अन्तर्वार्ता

शिक्षा क्षेत्रमा चमत्कारिक योगदान दिनेछु : डा वसन्तप्रसाद अधिकारी

208 पटक पढिएको

केशव भट्टराई | 14th May 2019, Tuesday | २०७६ बैशाख ३१, मंगलवार ०४:३६
डा वसन्तप्रसाद अधिकारी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० बैरियामा स्थायी बसोबास गर्छन् । विसं २०३४ सालदेखि शिक्षण पेसा अंगाल्दै आएका उनले पढ्दै पढाउँदै ४० वर्ष शिक्षण पेसामा बिताएका उनी चितवनको शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । लमजुङको सिरुवारीमा विसं २०१६ चैत्र १० गते जन्मिएका अधिकारी २०४४ सालमा चितवन बसाईँ सरेका हुन् । जीवन संघर्षै संघर्षमा बिताएका उनले सात वर्ष नेपाली सेनामा जागिर पनि खाए । सेनामा रहँदा पनि उनले पढ्ने र पढाउने मौका पाए । उनले कहिले निजी त कहिले सामुदायिक विद्यालयमा पढाए । उनले पञ्चकन्या मावि, नेपाल मावि, हिमालयन ई. बोर्डिङ स्कुल, चितवन बोर्डिङ स्कुल र मोहना माविमा गणित र विज्ञान विषय अध्यापन गरे । 
 
त्यसपछि विसं २०५० सालमा आफैँले न्यू स्पीडी बोर्डिङ स्कुल चलाए । उनको पढाइको भोक अझै बढ्दै गयो । चौध वर्षपश्चात् अर्थात् २०६४ सालमा उनी पिएचडी अध्ययनका लागि लन्डन गए । युनिभर्सिटी अफ इस्ट लन्डनबाट शिक्षक शिक्षण विषयमा पिएचडी गरे । २०७१ सालमा नेपाल फर्केपछि स्कुलमै समय दिए । २०६८ पछि लाइसियम इन्टरनेसनल मोडल स्कुलका प्रिसिन्पल भए । अहिले उनी लाइसियम स्कुलको व्यवस्थापन तथा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ गैँडाकोटको रिसर्च कोअर्डिनेटर भई अन्तर्राष्ट्रिय विभाग हेर्छन् । अध्ययनकै क्रममा युरोप, अमेरिका, मेक्सिकोलगायत २० भन्दा बढी मुलुकको प्रणाली, आर्थिक प्रगति र चमत्कारिक विकास नियालेका उनले १५ देशमा विदेशमा काम गर्न जाँदा नेपाली आमाका १६ वर्षका छोरीहरुको स्वास्थ्य, शिक्षा र मनोविज्ञान विषयमा कार्यपत्र प्रस्तुत गरिसकेका छन् । जति पढे पनि र सिके पनि अध्ययनको भोक नमेटिने शिक्षासेवी डा अधिकारीसँग हिमालयखबरले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ । 
 
१) अमेरिकाको अध्ययन भ्रमण गरेर भर्खरै फर्किनु भएको छ । विभिन्न मुलुकको विकास र समृद्धिको चमत्कार पनि नियाल्नुभएको छ । नेपाली समाजको खास समस्याचाहिँ के देख्नुहुन्छ ? 
 
–मेरो विदेशको यात्रा खोज तथा अनुसन्धानमै केन्द्रित रहँदै आएको छ । हालसालै मेरो अमेरिका भ्रमणमा पनि मेरो अनुसन्धान पेपर नेपाली आमा विदेशमा काम गर्न जाँदा नेपालमा रहने १६ वर्षमुनिका छोरीहरुको स्वास्थ्य, शिक्षा र मानसिक विकासमा कस्तो प्रभाव परेको छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेर भर्खर नेपाल फर्केको हुँ । यसै सिलसिलामा युरोपका १५ भन्दा बढी देशहरुमा रिसर्च पेपरहरु प्रस्तुत गरिसकेको छु । तर, हाम्रो देश नेपालमा विद्वानहरु अनुसन्धानमा भन्दा अर्थमा मात्र फोकस दिने प्रवृत्तिले सिङ्गो देश अनुसन्धानमा निकै पछाडि परेको छ । 
 
