विचार / ब्लग

स्वार्थै स्वार्थको बीचमा नेजा

852 पटक पढिएको

– बाबुराम दाहाल

हिमालयखबर | 23rd May 2019, Thursday | २०७६ जेष्ठ ९, बिहीवार १०:०८
यसपालिको मे ४ र ५ अरु बेलाको भन्दा रमाइलो गरी बिताउने अवसर मिल्यो । लामो समयअन्तरालमा अमेरिकास्थित टेक्सस राज्यको ड्यालसमा पत्रकारितामा संलग्न धेरै व्यक्तित्वहरुसँग प्रत्यक्ष भेटघाट र चिनजान गर्ने अवसर पाएकाले पनि धेरै रमाइलो भयो । यस्तो सुवर्ण अवसर नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३औं साधारण सभाले मिलाइदिएको हो । यसका लागि नेजाको वर्तमान कार्यसमितिप्रति हार्दिक आभार । 
 
अमेरिका बसाइका क्रममा जन्मभूमि छाडेर आउनुभएका नेपालीसँग भेट्दा अनि चिना–परिचय गर्ने अवसर मिल्दा असाध्यै खुसी लाग्ने गर्छ । अझ एउटै पेसा–व्यवसायमा आबद्ध व्यक्तिसँग चिना–परिचय भयो भने त आफ्नै परिवारको सदस्यजस्तो लाग्छ । विदेशी भूमिमा रहेका सबैको कथा–व्यथा उस्तै हुने गर्छ तर व्यक्त गर्ने शैली भने फरक हुन सक्छ ।
 
अमेरिका भन्ने नाम विकसित राष्ट्रको रुपमा सुन्ने र बुझ्ने गरिएको थियो । प्रायः सबै व्यक्तिको मुखबाट यो नामको उच्चारण र प्रशंसा हुने गथ्र्यो । त्यसैले सबैले भन्ने गरेजस्तै मेरो पनि इच्छा थियो, एक पटक अमेरिका पुग्ने । 
 
करिब तीन वर्षअगाडि त्यो इच्छा पूरा भयो । नेपालमा हुँदा पढेको कानुन अमेरिका आएर प्रत्यक्ष रुपमा लागू भएको देख्न पाइयो । देख्न मात्र होइन, यहाँको कानुन शरीरका हरेक अंग–अंगमा बसिरहेको अनि नसा–नसामा रगतसँगै बगिरहेको महसुस हुने गर्छ । यो तीन वर्षको अन्तरालमा एउटा विकसित देशमा बसेर यहाँको देश चलाउने व्यवस्थित प्रणाली हेर्दा र प्रत्यक्ष उपयोग गर्दा अत्यन्तै लोभ लाग्ने गर्छ । 
 
यहाँको यो लोभलाग्दो कानुनी शासनसँगै पटक–पटक सोच्न बाध्य बनाउँछ– ‘यदि, मेरो देशको शासन प्रणाली पनि यस्तै व्यवस्थित भइदिए, अनि त्यहाँको सरकारको नेतृत्व लिने व्यक्तिले निःस्वार्थभावले कानुनलाई व्यक्तिको गोजीमा नराखी सबैलाई कानुनको गोजीमा राख्ने व्यवस्था कडाइका साथ लागू गरिदिने हो भने सबैभन्दा पहिला नेपाल जाने टिकट काट्ने व्यक्ति मै हुन्थेँ होला ...।’ 
 
तर, नेपालको शासन व्यवस्थालाई हेर्दा अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिलाउन होइन, नेता र आर्थिक सम्पन्न व्यक्तिको पक्षपोषण गर्न मात्र कानुनको प्रयोग भएको महसुस गर्न सकिन्थ्यो । अर्थात्, भूमिका नबाँधी ठाडो भाषामा भन्दा नेपालको कानुन शासनसत्ता र उपल्लो पदमा हुनेको गोजीमा हुन्छ अनि तिनैले यसलाई उल्टोसुल्टो बनाउँदै चलाउँछन् । 
 
