विचार / ब्लग

एनआरएनको चुनावी परिणाम र अपेक्षा

882 पटक पढिएको

– रामचन्द्र भट्ट

21st May 2019, Tuesday | २०७६ जेष्ठ ७, मंगलवार १२:०८
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको चुनाव सम्पन्न भयो । अन्तिम क्षणमा पनि होला या नहोला भन्ने शंकाका बीच चुनाव सम्पन्न भएको छ । परिणाम पनि तुरुन्तै सार्वजनिक भैसक्यो । कतिपयका लागि एक वर्ष अघिदेखिको तयारी र कतिपयका लागि तीन महिनादेखिको व्यस्तताले अब विश्राम पाएको छ ।
 
चुनावको नतिजा सार्वजनिक सँगै सबै कुराहरु पूर्ववत् चल्नुपर्ने हो । तर कतिलाई चुनावको अप्रत्याशीत नतिजाले गर्दा यसको असर लामो समयसम्म पनि जाने संकेतहरु देखा परेका छन् । चुनावी किलाले घोचेको खील लामो समयसम्म जाने संभावना त्यत्तिकै छ । यसको असर जनसम्पर्क समिति अमेरिकाको आउँदो चुनाव र प्रवासी मञ्चको एकता सम्मेलनसम्म पुग्ने निश्चित देखिएको छ ।
 
यस पटकको चुनाव जनसम्पर्क र प्रवासी मञ्चमा मात्र सिमित रहेन । दुबै संगठनका नेताहरुले समर्थन गरेका गुट, उपगुटमा पुग्यो । यही गुट–उपगुटभित्रबाट व्यक्तिहरु चयन भए । कस्ले जित्यो भन्ने भन्दा पनि कस्ले उठाएको उम्मेदवारले जित्यो भन्नेमा नतिजा र चर्चा हुन पुगेको छ ।
 
अमेरिकामा रहेका नेपाली संघसंस्थाहरु आफैँमा समस्याग्रस्त छन् । नेतृत्वको समस्या, स्वार्थको समस्या, राजनीतिको समस्या, आर्थिक समस्या आदी इत्यादी समस्याबाट नेपाली संस्थाहरु गुज्रिरहेकै छन् । एनआरएन पनि यसमा अछुतो छैन । यस पटकको चुनावले यो समस्यामा अझै ठूलो दरार पर्ने संकेतहरु देखा परेका छन् ।
 
एनआरएन अमेरिकाको अध्यक्षमा भारी मतले सुनिल साह विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा साह प्यानलकै डा. अर्जुन बञ्जाडे विजयी भएका छन् । महासचिवमा पशुपति पाण्डे निर्वाचित भए । तर बढ्ता चर्चा भने वरिष्ठ उपाध्यक्षको भएको छ । तयारी, उम्मेदवारको तालमेलदेखिनै यो पदको धेरै चर्चा भएको थियो । साहको प्रस्तावक नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी थिए । चुनावी दौरानमा साह र भण्डारीबीच वरिष्ठ उपाध्यक्षमा अमृत सापकोटालाई सघाउने सहमति भयो । जवकी साहको टीममा त्यो पदमा डा. अर्जुन बञ्जाडे उम्मेदवार थिए । तर व्यबहारमा त्यो सहमति कार्यान्वयन नभएको सुइको भण्डारी, सापकोटा लगायतले पाए ।
 
अनेक प्रयासका बाबजुत पनि सापकोटा पराजित भए । सापकोटालाई जिताउनका लागि हरतरहका उपायहरु अपनाउने क्रममा साहको भोट सापकोटालाई दिलाउनका दुई पक्षबीच सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएर सापकोटा पराजित भएपछि खैलाबैला मच्चिएको छ । यो खैलाबैला साम्य हुनेमा शंकानै छ ।
 
हुनतः सापकोटाले साथीभाइको मात्र भर र विश्वासमा परेर आफ्नो तर्फबाट जति जुन रूपमा खट्नुपर्थ्यो त्यो नगरेको समिक्षा निकटस्थहरूले गरिरहेका छन् । उनी टेक्ससभन्दा बाहिर पुगेर भेटघाट मात्र गरेको भएपनि चुनाव उनको पक्षमा अाउने थियो भन्दै एक समूहबाट समिक्षा भएको छ ।
 