नेपाली समाजका मुख्य समस्याहरु भनेको सोच र चिन्तनको दरिद्रता हो । किनभने, जबसम हामी आफ्नो स्वार्थभन्दा माथि उठेर देशको बारेमा सोच्न सक्दैनौँ, तबसम्म जुनसुकै सरकार, प्रधानमन्त्री, प्रदेशमन्त्री आए पनि हामी र हाम्रो देश अगाडि होइन थाहै नपाई पछि पर्दै जान्छ । दोस्रो कुरा, जबसम्म हाम्रो समाजबाट व्यक्तिवादको हावीपनलाई नियन्त्रण गर्न सकिँदैन तबसम्म मानिसहरुमा देश विकासको भावनाभन्दा व्यक्तिगत दरिद्रताले प्राथमिकता पाउँछ । त्यसैले यी दुई कुरा हाम्रा समाजका मुख्य चुनौतीहरु हुन् । एउटा सानो उदाहरण दिन चाहन्छु– यदि यो दशमा १० जना हाम्रा राजनीतिज्ञहरुले सबै स्वार्थ त्यागी देशको लागि केही गर्छु भनेर लाग्नु भयो भने ५ वर्षमा हाम्रो देशमा ‘ग्रीन सिग्नल’ बल्न सुरू हुन्छ ।
 
२) सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को रटान लगाइरहेको छ । सरकारले बोकेको लक्ष्य कसरी प्राप्त गर्न सकिएला ?
 
–यो देशमा सरकारले बोकेको लक्ष्य प्राप्त गर्न सबैभन्दा पहिले तीन प्रकारका योजनाहरु बनाउनु पर्दछ । जस्तै, छोटो समयको योजना, मिड टर्म योजना र लामो समयको योजना । यसमा एउटा सानो उदाहरण दिन चाहन्छु– यदि यो देशमा बनेका कच्ची रोडमा हरेक वर्ष बजेट बाँडफाँड गर्दा प्रत्येक वर्षमा ग्राबेल बिछ्याएर बजेट सक्नुभन्दा प्रत्येक वर्ष ५०० मिटरमात्र भए पनि पिच गर्न सकिएमा २० वर्षमा पूरै सडक पिच हुन्छ । दोस्रो कुरा, जबसम्म हाम्रो देशका सम्पूर्ण राजनीतिज्ञहरु एकैथलोमा साझा दस्तावेज लिएर अगाडि जानुहुन्न तबसम्म सरकारको महŒवपूर्ण मिसनहरु पूरा हुन सक्दैनन् ।
 
३) मुलुकको समृद्धिको बाधक के के कुरालाई देख्नुभएको छ । यस्ता अवरोध कसरी हटाउन सकिन्छ ? 
 
–हाम्रो देशको समृद्धिको बाधकहरुलाई यसरी प्रस्तुत गर्न सकिन्छ : क) संक्रमणकालीन संघीयता ः जुन भर्खरै लागू भएको छ । ख) राजनीतिक समूहहरुबीचको असन्तुलन र खिचातानी । ग) जनतामा संघीयताको पूर्ण ज्ञानको अभाव । घ) गरिबपना र अशिक्षा । ङ) देशका राजनीतिज्ञहरुमा राष्ट्रप्रतिको कमजोर संवेदनशीलता र चिन्तन । च) छिमेकी राष्ट्रहरुको खिचातानी र आफ्नो स्वार्थसिद्धको भावना । 
 
४) स्थायी सरकार भए पनि मुलुकभर हत्या, हिंसा, आतंक, बलात्कार र दुर्घटनाहरु बढिरहनुको कारण के हुनसक्ला ? 
 