सधैंभरि शासन सञ्चालन गर्ने जिम्मेवारी लिएका व्यक्तिले जनतालाई असम्भवप्राय आश्वासन मात्र बाँडिरहने र हँसाइरहने, कानुनलाई किताबमै मात्र सीमित बनाइरहने हो भने तिनीहरुले भाषणमा भन्ने गरेको ‘समृद्ध नेपाल’ केवल भाषणमा मात्र सीमित हुनेछ । साँच्चिकै नेपाललाई समृद्ध राष्ट्र बनाउने नै हो भने यस्ता फोस्रा भाषण गरेर, उखान–टुक्कामार्फत हँसाएर अनि अरु के–के हो के–के गरेर जनताको भविष्यसँग खेलवाड मात्रै गर्ने होइन, निःस्वार्थ र निडर भएर नवनिर्मित संविधानलाई पूर्ण रुपमा लागू गराउने हिम्मतिलो शासक बन्नैपर्छ । समृद्ध बनेको र बन्ने तरखरमा रहेको राष्ट्रको प्रसंग यति नै ।
 
नेजाको यसअगाडिका साधारण सभाकहरु बारेमा टाढै बसेर भए पनि नियाल्ने अवसर मिल्ने गरेको थियो । त्यस बीचमा नेजाका केही सदस्यहरुबीच संस्थाभन्दा पनि आफू कसरी ठूलो बन्न सकिन्छ र आफ्नै सहयात्रीलाई कसरी लडाउन सकिन्छ भन्नेतर्फ सचेत रहेको उनीहरुका गतिविधिले बुझिन्थ्यो । यसको जल्दोबल्दो उदाहरण यस भन्दा  पहिला  ह्युस्टन र क्यालिफोर्नियाकोमा सम्पन्न नेजाको अधिवेशनलाई नियाल्दा प्रस्ट हुन्छ । सो अधिवेशनले नेजाका धेरै अग्रजहरुको चित्त दुखाउने काम गरेको थियो । 
 
यही व्यक्तिगत स्वार्थका बीचमा गठित कार्यसमितिकै व्यक्तिले कार्यकालको अन्त्यमा ठूलो पद प्राप्त गर्ने सोचका कारण नेजाभन्दा ठूलो संस्था खोलेको पनि सुनियो । यसका साथै, नकारात्मक सोचका धनी अनि संस्थामा आबद्ध केही व्यक्ति संस्थाको हितमा नभई व्यक्तिगत कुण्ठा पोखेर आत्मरतिमा रमाउने गरेको पनि देखियो । यस्ता गतिविधिलाई पनि संस्थामा आबद्ध सदस्यले सकारात्मक रुपमै बुझ्नुपर्दछ ताकि यस्ता गतिविधिले संस्थालाई बलियो बनाउन मद्दत नै गर्छ । व्यक्तिगत स्वार्थको प्रसंग यति नै । 
 
जो जस्तो सोचका साथ अगाडि बढे तापनि सियाटलमा सम्पन्न नेजाको छैटौं अधिवेशन तथा १२औं साधारण सभाबाट सुदीप पन्तको नेतृत्वमा गठित कार्यसमितिको हाउभाउ हेर्दा अनुमान गर्न सकिन्थ्यो कि, अब नेजा सकारात्मक रुपमा अगाडि बढ्छ । र, यो अनुमान सही पनि बनेको छ, डालसमा सम्पन्न नेजाको १३औं साधारण सभालाई नियाल्दा । 
 
ड्यालसमा १३औं साधारण सभा भइरहँदा उपस्थित जनसंख्याको आधारमा नभई नेजाका वर्तमान अध्यक्ष र कार्यसमितिको निःस्वार्थ कार्यशैलीले यस्तो देखाइरहेको थियो । नेजाको सिंगो कार्यसमिति अनि ड्यालसमा सम्पन्न १३औं साधारण सभाका संयोजकलगायत अन्य सदस्यको हरेक गतिविधि र व्यवहार हेर्दा एउटै मात्र स्वार्थ देख्न सकिन्थ्यो– कसरी नेजाका सम्पूर्ण सदस्यलाई एकजुट गराएर नेजालाई सबैको मेरो संस्था बनाउने । विगतका नेजाका गतिविधिबाट निष्क्रियप्रायः संस्थापक एवं अग्रज व्यक्तित्वहरुको उपस्थितिले सहजै यसको पुष्टि गर्दथ्यो । 
 
नेजाको सो साधारण सभामा नेजाका गतिविधिबाट प्रायः निष्क्रिय रहँदै आएनुभएका एवम् नेजाका अग्रज व्यक्तित्व– राजेश मिश्र, शैलेश आचार्य, विजय घिमिरे, रामप्रसाद खनाल, शैलेश श्रेष्ठ, शेखर ढुंगेल, सूर्य थापालगायतको सकृयता अनि सहभागिताले पनि नेजा सबैको साझा बन्ने दिशामा अघि बढेको प्रस्ट हुन्थ्यो । उहाँहरुलगायत उपस्थित अग्रज एवम् सम्पूर्ण नेजाका सदस्यहरुमा पनि उही स्वार्थ रहेको थियो– कसरी नेजालाई सबैको संस्था बनाउने । संस्था आफैंमा नराम्रो कहिल्यै हुँदैन तर त्यसको नेतृत्व गर्ने केही व्यक्तिका आचरण र नियतका कारण बदनाम हुन्छ अनि संस्थामा आबद्ध निर्दोष र स्वच्छ छवि भएका व्यक्तिलाई पनि असर गर्छ । 
 