भण्डारी लगायत निकटस्थहरुले सापकोटालाई उम्मेदवार बनाउने तयारी ६ महिना अघिदेखिकै थियो । जतिखेर डा. अर्जुन बञ्जाडे अध्यक्षको उम्मेदवारका रुपमा अघि बढेका थिए । बञ्जाडेले सुनिल साहसँगको सहमतिमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएपछि प्रत्यक्ष रुपमा हरिबोल र बञ्जाडे भीडेको जस्तो देखिन पुग्यो । 
 
वर्षौदेखि हरिबोलले बोकेर हिँडेका, साथ दिएकाहरुले यसपटक उनलाई चटक्कै छाडे । कतिले धोका दिए । जसका कारण सापकोटाले अपेक्षाकृत भोट ल्याउन सकेनन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार सापकोटानै हरिबोल भण्डारीका सबैभन्दा निकट उम्मेदवार थिए । 
 
यो चुनावमा विजेताहरु जनसम्पर्क समितिका भनिएपछि संगठनले इण्डोर्स कसैलाई गरेको थिएन । जनसम्पर्कका को नेताको काँधमा कुन उम्मेदवार थियो भन्ने विषयले प्रमुखता पाएको छ । व्यक्तिगत रुपमा सुनिल साह र सूर्यसाल लम्साल दुबै नेपाली कांग्रेस निकट हुन् । सोही कारण जनसम्पर्कको एउटा समूह साहको पक्षमा र अर्को पक्ष लम्सालको पक्षमा लाग्यो ।
 
अन्य उम्मेदवारका हकमा अमेरिकामा रहेका जनसम्पर्कका नेताहरुका हैसियत मापन गर्ने हतियारका रुपमा चिनिए । को कति धारिलो भन्नेमा आन्तरिक प्रतिस्पर्धा देखियो । कसले कस्लाई खुइल्याउने भनेर दौड भयो ।
 
यो चुनावमा वर्तमान अध्यक्ष डा. केशब पौडेलले महासचिवमा गोपेन्द्र भट्टराई समर्थन गरेका थिए । भट्टराई पराजित भए भने सुनिल साह प्यानलका पशुपति पाण्डे विजयी भए ।
 
चुनावमा नेबिसंघका पूर्ब महामन्त्री एवं जनसम्पर्कका नेता यादव पण्डितका उम्मेदवारका रुपमा कोषाध्यक्षका उम्मेदवार नेत्र पोखरेल थिए । प्रमोद सिटौलाले खुलेरै मत मागेका प्रशन्न संग्रौलालाई पोखरेलले धुलो चटाएका छन् ।
 
विष्णु सुवेदीका उम्मेदवार भनेर चिनिएका ज्ञानल थापालाई सन्तोष विष्टले पराजित गरे । जनसम्पर्कमा भावी अध्यक्षका दावेदारका रुपमा चर्चा गरिएका सुवेदीको हैसियत पनि थापाको पराजयसँगै गतिलैसँग पुष्टी भएको छ ।
 
कांग्रेस पृष्ठभूमिका उम्मेदवारहरू यति देखिए कि संगठन र क्षमता भन्दा को कस्को मान्छे भनेर हेरियो । बोर्ड अफ डाइरेक्टरमा जित्ने भनेर पहिलेदेखिनै अनुमान गरिएकाहरू पराजित भए । संभावनानै छैन भनिएकाहरू एकाएक जिते ।
 
विवादको भुमरीमा वामपन्थीहरु पनि बँचेका छैनन् । यस पटकको एनआरएनको चुनावमा वामपन्थी निकट भनेर चिनिएका अध्यक्षका उम्मेदवार सञ्जय थापा, वरिष्ठ उपाध्यक्षका नारायण कँडेल, उपाध्यक्षका बाला घिमिरे, रामबाबु पाण्डे, महिला संयोजक सुनिता खत्री लगायत थिए । बाला र रामबाबुले जित्ने अपेक्षा धेरैले गरेका थिए । दुबैले जनसम्पर्कको केही मत लिन सफल पनि भएका छन् । तर बोर्ड अफ डाइरेक्टरको ५ सिटमा मात्र वामपन्थीहरुले चित्त बुझाउनुपर्ने अवस्था बनेको छ ।
 