–स्थायी सरकार भए पनि मुलुकभर हत्या, हिंसा, आतंक, बलात्कार र दुर्घटनाहरु बढिरहनुको मुख्य कारणहरुमध्ये कम्जोर प्रतिपक्षको कमजोर भूमिका पनि एक हो । भर्खरै मिलेका दुई विपरीत धु्रवका राजनीतिक धारको बीचमा समझदारी र पूर्ण समायोजन हुन नसक्नु । नयाँ नीति र पोलिसीहरुको कायर्यान्वयन नहुनु, जनतामा कानुन र आदेशको पालना गर्ने अभ्यासको कमी र नीतिनियमप्रति अवमूल्यन र दूरगामी सोचको अभाव नै हो । 
 
५) संविधानले प्रत्याभूति गरे पनि नेपाली जनता स्वास्थ्य, शिक्षाबाट वञ्चित भइरहेका छन् । स्वास्थ्य र शिक्षा जनताको पहुँचमा पु¥याउन कस्तो अभियान चलाउनुपर्ला ? 
 
–संविधानले प्रत्याभूति गरे पनि नेपाली जनता स्वास्थ्य, शिक्षाबाट वञ्चित भइरहेका छन् । स्वास्थ्य र शिक्षा जनताको पहुँचमा पु¥याउन हरेक वर्ग, जात, विपन्न समूहलाई लक्षित गरी स्वास्थ्य र शिक्षाको सुक्ष्म अध्ययन गरी नयाँ टप डाउन पोलिसीको आवश्यकता छ । जसभित्र हरेक वर्ग, समूह, जाति र विपन्न समूहको स्वास्थ्य र शिक्षाको परिपूर्ति गर्न सकोस् । 
 
६) स्वास्थ्य बिमाप्रति सेवाग्राहीको आकर्षण बढेको देखिन्छ । स्वास्थ्य बिमा लागू भएपछि उपचार सेवामा सर्वसाधारणको पहुँचमा पुगेको हो ? 
 
–स्वास्थ्य बिमाप्रति सेवाग्राहीको आकर्षण बढेको देखिन्छ तर स्वास्थ्य बिमा लागू भएपछि उपचार सेवामा सर्वसाधारणको पहुँचमा यो सेवा बिल्कुल पुग्न सकेको छैन । हालको स्वास्थ्य बिमा जनताको आँखामा छारो हाल्ने र जनतामाथिको लुट र तुच्छ पोलिसी हो । किनभने, अस्पतालमा बिमाको औषधि प्रेपक्रिप्सनमा मात्र सीमित छ । यो स्वास्थ्य बिमाको नाममा धब्बा हो म दाबीका साथ भन्न सक्छु ।
 
यो पोलिसी हचुवामा लागू गरिएको हो किनभने बिनाअनुसन्धान लागु गरिएको नीति अन्ततः असफल हुन्छ । यो पोलिसीले जनताहरुमा अस्पतालहरुप्रति जनताहरुको नकारात्मक भावनाको विकास विस्तारै बन्दैछ । सबैभन्दा लज्जास्पद कुरा के भने हस्पिटलमा बिमाको औषधि लिन जाँदा बिमाको औषधि छैन किनेर लानुस भनिन्छ । यो लुट नभए को हो त ? जनता सबै नबुझ्ने छैनन् । सरकारले यो पोलिसीको राम्रो अध्ययन गरेनन् भने भविश्यमा सरकारले ठूलो चुनौती भोग्नु पर्दछ ।
 
७) नेपालमा धेरै किसिमका र चरणका आन्दोलन भए । तर, सामाजिक न्याय र जनताको अपेक्षा पूरा हुन नसक्नुमा दोषी को देख्नुहुन्छ ? के फेरि सामाजिक आन्दोलन आवश्यक छ ? 
 
