मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संशोधन नभए सडक संघर्ष : अध्यक्ष यादव

संविधान संशोधन नभए सडक संघर्ष : अध्यक्ष यादव


विराटनगर । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक संघर्षको मुख्य बाटो रोज्ने चुनौती दिएका छन् । 
 
समाजवादी पार्टी नेपालद्वारा आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउनमात्र सरकारमा समावेश भएको प्रष्ट पारे । 
 
समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्षसमेत रहेका यादवले जनताको संघर्षबाट प्राप्त भएको संघीयय लोकतान्त्रिक गणतन्त्रबाट मुलुकमा समृद्ध कायम हुने भएकाले यसलाई संस्थागत र प्राप्त उपलब्धिलाई रक्षा गर्नलाई पार्टी एकीकरण गरिएको जानकारी दिए ।
 
समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकीकरण गरिएको बताए । उनले भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गर्दै सम्पूर्ण जनताको सहभागितामूलक एकमात्र राष्ट्रिय पार्टीका रुपमा विकास गर्ने उल्लेख गरे । 
 
अध्यक्ष डा भट्टराईले वर्तमान अवस्थामा रहेका दुई ठूला पार्टीको विकल्पमा समाजवादी पार्टी रहने चर्चा गर्दै पदका निम्ति पार्टीका कार्यकर्तामा कुनै लोभलालच नभएकाले जनताको सेवा नै मुख्य रहेको बताए । 
 
पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको चाहनाअनुसार पार्टीबीच एकीकरण भएको बताउँदै पार्टीले शोषितपीडित जनताको मुक्तिका लागि कार्यगर्ने धारणा व्यक्त गरे । 
 
प्रदेश अध्यक्ष प्रविन चाम्लिङको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष पर्शुराम खापुङ, हेमराज राई, हिसिला यमी, रकम चेम्जोङ र प्रा महेन्द्र सुब्बा लावतीलगायतले पार्टी एकताबाट आगामी निर्वाचनमा ठूला पार्टीलाई पराजित गर्ने विश्वास व्यक्त गरे ।