मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

वसन्त ऋतुको याममा सगरमाथा आरोहण सुरु

वसन्त ऋतुको याममा सगरमाथा आरोहण सुरु


काठमाडौँ । वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न १ः४५ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । 
गतवर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण सुरु भएको थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आजदेखि आरोहण सुरु भएको जानकारी दिए । 
 
सङ्खुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम (रोप फिक्सिङ) गरेको थियो । उक्त समूहमा सोलुखुम्बुका पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा तथा सङ्खुवासभाका क्रमशः मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा छन् । 
 
उनीहरु ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सिपिडिसन प्रालि र मेडिसन माउण्टेनरिङ एभरेष्ट एक्सिपिडिसन–२०१९’ बाट गएको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
 
सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एशोसिएशनले गर्दै आएको छ ।
 
सगरमाथाको शिविर दुईसम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) पाएको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।
 
विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यस याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् ।
 
यस याममा हिमाल आरोहणबाट करिब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४३ करोड ८९ लाख २७ हजार सगरमाथाबाट मात्र छ । रासस