व महिला नभएको घर व्यबस्थित हुने रहेनछ । 
 
हवाईयात्रुको बिमा वापतको रकम आएको थियो । मोर्गेज तिर्न छाडेर ड्याडीले त्यो रकम म र मेरो भाईको नाममा आधाआधा बैंकमा खाता खोलेर राखिदिनुभयो । हाम्रो सुरक्षित भविष्यका लागि राखिदिनुभएको रहेछ त्यो रकम त्यही रकमले मैले कलेजसम्म पढेँ । 
मैले सोधेँ–‘तिमी नेपाल कहिल्यै गएकी छैनाै ?’
‘किन नजानु ? गएकी छु । तर निकै पछि म गएँ’ उसले भनि । 
 
‘निकै पछि मैले एक पटक ड्याडीसँग ममीको जन्मस्थान, घरमा को को छन् भनेर सोधेँ । उहाँले सबै कुरा बताउनुभयो । 
 
शायद मेरो भाव बुझेर होला उहाँले समरको स्कुल छुट्टीमा नेपाल जाने योजना बनाउनुभयो । ममी दुर्घटनामा पर्नुभएको तीन वर्षपछि अर्थात १९९५ जुलाईमा ड्याडीसँग म र भाई नेपाल गयौँ । मैले भनेँ नि–जुफाल भन्ने गाउँमा जन्मनुभएको हो मेरी ममी । हामी काठमाडौंबाट नेपालगञ्ज र त्यहाँबाट सानो ट्विअटर प्लेन चढेर ४५ मिनेटमा जुफाल पुगेका थियौँ । जुफालको एअरपोर्ट चौर जस्तो थियो । दुईतिर पहाडको खोँच हुँदै प्लेनमा उँड्न मलाई असाध्यै डर लागेको थियो । कच्ची रनवेमा प्लेन ल्याण्ड हुँदा त झनै डर लाग्यो ।
 
हामी जुफालमा १५ दिन बस्यौँ । त्यतिखेर हामी दुनै भन्ने ठाउँसम्म हिँडेर पुग्यौँ । दुनै भन्ने ठाउँ चाँही जिल्लाको सदरमुकाम भन्ने थाहा भयो । टेलिफोन, बिजुली केही थिएन त्यो ठाउँमा । मेरो ममीका ड्याडी÷ममीले मलाई काखमा राखेर माया गर्नुभएको थियो । गाउँको तल ठूलो खोला थियो । मलाई त्यहाँ जाने निकै ठूलो रहर थियो । तर जान दिएनन् कसैले पनि । 
 
मैले त्यतिखेर ममीले पढाउनु भएको स्कुल पनि हेरेँ । स्कुलको भित्ता पनि बलियो थिएनन्, नत विद्यार्थीहरु बस्ने कुर्सी थिए । भुईमा घाँस जस्तो ओछ्याएर उनीहरु पढ्दै थिए । स्कुलमा शैक्षिक सामग्री केही थिइनन् । मलाई त्यहाँको अवस्था देख्दा माया लाग्यो । 
मैले ममीसँग जति नेपाली सिकेकी थिएँ त्यसमा अरु धेरै शव्दहरु सिकेँ जुफाल बस्दा । हुनत पिसकप्र्सबाट गाउँमा जानु अघि ड्याडीले पनि दुई महिना जति सामान्य नेपाली सिक्नुभएको रहेछ । त्यसैबाट मैले नेपाली सिक्न सकेँ ।
 
त्यतिखेर हामी एक हप्ताजति काठमाडाैँमा बसेर भक्तपुर, नगरकोट, पाटन, स्वयम्भुनाथ पनि घुम्यौँ । पशुपतिनाथ मन्दिरभित्र भने पसेनौँ । गैरहिन्दूलाई प्रवेश निषेध थियो । म क्रिश्चियन बाउ र हिन्दु आमाबाट जन्मिएकी थिएँ ।
 
झण्डै तीन हप्ता नेपाल बसेर फर्कियौ हामी । त्यसपछि मेरो युनिभर्सिटीको पढाई सुरु भयो । मेरो लक्ष्य एरोस्पेस इन्जिनियरिङ पढ्ने थियो । तर अण्डरग्राजुएट गरेपछि मैले विषय चेन्ज गरेँ । साइकोलोजी तिर लागेँ । मलाई यो विषय लिन के ले प्रभावित पार्यो भन्नेनै एकीन भएन । 
 
