मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल बन्दले देशभर जनजीवन प्रभावित, थुप्रै गाडीमा आगजनी

नेपाल बन्दले देशभर जनजीवन प्रभावित, थुप्रै गाडीमा आगजनी


काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार आह्वान् गरेको नेपाल बन्दको असर देशभर परेको छ । 
 
नेपालका विभिन्न सहरका दर्जनौँ स्थानमा शंकास्पद वस्तु भेटिएका छन् । ती शंकास्पद वस्तुहरु राखिएका क्षेत्रहरुलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएका छन् । 
 
पोखराको सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए । 
 
विप्लव समूहले आह्वान् गरेको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्था पूर्णरुपमा ठप्प छन् । 
 
जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार दिउँसोसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।
 
बसमा आगजनी
 
‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई गोचेखोलामा आगजनी गरेका हुन् । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । 
 
आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जलेको ठाउँनजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
 
दुई ट्रकमा आगजनी
 
यस्तै, मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।
 
मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । 
 
एकाबिहानै मिनिट्रकमा आगजनी भएको छ । हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएका थिए । 
 
आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।
 
नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।
 
ट्रकमा आगजनी,चालक घाइते
 
यस्तै, नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।
 
पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
यस्तै, कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
 
नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।