वामपन्थीहरुको पनि केही भोट क्रश भएको अनुमान छ । सञ्जय थापालाई आएको मत जति पनि वरिष्ठका उम्मेदवार कँडेललाई प्राप्न भएन । उता थापाले आफूलाई संगठनकै जिम्मेवार पदाधिकारीले सहयोग नगरेको आरोप निकटस्थहरुसँग गरेको स्रोतको दावी छ ।
 
सुनिल शाह टीम प्रति अपेक्षाः
 
सबैभन्दा पहिले नव–निर्वाचित अध्यक्ष सुनिल साह लगायत सबैलाई वधाई र शूभकामना। तपाईहरुबाट ठूलो आशा र अपेक्षा मैले राख्दिन । किनकी एनआरएन भनेको सरकार पनि होइन र लोकल संस्था पनि होइन । यद्यपी तपाईहरुले आफ्नो दुई वर्षे कार्यकालमा अमेरिकामा भएका बहुसंख्यक नेपालीलाई यो संस्थाको सदस्य स्व–स्फूर्त रुपमा बन्ने वातावरण बनाइदिनुहुनेछ भन्ने आशा लिएको छु ।
 
मैले तीनवटा चुनावदेखि हेर्दै आएको छु । सदस्य बनिदेउ भनेर अरुले भन्नुपर्ने, त्यतिमात्र नभएर अर्काले २० डलर तिरेर सदस्य बनाइदिनुपर्ने, अनि त्यसरी सदस्य भएकाहरुलाई भोट हाल्यौ भनेर सोधिरहनुपर्ने यो अवस्थाको अन्त्य चाँही गर्नैपर्छ । अमेरिकामा रहेका, विधानले योग्य ठहरिएका अधिकांशले सदस्य बन्नैपर्छ भन्ने भावना यो नेतृत्वले जगाउनैपर्छ । नत्र भने अहिलेको जस्तो खालको सदस्यता परिपाटी, चुनावी प्रकृयाले संस्था कोल्याप्सको बाटोमा जाँदैछ ।
 
विगत दुई कार्यकालदेखिका अध्यक्ष डा. केशव पौडेलबाट अमेरिकामा रहेका नेपालीले ठूलो अपेक्षा राखेका थिए । संस्थागत परिपाटीमा एनआरएन चलोस् भन्ने धेरैको अपेक्षा थियो । पहिलो कार्यकालनै असफल देखिएपनि उहाँले दोस्रो कार्यकालको रहर गर्नुभयो । आफ्ना बाँकी एजेण्डा पुरा गर्ने भन्दै दोस्रो कार्यकालमा विजयी भएपछि उहाँले के गर्नुभयो ? कसैलाई थाहा छैन । उहाँकै कार्यसमितिका पदाधिकारीलाई पनि पत्तो छैन उहाँले गरेका कामको ।
 
दोहोरो कर, दोहोरो नागरिकता डा. केशव पौडेलको कार्यसमितिभन्दा माथि आइसिसीको एजेण्डा हो । ‘मेरो कार्यकालमा दोहोरो नागरिकताको टुंगो लाग्यो’ भनेर कसैले भन्छ भने त्यो सफेद झुठ हो । वर्षोदेखि अाइसिसी यही मुद्धामा छ ।
 
अबको नेतृत्वले कमसेकम अबको नेतृत्वले विगतमा भएका कमि कमजोरीलाई पाठका रुपमा लिनेछ भन्ने अपेक्षा धेरैको छ । सुनिल साह व्यक्तिगत रुपमा निकै भद्र, शालीन व्यक्ति भएका कारणले पनि उहाँको नयाँ टीम प्रति अपेक्षा राख्नु अस्वभाविक होइन ।
 