साइकोलोजी पढाईकै क्रममा सहपाठी पोर्चुगिजसँग मेरो चिनजान भयो । हामी लिभिङ टुगेदरमा बस्न थाल्यौँ । पढाई नसक्दै उसबाट मेरो एउटा बच्चा भयो । म फाइनल एक्जाममा सहभागी हुन सकिन । 
पढाई सकेर पोर्चुगल फर्किएको उ अमेरिका फर्किएन । म बच्चाको वन्धनमा बाँधिएँ । पढाई चौपट भयो । ड्याडी पनि विरामी र कमजोर भैसक्नुभएको थियो । भाई युनिभर्सिटी पढ्न क्यालिफोर्निया गइसकेको थियो । मेरा अगाढीका बाटाहरु पुरै अँध्यारो भए । 
 
एकपटक युनिभर्सिटीमा सँगै पढ्ने साथीले नेब्रास्का घुम्न बोलाइ । उसको जब प्लेसमेन्ट नेब्रास्कामा भएको थियो । म बच्चालाई बोकेर यहाँ नेब्रास्का गएँ । साथीसँग एक सातासम्म बसेँ। त्यही क्रममा एउटा स्क्र्याचर चिठ्ठा किनेँ मैले । जुन चिठ्ठाले मलाई जन्मेको साल्टलेक सिटी छाड्न प्रेरित गर्यो र यहाँ आकर्षित गर्यो ।
‘के हो त्यसरी आकर्षित गर्ने ? ’ मलाई झन जान्न उत्सुकता बढ्यो । 
 
‘यहाँ बस्दा एक पटक शपिङ गर्न म साथीसँग स्टोरमा गएकी थिएँ । मेरी साथीले नियमित स्क्र्याचर किन्दी रहिछ । उसैले पहिलोपल्ट स्क्र्याचर खेल्न सिकाई । मेरो भाग्य भन्ने कि के भन्ने ? पहिलो पल्ट खेल्दानै मैले दुईहजार डलर जितेँ । दोस्रो चिठ्ठामा मलाई २० डलर पर्यो । मैले किनेका चिठ्ठामा हात खाली गएन । ५ डलर भनेपनि जित्थेँ म’ उ भन्दैगई । 
मलाई लाग्यो उसलाई चिठ्ठालेनै यहाँ बस्न प्रेरित गरेको रहेछ । 
 
युटा राज्यमा कुनै पनि प्रकारको यस्ता चिठ्ठा किन्न र खेल्न पाइदैन । तर जोडिएको राज्यमा पनि स्विकृती छ । म चाँही साथीकै कारण अर्को एउटा राज्य समेत पार गर्दै नेब्रास्का आइपुगेँ ।
‘साथीकै पहलमा मैले यहाँ एउटा काम पनि पाएँ । घरबाटै गर्दा हुने कस्टमर सर्भिसको काम छ । तीन वर्ष भयो म यहाँ पुरै मुभ भएर सरेको’ जस्मिनले सबै बेलीविस्तार लगाई । 
उसको जीवनकथाले मलाई साह्रै नमिठो गरायो । सानै उमेरमा आमा गुमाएको पीडा एकातिर थियो भने व्याचलर समेत पुरा गर्न नपाई एउटा परदेशीको बच्चाको आमा बन्नुपर्दाको वाध्यता अर्कातिर । चिठ्ठाको लालशामा उसले जन्मेको राज्य र शहर छाडेर यो बिनारो ठाउँमा आइपुगेकी छ । 
 
मैले सोधे–‘अनि तिम्रो ड्याडी ?’
‘ड्याडीको केही वर्ष अघि एकजना डिभोर्सीसँग चिनजान भयो । उहाँहरुबीच बिहे त भएको छैन, तरपनि सँगै बस्नुभएको छ । दुईजना मिलेर एउटा घर पनि किन्नुभएको छ । म ६ महिना अघि गएर ड्याडीलाई भेटेर आएको’ उसले भनाईले मलाई सन्तुष्टीनै मिल्यो । 
 
‘ल भन त आलोक, मैले चिठ्ठाकै लागि आफु जन्मेको ठाउँ र ड्याडीलाई छाडेर यहाँ आएँ । जीवनको यो मोडमा मिलेको त्यो एउटा ब्वाईफ्रेण्डले भन्दैमा म चिठ्ठा किन्न र खेल्न छाड्न सक्छु त ?’ उसको प्रश्नले मलाई सोचनीय बनायो । आखिर जुवा भनेको जुवा नै हो रहेछ जस्तो बनायो मलाई । तरपनि चिठ्ठामा सरकारको नियन्त्रण हुने हुँदा पुरै जुवा जस्तो त होइन । 
 
