मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीलाई विश्वास गर्ने वातावरण बनाउँछु : प्रहरी महानिरीक्षक खनाल

प्रहरीलाई विश्वास गर्ने वातावरण बनाउँछु : प्रहरी महानिरीक्षक खनाल


चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उनले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताए ।
 
पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको बताउँदै उनले पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘पर्यटकीय क्षेत्रमा आउने पर्यटक सुरक्षित महशुस गरेमा मात्रै पर्यटन क्षेत्रको विकास हुन्छ ।’ पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालयसँग सहकार्य गर्दै सरकारले घोषणा गरेको पर्यटनका सय गन्तव्यमा सिसी टिभी जडानको काम गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।
 
भरतपुर महानगरपालिका–२२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलगायतले बोलेका थिए । पर्यटन प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी रहनेछन् ।
 
पश्चिम चितवनको यस क्षेत्रमा अहिले तीन वटा तीनतारे होटल सञ्चालनको क्रममा रहेका छन् भने पाँच वटा ठूला होटल सञ्चालन भइरहेका छन् । यस्तै साना दुई दर्जनको हाराहारीमा होटल रहेको वडाध्यक्ष महतोले जानकारी दिए। यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन् ।
 
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान हो । सरकारले घोषणा गरेको एक सय गन्तव्यमा पटिहानी पर्दछ । रासस