तीन साता अघि नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ड्यालसको मन्दिरको हलमा गरेको ‘प्रेसिडेन्सियल डिबेट’ को सुरुवातमा तीनजनाले बोलेका थिए । अमेरिकाको नेपाली समुदायको प्रतिनिधित्व गर्ने तीन पात्रहरु डा. मुरली अधिकारी, सिपिए विलास उपाध्याय र भरखरै युनिभर्सिटीको अध्ययन सकेर अमेरिकाको राजनीतिमा बाटो पहिल्याउँदै गरेकी आइसा ओझाले भनेका कुराहरुमा एनआरएन नेतृत्व गंभीर हुनैपर्छ । हामीले हाम्रो कल्चरलाई फैलाउनैपर्छ, युवा विद्यार्थीलाई यो संस्थाप्रति चासो जगाउनैपर्छ । नभए दोस्रो पुस्तापछि यो संस्था कोल्याप्सको बाटोमा पुग्नेछ ।
 
विगतको सम्झनाः
 
सन् २०१७ अर्थात दुई वर्ष अघिको एनआरएन अमेरिकाको चुनावमा अध्यक्षका लागि गौरीराज जोशी मानसिक रुपमा थोरैमात्र तयार देखिएका थिए । डा. केशव पौडेलपछिको नेतृत्व खोजी गर्ने क्रममा टेक्ससको समुदायमा सबैले उहाँको नाम लिए ।
 
जोशीको अभियानमा ड्यालसको समुदायमा अगुवाका रूपमा परिचित हरिबोल भण्डारीदेखि लिएर डा. मुरली अधिकारीसम्म, बासु भण्डारीदेखि लिएर उत्तम लामिछानेसम्मको सहयोग थियो । जोशी अघि बढ्नुभयो । चुनावको तीन महिना पहिलेनै नेपाली समाज टेक्ससको सभाहलमा कार्यक्रम राखेर जोशीले उम्मेदवारी दिने घोषणा गर्नुभयो ।
 
गौरी जोशीलाई त्यतिखेर उम्मेदवार बन्न दिइएन । पछि उम्मेदवारीनै फिर्ता लिनुपर्यो । यी सबै पुराना सन्दर्भमा पुगियो भने लामो हुनसक्छ । उम्मेदवार हुन नदिन अनेक प्रपञ्च गर्नेहरु भन्दा एक तह माथि अमेरिकाज क्षेत्रको संयोजकमा निर्वाचित हुनुभयो जोशी ।
 
जोशीले आफ्नो योजना क्षेत्रीय संयोजक भएर कति काम भयो के गर्नुभयो, के कसो भयो भन्ने बारेमा अर्को कुनै सन्दर्भमा चर्चा गरौंला । भलै त्यतिखेर हामीले जोशीलाई इण्डोर्स गर्नुको कारण थियो–उनी नेतृत्वमा जाँदा एनआरएन अमेरिकाको हाइट अझ बढ्नेछ । हामीले कुनै पनि व्यक्तिगत लोभ,लालशा र मोहलिजाको अपेक्षा राखेर या लिएर इण्डोर्स गरेका थिएनौ ।
 
जोशीले त्यतिखेर उम्मेदवारी फिर्ता लिँदा धेरैको गुनासो थियो । किनकी उहाँको गाडीमा धेरै जना चढे । तर उहाँले गाडीलाई हाँकेर फ्रि–वे को बीचमा लगेर रोकिदिनुभयो । अनि उहाँसँग सहयात्रा गर्नेहरु अलपत्र परे ।
 
यसपटक पनि उम्मेदवारहरु देख्दा यस्तो लाग्थ्यो कि कस्ले हाँकेको गाडी कुन बेला कुन हाइवेको बीचमा पुगेर रोकिने हो ठेगान छैन । कसैको गाडीको इन्जिन खराब, कसैको गाडीमा प्रयाप्त ग्याँस छैन, कसैको गाडीनै भरपर्दो छैन । कसैको गाडीको चाबी अर्कैको खल्तीमा छ । चाबीवाला गाडीभित्र बसुन्जेल त गाडी स्टार्ट भएर अघि बढ्थ्यो । चाबी खल्तीमा हाल्ने बाहिर निस्कियो भने बाटोमै गाडी रोकिने अवस्था थियो । कस्को गाडीको चाबी कस्को खल्तीमा थियो भन्ने कुरा माथिनै चर्चा भैसकेको छ ।
 