मैले सेलफोन निकालेर हेरेँ । अझै १५ मिनेट बाँकी थियो १२ बज्न । हामीले फेरि एकएक वटा कफी अर्डर गर्यौँ । उसैले तिरी कफीको मूल्य पनि । 
 
‘तिमीलाई लाग्दो हो आलोक–म कमाउँदिन । त्यसो होइन, मैले अहिले पनि महिनाको चाहहजार ५ सय डलर घर बसिबसी कमाउँछु । त्यसो हुँदा मलाई चिठ्ठामा दिनको २०/३० डलर कुने ठूलो कुरा होइन’ उसले भनी । 
‘त्यसो भए चिठ्ठा किन किन्छ्यौ त तिमी’ 
 
‘मेरो बानी हो यो । तर थाहा छ तिमीलाई मैले ठूलो रकमको चिठ्ठा जितेँ भने थोरै आधा रकम आफूलाई राख्छु र आधा रकममध्य केही यहाँ चर्चलाई दिएर बाँकी चाँही नेपालमा ममीले पढाउनुभएको स्कुललाई दान गर्छु’ उनको मनोकामना पुरा होस् भनेर मैले पनि प्रार्थना गरेँ । 
–०–
 
जस्मिन र म घनिष्ठ साथी जस्तै हुनपुग्यौ त्यसदिन देखि । उनले मसँग नेपाल जाँदा सँगै जाने प्रस्ताव पनि राखिन् । उनी भन्थिन्–‘जुफाल एक्लै जान सक्दिन । त्यसैले तिमी नेपाल जाँदा म पनि सँगै जान्छु र हामी दुबै जना त्यहाँ जाउँ है ?’ 
 
म सुदूरपुर्ब धनकुटाको । अहिलेसम्म नारायणी नदीको पुल तरेर पश्चिमतिर पुगेको छैन । उनको प्रस्तावलाई हुन्न, सक्दिन भन्न पनि आँट भएन । हुनतः नयाँ ठाउँ भएकोले एकपटक कर्णालीका जिल्लाहरु घुम्न मन पनि छ । मैले ‘हुन्छ नि’ भनेको छु उनलाई ।
 
जस्मिनको चिठ्ठा प्रतिको लगाव देखेर मैले पनि किन्न थालिसकेको थिएँ । मलाई पनि लत परिसकेको छ । आफूले काम गर्ने स्टोरमा किन्न पाइदैन भन्ने कसैले मेरो कानमा भरिदिएको छ । यो सत्य हो कि गलत हो एकिन त छैन । त्यसैले बस्ने अपार्टमेन्ट नजिकको ग्याँस स्टेशनमा हप्तामा एक पटक पसेर पावरबल र मेगामिलिएन किन्दै आएको छु । 
 
हप्तामा १० डलर चिठ्ठामा खर्चिदा के थाहा भाग्य मेरै निधारमा पो छ कि ? आखिर महिनामा ४० डलर बचाएर मेरो जीवनमा ठूलो उथलपुथल हुनेवाला पनि त छैन । चार घण्टाको ज्याला न हो । महिनामा चारघण्टा त राति स्टोर बन्द गरेर कुलर भर्दानै आउँछ । 
 
जस्मिन र मेरो सम्बन्ध ग्राहक र स्टोर–क्लर्कका रुपमा मात्र सिमित रहेन । साथीजस्तो भयौँ, एक आपसमा अनुभव साटासाट गर्ने पनि भयौँ । दिनहुँ हाम्रो भेट स्टोरमा हुन्थ्यो । हप्तामा म प्रायः सातै दिन काम गर्थे । किनकी म परिवार नभएको मानिस थिएँ । मलाई जतिसक्दो घण्टा र डलर चाहिएको थियो । 
 
जस्मिनलाई शुद्ध नाममात्रले भन्दा पनि मैले ‘दिदी’ जोडेर संबोधन गर्न थालिसकेको थिएँ । उसँग मेरो कुराकानी नेपालीमै हुन थालिसकेको छ । उ पनि नेपाली बोल्न परफेक्ट हुन चाहन्छे । ‘मसँग अब तिमी नेपालीमै बोल है, बरु तिमीलाई म अंग्रेजी राम्रोसँग सिकाइदिन्छु’ उसले एकदिन प्रस्ताव राखेकी थिइ । 
 
त्यसदिनदेखि मैले उसँग अंग्रेजीमा कुराकानी गर्न बन्द गरेँ ।
 
कहिलेकाँही दिमागमा एउटा कुरा पलाउँथ्यो–‘जस्मिन दिदीलाई नेपालीसँगै बिहे गराइदिन पाए ?’ तर मेरो विचारले मात्र कहाँ काम लाग्छ र ? उसको पनि त के चाहना छ कुन्नि ? 
 
