मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाहसंस्कारको फोहर नारायणी नदीमा फाल्न रोक

दाहसंस्कारको फोहर नारायणी नदीमा फाल्न रोक


चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा अन्त्येष्टि गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दिन आठ वटा शव अन्त्येष्टिका लागि देवघाट ल्याइने गरिन्छ । 
 
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शव दाह गरेपछि मृतकले प्रयोग गरेका कपडा, औषधि, गुन्द्री, किरियापुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरिएका बाँसलगायत सामग्री नदीमा नफाल्न र निर्धारित स्थानमा सार्वजनिकरुपमा माइकिङ गर्न थालिएको छ । तोकेर ती फोहर राख्न माइकिङमार्फत सूचना गर्न थालिएको छ । 
 
उनले ती स्थानमा फोहर सङ्कलनका लागि भरतपुर महानगरपालिकासँग कन्टेनर माग गरिएको बताए । सङ्कलित फोहरलाई हरेक हप्ता महानगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीले लैजाने गरेको छ । उक्त समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार माइकिङ गरेसँगै फोहर नदीमा फाल्न रोकेर सङ्कलन गर्न थालिएको छ । 
 
शव पोलेपछि खरानी नदीमा बगाउन मोटरमार्फत पानीको फोहोरा प्रयोग गर्नका लागि तयारीसमेत सुरु गरिएको उनले बताए । घिमिरेका अनुसार अहिले अलकत्राका ड्रम काटेर ठाउँठाउँमा फोहर सङ्कलन गर्न थालिएको छ । सो स्थानमा चितवन, नवलपरासी, तनहुँसहित रुपन्देही, कपिलवस्तु, मकवानपुर, धादिङलगायत जिल्लाबाट शव ल्याइने गरिन्छ । 
 
वैशाख महिनामा मात्र १९७ वटा शवको अन्त्येष्टि गरिएको उनले बताए । समितिले अन्त्येष्टिका लागि आवश्यक दाउरा र अन्य सामग्री बिक्रीको प्रबन्ध गरेको छ । समितिको दाहसंस्कार व्यवस्थापन उपसमितिका संयोजक पोषण सुवेदीले नदीमा फोहर बग्दा वातावरणीय प्रभावसँगै नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने भएकाले सबैलाई फोहर सम्बन्धित ठाउँमा व्यवस्थापन गर्न माइकिङबाटै सूचना गरिएको बताए ।