–नेपालमा धेरै किसिमका र चरणका आन्दोलन भए । तर, सामाजिक न्याय र जनताको अपेक्षा पूरा हुन नसक्नुमा मुख्य दोषी यो देशको बागडोर हातमा लिइसकेका र हाल बागडोर हातमा लिएका सत्ताधारीहरुले जिम्मेवारी लिनु पर्दछ । यो देशमा फेरि सामाजिक आन्दोलन आवश्यक छ किनभने यो देशमा पहिले भएका परिवर्तनहरु उपल्लो वर्गको लागि मात्र भएका छन् । त्यसैले अबको सामाजिक क्रान्तिले उपल्लो वर्गको पहुँचमा मात्र रहेको अधिकार तल्लो वर्ग (जसको हाल कुनै पहँुच छैन) सम्म पु¥याउनुपर्छ । अब यो देशमा फेरि क्रान्ति हुँदा हाल तल्लो वर्गका जनतामाथि शासन गर्नेहरु नयाँ टप डाउन सामाजिक क्रान्तिले बगाउने छ र नयाँ मैदानको अविस्कार नहोला भन्न सकिन्न ।
 
८) तपाईं सामाजिक र शैक्षिक क्षेत्रमा लोकप्रिय व्यक्तित्व हुनुहुन्छ । सभ्य समाज निर्माण गर्ने सूत्रहरु केके देख्नुभएको छ ? 
 
–मेरो विचारमा सभ्य समाज निर्माण गर्ने सूत्रहरु यस प्रकार छन् : क) हरेक नेपालीहरुमा स्वास्थ्य, शिक्षा र रोजगारीको पहुँच हुनुपर्दछ । ख) स्वास्थ्य, शिक्षा र रोजगारीका हकमा टप डाउन रिसर्च होला कभरेज पोलिसी सुक्ष्म अध्ययनपश्चात् लागू गर्नु पर्दछ । ग) देशमा भ्रष्टाचार शून्य नीति लागू गर्नुपर्छ । घ) राजनीतिज्ञहरुमा राजनीतिक मूल्य हुनुपर्छ । ङ) हाम्रो समाजमा हरेक वर्ग, जाति, अल्पसंख्यक समूहलाई समानताको अवसर प्रदान गर्नुपर्छ । च) हाल हावी भएका धनीहरुको सहर प्रेमको सहरमुखी भावनामा परिवर्तन गरी गाउँमुखी प्रेमको भावना विकास हुनु पर्दछ । छ) हाम्रा रीतिरिवाज, संस्कृति र नेपालीपनको जर्गेना गर्नुपर्दछ । ज) हाम्रो शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनु पर्दछ । झ) ठूलालाई चैन र सानालाई ऐन हालको चलन परिवर्तन गरी कानुन सबैका लागि र समान अवसरका लागि भन्ने नीति व्यावहारिकरुपमै लागू हुनुपर्दछ । 
 
९) प्रसङ्ग बदलौँ, तपाईं संस्थागत विद्यालयका प्रिन्सिपल पनि हुनुहुन्छ । संस्थागत विद्यालयले लुटिरहेका छन् भन्ने आरोपप्रति तपाईं के भन्नुहुन्छ ? 
 
–म जुनसुकै संस्थामा काम गरे पनि सत्यवादी हुँ सत्य कुरामात्र भन्दछु । म तपाईंको भनाइप्रति पूर्णरुपमा सहमत छैन । तपाईंको प्रश्नको दाबी काठमाडौँका केही निजी स्कुलमा केही हदसम्म मेल खान सक्छ । तर, चितवनको हकमा निजी विद्यालयहरुको स्थिति अलि दर्दनाक छ । शुल्कको अनुपात कम छ तर तलब उच्च छ, जसका कारण स्कुलहरुको आर्थिक अवस्था नराम्रो छ । मेरो विचारमा लुटिरहेका छन् भन्ने आरोपभन्दा पनि कम पैसामा गुणस्तरीय शिक्षा दिइरहेका छन् भन्नु उपयुक्त हुनसक्छ । 
 