धेरै पछि एक साँझ जस्मिन दिदी स्टोरमा आइ । उसको पछि पछि उही पुरानो ब्वाइफ्रेण्ड थियो । आज दुबै असाध्यै मुडमा थिए । हँसिला र खुशीयालीको मुडमा देखिन्थे । 
 
‘थाहा पायौ भाई, अब हामी फेरि मिल्यौ नि । मैले पनि अब धेरै चिठ्ठामा खर्च नगर्ने गरि बजेट घटाएँ, उस्ले पनि मलाई गाली नगर्ने गरि माफी मागे’ जस्मिन दिदीले भनी । मलाई उनीहरु मिलेको देखेर मन अमिलो भयो । एउटा नेपाली खोजिदिने योजना चकनाचुर भएकोमा मेरो दुःख थियो । तर तुरुन्तै आफू सम्हालिएँ । ४० कटिसकेको उसलाई सम्हाल्ने नेपाली पाउनु पनि त मुस्किल थियो । मैले दुबैलाई हग गरेर बधाई दिएँ । शूभकामना दिएँ । चिठ्ठाको निहुँमा फेरि ब्रेकअप नहोस् भनेर शूभकामना पनि दिएँ ।
 
अब पहिलेजस्तो चिठ्ठा किन्न उसले बन्द गरेकी थिइ । पहिले दिनहुँ आउने र चिठ्ठा किन्ने जस्मिन अब हप्तामा एक पटक मात्र आउँथी । त्यो पनि नियमितता थिएन । बरु मैले चिठ्ठा किन्ने क्रमलाई बढाउँदै लगेँ ।
 
एकपटक मेगामिलिएन खुलेको भोलीपल्ट टिकट चेक गर्दा अघिल्ला ५ वटा अंकहरु मिले । मेरो मुटुको चाल उसै बढीसकेको थियो । त्यसमाथि मैले टिकट किन्दा सधैँभरि एक डलर थपेर ‘मेगाप्लेयर’ लिने गरेको छु । चेक गर्ने मेसिनमा टिकट हाले । ‘ओ माइ गड’ मेरो मुखबाट निस्कियो । पाँचवटा अंक मिलेकोले मैले एक मिलियन जितेको थिएँ । मेगाप्लेयरले गर्दा अर्को एकलाख थपियो । अर्थात दुई मिलियन मैले जिते । 
 
त्यो दिनको कामलाई मैले बडो धैर्यताका साथ गरेँ । कसैलाई सुनाइन मैले । भोलीपल्ट बिहान उठ्ने बित्तिकै टिकट किनेको स्टोरमा गएँ । त्यहाँ काम गर्ने क्लर्कले तुरुन्तै साहुलाई बोलायो । 
 
मैले उनीहरुलाई आफ्नो नाम र फोटो सार्वजनिक नगर्न आग्रह गरेँ । मैले एकैपटकमा लिने निधो गरे । त्यसो गर्दा कर कट्टी गर्दा मेरो हातमा झण्डै सातलाख डलर पर्यो । त्यो रकम लिएको एक साता नबित्दै चुपचाप नेब्रास्काबाट टेक्सस झरेँ । केही वर्षदेखि टेक्ससमा बसेर व्यबसाय गरिरहेको साथीसँग पार्टनरशीपमा स्टोर लिएँ । ताकी उसले पनि मैले चिठ्ठा जितेको पत्तो नपाओस् । सुरुमा एक्लैले स्टोर लिँदा अरुले शंका गर्ने आधार मिल्थ्यो । 
 
टेक्ससको गाउँमा, नेपालीहरु पनि ज्यादै कम भएको यो ठाउँमा यतिखेर मैले पार्टनरशीपमा चारवटा र आफ्नै एकल एउटा स्टोर चलाइरहेको छु । घर पनि किनेँ । मैले चिठ्ठा जितेको भनेर अहिलेसम्म कसैलाई जानकारीसम्म पनि मैले दिएको छैन । कहिलेकाँही सोच्छु–जस्मिन दिदीसँग बिदावारी भएर आएको पनि त हुन्थ्यो नि । चिठ्ठाले मेरो स्वभावमा कति व्यापक अन्तर ल्याइदियो ? धनले मित्रता, परिवारबीच दूरी ल्याउँदो रहेछ ।