यो परिस्थितीमा हामीले कसैलाई पनि इण्डोर्स गरेनौँ । अध्यक्ष वाहेक फलानो फलानो व्यक्ति फलानो पदमा उम्मेदवार भएका छन् भनेर समाचार समेत लेखेनौ हामीले । एउटा उम्मेदवारको लेख्दा अर्कोले पनि अपेक्षा गर्ने र लेख्दा खेरि सबैको लेख्नुपर्ने वाध्यताबीच हामीले सबैलाई सरी भनेर टार्याै । एनआरएन अमेरिकाका अध्यक्ष र टेक्सस च्याप्टरको अध्यक्षका उम्मेदवारसँग संबन्धित समाचार भन्दा बाहेक अन्य पदमा फलानो फलानो, उहाँको एजेण्डा यस्ता भनेर अपवाद बाहेक लेखेनौँ ।
 
व्यक्तिगत रुपमा मैले एउटै व्यक्तिलाई चुनाव सुरु भएको शनिबार बिहान सामाजीक सञ्जाल मार्फत भोट मागेँ । यहाँ हुनुहुन्थ्यो– अमृत कट्टेल । म जतिखेर ओक्लाहोमा बस्थेँ त्यतिखेरका मेरा अनन्य मित्र, मेरा पारिवारिक सम्बन्धका व्यक्ति भएका कारण भोट माग्नु मेरो कर्तव्य पनि हो । यो भन्दा माथि उठेर भन्नुपर्दा टेक्ससभन्दा पर रहेको ओक्लाहोमा राज्यमा रहेर व्यबसायमा स्थापित, स्थानीय युनिभर्सिटीहरुमा अध्ययन गर्न आएका विद्यार्थीहरुका सुखदुखका साथी पनि हुनुहुन्छ उहाँ ।
 
मैले अमृतका पक्षमा मत मागेँ । हिजो पनि मागेकै हुँ, यस पटक पनि मागेँ । अमृत उम्मेदवार भएसम्म मैले भोट माग्नेछु । भोट मात्र मागिन मैले । धेरैलाई थाहा नभएको तथ्य पनि आज सार्वजनिक गर्छु–म अमृतजीको समर्थकनै हो । प्रस्तावक विजय घिमिरे र म समर्थक बनेर अमृतलाई उम्मेदवार बनाएका हौँ ।
 
सबै उम्मेदवार योग्य र सक्षम थिए । अमृतको प्रतिस्पर्धी भानु खरेजजीसँग मेरो व्यक्तिगत सम्बन्ध सुमधुर छ । अघिल्लो पटक भानुजीलाई भोट दिएको थिएँ । तर यसपटक उहाँलाई यसपटक मैले भोट दिन सकिन । अमृत उम्मेदवार भएको ठाउँमा अरु जो उम्मेदवार भए पनि मैले सिधै ‘सरी‘ भन्छु । हिजो, आज र भोली पनि यही नियम लागु हुन्छ ।
 
यसर्थ अमृतजी भन्दा व्यक्तिगत रुपमा इण्डोर्स गरेभन्दा बाहेक हामीले हिमालयखबरबाट कसै प्रति नत निकटता नत दूरीको सम्बन्ध राख्यौँ । एकाध बाहेक अधिकांश उम्मेदवारहरू योग्य र संस्थालाई दिनसक्ने क्षमता भएका हुनुहुन्थ्यो ।
 
अन्त्यमा, विजयीहरुलाई पुनः वधाई र शूभकामना । उपविजयीहरुलाई नेपाली समुदायमा सकृय रहिरहनका लागि हार्दिक आग्रह गर्दछु । एक माघले जाडो जाँदैन । तपाईहरु निरन्तर लागिरहनुभएमा अर्को पटकमा समुदायले अवश्य मूल्यांकन गर्नेछ ।