फेरि म यो कुराप्रति पनि सहमत छु कि यदि उच्च शुल्क लिएर कमजोर शिक्षा दिएको पाइएमा नियमअनुसार कारबाही गर्नु पर्दछ । अर्को मह¤वपूर्ण कुरा के हो भने सबै संस्थागत स्कुलहरु नेपाल सरकारको पूर्ण नियन्त्रणभित्र रहनु पर्दछ भन्ने मेरो विचार हो । सरकारले पनि दुवै सरकारी र संस्थागत विद्यालयलाई एउटै लेन्सले हेर्नुपर्छ । अन्तमा, म के भन्दछु भने अब यी दुवैथरिका सरकारी र संस्थागत विद्यालयहरुले हाम्रो समाजका हरेक वर्ग, तप्काको आवश्यकता पूरा गर्न नसकेको अवस्थामा नयाँ बहसको सुरूवात अति आवश्यक भइसकेको छ । त्यसैले अब केही नयाँ मोडेल स्कुल रिसर्च बेसमा सुरूवात गर्नुपर्ने टड्कारो आवश्यकता भइसकेको छ । 
 
१०) सामुदायिक विद्यालयको शैक्षिक सुधार हुन नसक्नुमा निजी स्कुल नै दोषी हुन् त ?
 
–म यो तर्कप्रति बिल्कुल सहमत छैन किनभने सामुदायिक विद्यालयको शैक्षिक सुधार हुन नसक्नुमा शिक्षा नीति र शिक्षामा राजनीतिक आशीर्वाद मुख्य कारण हुन् । हाम्रो गलत राजनीतिक संस्कार, जसभित्र सरकारी स्कुलहरु सिकार बनेका छन् । जुनसुकै  सरकारको पालामा पनि यो गलत राजनीतिक संस्कार हावी हुँदा सरकारी स्कुलहरुको अवस्था खस्किएको हुनु पर्दछ ।   
 
११) विद्यालयमा शिक्षण सिकाइ र शैक्षिक गुणस्तर वृद्धि गर्न के गर्नुपर्ला ?
 
–सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सबैभन्दा पहिले हाम्रो सोचमा परिवर्तन गर्नु पर्दछ । किनभने, सरकारी स्कुलहरुमा गरिबका छोराछोरीमात्र पढ्ने स्कुल हो भन्ने नराम्रो धारणा हटाउनु पर्दछ । अर्को कुरा, सामुदायिक स्कुलहरुमा समाजको पहुँच बढाउनुपर्छ । 
 
१२) चार दसक अध्यापन गर्नुभयो । थकाइ लागेको छैन ? 
 
–म २०३४ सालदेखि विद्यार्थी–शिक्षक भएर आजसम्म आफ्नो अध्ययनलाई नियमितता दिँदै आएको छु । मैले सरकारी, संस्थापक स्कुलहरु र नेपाली सेनामा पनि सेवा गरी आजसम्म मेरो समाज र राष्ट्रको लागि आफूले जानेका सीप र ज्ञान शेयर गरिरहेको छु । मैले चार दसकको शिक्षण यात्राका क्रममा थुप्रै संस्थामा रहेर काम गरिसकेको छु । यस अवधिमा खोज तथा अनुसन्धान एवम् अध्ययनमा कहिल्यै खडेरी लागेन ।
 
म मेरो ४० वर्षको मह¤वपूर्ण समयमा खोज तथा अनुसन्धान र अध्ययनमा यति रमाएँ कि भनेर साध्यै छैन । मलाई अझै थकाइ लागेको छैन । अझै पाँच वर्ष शिक्षा क्षेत्रमा चमत्कारिक योगदान दिने लक्ष्य लिएको छु ।