नेजाको वर्तमान कार्यसमिति एवम् आगामी नेतृत्वलाई वैयक्तिक स्वार्थ लिएर यो संस्थामा नआउन र अगाडिका गतिविधिबाट पाठ सिकेर नेजालाई सबैको संस्था बनाउन केही समय नेजामा निष्क्रिय हुनुभएका एवम् अग्रज व्यक्तित्वहरुको आग्रह थियो । यो संस्थालाई प्रवासमा रहेका नेपाली पत्रकारहरुले राजनीति गर्ने माध्यम बनाउनुभन्दा पनि निःस्वार्थ भावनाका साथ यो पेसामा संलग्न सबैमाझ आपसी सम्बन्धलाई नजिक र सरलतातर्फ अगाडि बढाउनुपर्ने आशय उपस्थित सबैको थियो ।
 
नेजाको वर्तमान कार्यसमितिका अध्यक्ष सुदीप पन्त, उपाध्यक्ष एवं १३औं साधारण सभाका संयोजक विकासराज न्यौपाने, महासचिव किरण मरहट्ठा, सचिव सुरज भण्डारी, कोषाध्यक्ष मच्छेदेवी गुरुङ, कार्यक्रम आयोजक एवम् मध्य क्षेत्रीय संयोजक रामचन्द्र भट्ट लगायत कार्यसमितिका उपस्थित सम्पूर्ण पदाधिकारीमा पनि एउटै स्वार्थ थियो– नेजाका सम्पूर्ण सदस्यलाई एकजुट गराएर नेजालाई सबैको मेरो संस्था बनाउने । कार्यक्रमको दौरानमा आयोजक एवम् कार्यसमिति सदस्यले देखाएको सजगता र निःस्वार्थभावबाट जोकसैले पनि सो कुराको सहजै अनुमान लगाउन सकिन्थ्यो । 
 
यसैगरी, नेजाले आयोजना गरेको मे ५ को बेलुका मिडिया सेसनमा वरिष्ठ पत्रकार किशोर नेपाल, राजेश मिश्र, गिरीश पोखरेल र विजय घिमिरेले प्रवासमा पत्रकारिताको बारेमा चर्चा गर्नुभएको थियो । समग्रमा नेजालाई राजनीति गर्ने थलोभन्दा पनि नेपालमा पत्रकारितामा संलग्न र हाल अमेरिका आएका व्यक्तिहरुलाई एकताबद्ध बनाउने सेतुको रुपमा अगाडि बढाउनुपर्नेमा उनीहरुको जोड थियो । नेजा स्थापना गर्ने नेपाली पत्रकारको पुस्ता अमेरिकाको पहिलो भएको हुँदा यो पुस्ताले अमेरिका र नेपालको ‘फुलटाइम’ पत्रकारिता गर्न नसक्ने र आफ्नो पेसा चटक्कै छोड्न पनि नसक्ने भएकाले पहिलो पुस्तालाई एकताबद्ध गराएर सम्भव भएसम्म दोस्रो पुस्तालाई अगाडि बढाउनुपर्नेमा उनीहरुमा एकमत थियो । 
 
अन्त्यमा, हामीले जे–जस्तो सल्लाह दिन्छौं अनि लिन्छौं त्यसको पछाडि पनि स्वार्थ अवश्य लुकेको हुन्छ । हामीले त्यो स्वार्थ सकेसम्म सकारात्मक बनाउनुपर्छ । यदि कसैले थोरै त्याग गर्दा संस्था बलियो हुन्छ भने पदको लोभमा संस्थालाई बदनाम गराउन र व्यक्तिलाई दुश्मन बनाउनेजस्ता जन्मसिद्ध शिक्षालाई प्रवासमा उपयोग नगरौं । सकेसम्म यहाँको सकारात्मक संस्कार नेपालमा बाँडौं, यदि सकिँदैन भने हामीले स्वदेशबाट सिकेर ल्याएको नकारात्मक शिक्षालाई यहाँ लागू नगरौं । आजलाई यति नै !