मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सगरमाथाको ढुङ्गा ल्याउँदा कानूनी झमेला

सगरमाथाको ढुङ्गा ल्याउँदा कानूनी झमेला


काठमाडौँ । राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आज बिहान नियन्त्रणमा लिएको छ । 
 
हुन त उनीहरुले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुनसक्छ तर ‘कानूनको अनभिज्ञता क्षम्य हुँदैन’, यो कानूनको सिद्धान्त हो । कानून जानेको छैन भन्दैमा उसलाई सजायमा छुट हुँदैन । त्यसैले हरेक मान्छेले कानून जानेको हुन्छ भनेर कानूनले व्याख्या गरेको हुन्छ । अझै संरक्षित क्षेत्रको विषय झन् संवेदनशील बन्नपुग्छ ।  
 
आज पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय पुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुलाई सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्काे ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट ढुङ्गा बरामद गरिएको हो । 
 
वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । 
 
कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरु निकासी गर्न नपाइने बताए । यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारवाही हुने बताए । उनीहरुको विषयमा अनुसन्धान भइरहेको पौडेलले बताए ।